Comments Add Comment

कृषि उत्पादन निर्यात गर्दा कलकत्तामा गुणस्तर परीक्षण गराउनुपर्ने झन्झट हट्यो

९ भदौ, काठमाडौं । नेपालबाट भारत निकासी हुने कृषिजन्य वस्तुकोे गुणस्तर परिक्षण गर्न भारत लैजानुपर्ने झन्झट सरकारले अन्त्य गरेको छ । नेपाल र भारतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच भएको प्रारम्भिक समझदारीले यस्तो झन्झट हटाएको हो ।

समझदारी अनुसार अब अदुवा, अलैचीलगायत २१ प्रकारका कृषि उपजहरु भारत निर्यात गर्दा गुणस्तर परिक्षणका लागि कोलकोत्ता जानुपर्ने छैन । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएको उक्त सम्झौताले भारत निकासी गर्ने कृषिजन्य वस्तुलाई फाइदा हुनेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य प्रबिधि अधिकृत मोहनकृष्ण मर्हजनले सम्झौता पूर्ण कार्यान्वयनमा आएपछि नेपाली निर्यातकर्ताले आफ्नो उत्पादन काठमाडौंसहित विराटनगर, वीरगन्ज र भैरहवामै परिक्षण गरेर भारत निर्यात गर्न सक्ने बताए ।

सम्झौताअनुसार नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणित गर्ने गुणस्तर प्रमाणपत्रलाई भारतले स्वीकार गर्नेछ भने भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणको प्रमाणपत्रलाई पनि नेपालले मान्यता दिनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकाअनुसार शंका लागेका वस्तुहरुको परिक्षणका लागि भने दुवै देशलाई पुनः जाँचको सुविधा रहने सम्झौतामा छ ।

वाणिज्य मन्त्रालयका अनुसार नेपालले निर्यातजन्य सूचीमा रहेका २६ प्रकारका खाद्य वस्तु, तरकारी, फलफूलमा यस्तो समझदारी गर्न भारतसंग प्रस्ताव गरेको थियो । तर भारतीय पक्ष हालका लागि २१ प्रकारका नेपाली उत्पादनमा यस्तो सुबिधाका लागि सहमत भएको छ । यसमा चिया, कफी, जुस, जाम, फलफूल, बेसार, तरकारी, प्रशोधित मह, अलैंची, अदुवा, जडीबुटी, दूध, पाउडर दूध, प्रशोधित मासु, अचार र आईसक्रिम लगायत छन् ।

अन्तर्राष्ट्रिय मापदण्डका आधारमा दुवै देशका प्रयोगशालाको परीक्षणलाई मान्यता दिने सहमतिमा उल्लेख छ । दुवै देशका प्रयोगशालाको परीक्षणलाई मान्यता दिने सहमतिले आयात, निर्यात व्यापारमा सहज हुने वाणिज्य मन्त्रालयको अपेक्षा छ ।

दुई देश बीचको समझदारी अभावमा यसअघि नेपालका बिभिन्न नाका भएर निर्यात हुने कृषिजन्य वस्तुहरु अदुवा, अलैंची लगायतलाई भारतीय पक्षले पटक–पटक अवरोध गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment