
८ भदौ, चितवन । जिल्लामा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२, गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका किट नियन्त्रक राम केसीले उपचारका क्रममा ती वृद्धको मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई प्राप्त भएको जानकारी दिए ।
वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको नाम गोप्य राखिएको छ । सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए ।
यसअघि डोटीकी डेंगु संक्रमित एक महिलाको पनि उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्लामा केही दिनयता डेंगुको संक्रमण बढ्दो छ । उनका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेंगुको संक्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेको उनले जानकारी दिए ।
डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरी जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4