Comments Add Comment

व्यङ्ग्य : भात र रोटीको महात्म्य

म दुबै छाक भात खान्छु । श्रीमतीसँग खटपट परेको एक दिन घरै छोडने, मुखै फेर्ने मोड चल्यो । एक जना कलेजमा सँगै पढ्ने साथीको घरमा पाहुना लागेँ ।

उनी र मैले निकै समय एउटै डेरामा बसेर एउटै भान्सामा खाएका थियौँ । अहिले उनी भर्खर भातको सट्टा रोटी खान थालेका रहेछन् । उनले रोटी खाए । मलाई भात दिए । भात त दिए, तर त्यसको सापोनापो हुने गरी भात खान नहुने कुरा पढाए ।

उनी भन्दै थिए, हेर्नुहोस् शरीर स्वस्थ रहनुपर्छ । यस कुरामा चाइने म एकदम सचेत छु । हाम्रो स्वास्थ्य राम्रो हुन बाधा पुर्‍याउने विविध पक्षमध्ये भात हो । रोगको मूल कारण भात हो । स्वास्थ्य बिगार्ने सूत्र नै भात क्या भात ।

म मौन सुनिरहेँ उनी भन्दै थिए,ः भातले बढ्छ पेट । भातले बढ्छ प्रेसर । भातले बढ्छ भुँडी । भातले बढ्छ बोसो । भातले बढ्छ सुगर । भातले बढ्छ प्रेसर । अरु पनि केके भने । मेरो मथिङ्गलले सबै कुरा धानेन । उनका दृष्टिमा सबैथोक बढाउने भात हो । भात भन्ने कुरा खानै हुँदैन । हेर्नै हुँदैन । छुनै हुँदैन । मानूँ उनका अनुसार पाकेको भातको वासना सुघ्नु पनि अपराध हो ।

म सुनिरहेँ । पहाडमा भात खान नपाएर तराई झरेको म । बल्लबल्ल जाउलो खान सक्ने भएको म । पेटमा कोदो र मकै बिझाएर बल्ल मुक्ति पाएको म । उनका कुरा मान्ने पक्षमा थिइनँ । उनी पनि उही ड्याङका मुला । पहिला कम भात प्रेमी थिएनन् । डेरामा मेरोभन्दा डब्बल घिउभात बुत्याउने मित्रको कुरा आज विपरीत लागिरहेको थियो ।

उनी स्कुलमा पढाउँदा रहेछन् । त्यस दिन मलाई राम्रैसँग पढाए ।

उनी रोटी टोक्तै भन्दै थिए, पेट बढ्छ भनेर बेलुका खाना (भात) खान्न । खाली पेट सुत्नु पनि स्वास्थका लागि राम्रो हैन । उनले अर्को रोटी गुटमुट्याउँदै भने त्यसैले जम्मा सातवटा रोटी खान्छु यी हेर्नुहोस् । जे भए पनि भात खाए जस्तो अरु थोक खाएर हुन्न । भात नखाँदा छिन्छु कि भनेर हरेक साँझ पाँच वटा केरा खान्छु ।

उनले केरा ताछ्दै ढेडुले भेटेको बनकेरा बुत्याउने शैलीमा बुत्याए । फेरि भने- भात खाएर बढेको ज्यान फलफूलले नपेले छिन्ला भन्ने चिन्ता पनि लागिरेको छ, उनले अर्को केरा ताछ्दै भने ।

भात र रोटीको पक्ष विपक्षको तर्क गर्दागर्दै पाँच केरा निले । आधा दर्जनै केरा निलेको म वाल्ल परेर हेरिरहेँ । केरा के निलिसकेका थिए, अब उनी छेवैको ढाकीतिर लम्किए । ढाकीबाट झिकेर काट्ता पनि नकाटी स्याउ चपाउन थाले । हेर्दाहेर्दै तीनवटा स्याउ चपाए ।

तेस्रो स्याउ चपाउने बेलामा भन्न भ्याए, म भात खान त छोडेँ तर यी कुराले कभर गरेका छन् भन्ने ठान्छु । स्याउको अन्तिम खण्ड चपाउँदै यो पनि भन्न भ्याए, भात त खान छोडेँ । तर, खर्च बढेको छ । अन्तिम खण्ड मुखमा हाल्दै भने यस्तै फलफूल कट्याक कुटुकमा खर्च हुन्छ ।

उनले यसो भन्दै गर्दा म भात सिध्याएर चुठ्न निस्किएँ ।

चुठ्ताचुठ्टै दाँत कोट्याउने सिन्को चाहियो । सिन्को होला कि भनेर भान्सातिर गएँ । त्यसबेला उनी आफ्नी श्रीमतीलाई भन्दै थिए, भात खाएको छैन, शरीर सुक्छ कि बुढी ? ती तीनवटा अन्डा उसिनीदेऊ । एक गिलास दूध त बाँकी छ नि ।

मैले मित्र दम्पत्तिको कुरा सुनेर एक दिनलाई दाँत नकोट्याउने निष्कर्ष निकालेँ । भान्सामा नपसी चुठेर गिजालाई औंलाले नै माडमुड पारेर बाहिर निस्किएँ ।

खानापछि म बैठक कोठमा गएर बसेँ । उनी फेरि भातकै कुरा गर्न थाले । आफू भातैले अघाएको मान्छे । नसुनूँ भने उनैको भात बुत्याएको ।

उनी भन्न थालिहाले ः भात छोड्न साह्रै गाह्रो । कहिलेकाहीँ भात नखाई सुत्दा राति गाह्रोसाह्रो पर्छ कि जस्तो लाग्छ । त्यस्तो केही पर्छ कि भनेर होसियार गर्ने गरेको छु । केही न केही च्यापेर होसियारी अपनाउने गरेको छु ।

कस्तो होसियारी ? मैले सोधेँ ।

उनले एउटा पलास्टिको पोको फुकाउँदै मुखमा काजु बुक्याउँदै भने, म सुत्नेबेला छेउमा अलिकति काजु, बदाम र दुई चार पुरिया बिस्कुट पनि राखेर सुत्छु ।

काजुको कुराले आफ्नो पनि मुख रसाएको थियो । उनैले रसाएको मेरो मुख थुनिहाले, यहाँले त भात खानुभयो, अब काजु पनि रुच्तैन होला ।

मैले अँ होको शैलीमा टाउको हल्लाएँ । उनले फेरि एक मुठी बदाम मुक्याए । मेरो मुख फेरि नरसाएको होइन । बाठा पनि कत्ति ! फेरि उनैले भनिहाले, तपाईँ भात खाएको मान्छेले बदाम पनि खानुभएन ।

मैले होको शैलीमा हात र टाउको दुवै हल्लाएँ ।

पुराना साथी हामी । तँतँ मम गर्ने जिग्री । निकै अबेरसम्म बसेर गफियौँ ।

उनले हामी छुटेदेखिका अनेक कथा सुनाए । उनी पनि पाहुनाकोठामै सुत्न आए । पाहुना कोठामा दुईवटा खाट रहेछन् । पल्लो खाटमा ढल्किएर आफ्नो स्वास्थ्य र खानकीबारे कुरा निकाले । म वल्लो खाटको ओछ्यानमै ढल्किएर सुनिरहेँ । मसँग सुन्नुको विकल्प पनि थिएन । मात्र भनिरहेँ अँ अँ । ए ए । हो हो । अँ त अँ त । ए होर ? ज्या है । गज्जब ।

उनी बोल्दाबोल्दै थाकेपछि दुवैलाई निद्रा लाग्यो ।

उनले निदाउने बेलामा मलाई अलि महत्वका साथ भने, यहाँ छेउमा केही कुकिज, काजु बदाम र ओखर राखेको छु । साँझ भात खाएको छैन, मलाई राति खरो त नहोला नि है ? केही कथम साह्रो गाह्रो भयो भने मेरो मुखमा हालिदिनुहोला है ।

यति भनेर घटघट एक जग पानी टोड्क्याएपछि उनले फेरि भने- खान्की गतिलो भएन, कमजोर भएर म राति नै ढल्छु कि ? पिसाब फेर्न जाँदा यसो बोलाउँदै गर्नु है ! यी, यतापट्टी अलिकति गुल्कोजको धुलो पनि राखेको छु ।

मैले मनमनमा निधो गरेँ । यी दुनियाँ टन्टाभन्दा म त भातै खान्छु । जे पर्छ खाएरै मर्छु ।

यस्तै के-के भातको महत्व सोच्दासोच्दै निदाएँछु । मित्रलाई राति के-के साह्रो गाह्रो पर्‍यो, पत्तो पाइनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment