Comments Add Comment

छापामा आज : डेंगु नियन्त्रण विफल, धरानमा मात्रै ५ हजार संक्रमित

८ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले डेंगु संक्रमणबारे मुख्य समाचार बनाएका छन् भने केहीले मन्त्रीहरूको काम–कारबाही, हदबन्दी छुट दुरुपयोग, प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था लगायत विषय उठाएका छन् ।

कान्तिपुरले डेंगु नियन्त्रण विफल भएको निष्कर्ष निकालेको छ । मुलुकमा तीन महिनादेखि महामारीका रूपमा डेंगु फैलिए पनि नियन्त्रण प्रयास विफल प्रायः भएको कान्तिपुरको ठम्याइ छ ।

कान्तिपुरका अनुसार, साउनयता ३६ जिल्लाका १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् । वैशाखदेखि असारसम्म ४२ जिल्लाका ३ हजार ४ सय ४५ जनामा डेंगु संक्रमण पाइएको छ । धरानका मात्रै ५ हजार डेंगुबाट संक्रमित छन् । एउटै परिवारका ७ जनामा यसको संक्रमण देखिएको छ । डेंगु भयावह हुँदै जाँदा चिकित्सक समेत यसबाट संक्रमित हुन थालेका छन् ।

यद्यपि, संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन भएको कान्तिपुर समाचारमा उल्लेख छ । समाचार अनुसार सर्च एन्ड डिस्ट्रोय अभियान पनि निकै सुस्त देखिएको छ । नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो रोग नियन्त्रण हुनेमा कान्तिपुरले शंका व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छिमेकी भारतसँग तत्काल कुराकानी गरेर सीमास्तम्भ पुनःस्थापित गर्न र मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन दिएको अर्को खबर पनि कान्तिपुरमा छ ।

भारतले सीमामा बनाउन लागेको सडक एवं तटबन्धका कारण नदीहरूको प्राकृतिक बहाव रोकिने र बाढीको खतरा झनै बढ्ने विवरण पेस गर्दै सांसद्हरुले तत्काल वार्ता थाल्न आग्रह गरेपछि समितिले ५ बुँदे निर्देशन दिएको हो ।

पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएको समाचार पनि कान्तिपुरमा पढ्न सकिन्छ । ०४४ सालमा जागिरबाट बर्खास्त भएका खुलबहादुर कुँवरलाई गत फागुनमा सर्वोच्च अदालतले निर्दोष ठहर गरेको हो ।

कान्तिपुरका अनुसार सर्वोच्चले गत साता तयार पारेको फैसलाको पूर्णपाठमा कुँवरलाई बर्खास्त हुँदादेखि अवकास हुँदासम्मको तलब र त्यसपछिको पेन्सनसमेत दिन सरकारका नाममा दुई महिनाको समयसीमा तोकेको छ । उनीमाथि अन्याय भएको ठहरसहित सर्वोच्चले फौजदारी न्यायप्रणालीमा स्वच्छ सुनुवाइको पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्नपूर्णले हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोगबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार चिया बगान, हाउजिङ, हाइड्रोपावर कम्पनीलगायतले हदबन्दी छुटको नाममा ठूलो परिमाणमा जग्गा ओगट्दै आएका छन् ।

अन्नपूर्णले लेखेको छ– हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिएको हो । ती जग्गाको हदै दुरुपयोग भए पनि मन्त्रालय बेखबर छ ।

अन्तरीक्षबाटै बैंकिङ अपराध भएको रोचक खबर पनि अन्नपूर्णमा छ । समाचार अनुसार अमेरिकी अन्तरीक्षयात्री एन म्याकक्लेनले अन्तरीक्षबाटै उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन् । यस्तो समस्या सतहमा आएपछि अमेरिकी अन्तरीक्ष संस्था (नासा) ले अनुसन्धान गरेको समाचारमा उल्लेख छ ।

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको नयाँ–नयाँ तथ्यहरू प्रकाशमा आइरहेका छन् । यही क्रममा नागरिकले आज गर्लफ्रेन्डसँग भेट्न उनले छुट्टै कोठा लिएको समाचार छापेको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका ११, महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा लिएको भेटिएको हो ।

नागरिकका अनुसार, प्रहरीले उक्त कोठा खानतलासी गर्दा पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायतका सामग्री फेला परेको नागरिक समाचारमा उल्लेख छ । उक्त फोटो पुडासैनीसँग जोडिएकी अस्मिता कार्कीको हो या अरु कसैको भन्नेबारे भने केही खुलेको छैन ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले मन्त्रीहरूको काम–कारबाहीबारे कभर स्टोरी छापेको छ । अधिकांश मन्त्री कुनै नै कुनै विवादमा फसेको प्रसंग उल्लेख गर्दै नेपालले लेखेको छ– अधिकांश मन्त्रीका हल्ला बढी भए पनि काम कम छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment