+
+
Shares

कर्मचारीलाई नगदमा दिइने तलवलाई अब मान्यता दिँदैनौं : श्रममन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते ०:००
Photo Credit : रासस

८ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कर्मचारीको पारिश्रमिक बैकिङ प्रणालीबाटै भुक्तानीको वातावरण बनाउन सबै उद्योग प्रतिष्ठानलाई आग्रह गरेका छन् । नगद भुक्तानीबाट मजदुरको पारिश्रमिक दिइए त्यसले कानूनी मान्यता नपाउने उनको भनाइ छ ।

होटल संघ नेपाल (हान) द्वारा आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा बोल्दै मन्त्री बिष्टले भने ‘श्रमिकलाई तलब बैंकिङ प्रणालीबाट गर्नुभएन भने श्रमिकले पारिश्रमिक पाएनन् भन्ने निष्कर्षमा पुग्नेछौं, त्यही अनुसार कारवाही शुरु हुन्छ ।’

कार्यक्रममा होटल व्यवसायीहरुले साना व्यवसायीको हकमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य नभई स्वेच्छिक गर्न मन्त्री विष्ट तथा मन्त्रालयको टोलीसँग आग्रह गरेका थिए । २० जनाभन्दा कम कामदार भएका होटलका लागि सामाजिक सुरक्षा अनिवार्य नभई स्वेच्छिक हुनुपर्ने माग आएको होटल संघ नेपाल (हान) की अध्यक्ष सृजना राणाले बताइन् । जवाफमा मन्त्री विष्टले कानून सबैका लागि अनिवार्य भएको भन्दै पछाडी फर्कने अवस्था नरहेको उल्लेख गरे ।

संसारका धेरै देशमा १ सय वर्ष अगाडी नै शुरु भएको योजना नेपालमा भर्खरै शुरु भएको भन्दै यो कार्यक्रम नेपालका लागि मात्र नौलो भएको विष्टले बताए ।

‘तपाईहरु अलि बढी नयाँ जुत्ता लगाउने वर्ग भित्रै पर्नुहुन्छ,’ होटल व्यवसायीहरुसँग मन्त्री विष्टले ठट्टा गर्दै भने, ‘म त एउटै जुत्ताले ५ वर्ष पनि कटाउँछु, जसरी नयाँ जुत्ता लगाउँदा एक–दुई दिन मुस्किल हुन्छ, सामाजिक सुरक्षा पनि त्यस्तै हो, बिस्तारै ठिक हुन्छ ।’

मजदुरको मुहारमा खुसी ल्याएर व्यवसाय गर्दा व्यवसायसमेत फस्टाउने उल्लेख गर्दै मन्त्री विष्टले श्रम ऐन कार्यान्वयनमा आएपछि श्रम सम्बन्धमा निकै सुधार आएको दावी गरे । उद्योग प्रतिष्ठान तथा होटलमा मजदुरको बन्द हड्ताल गर्ने प्रवृत्ति घटेको भन्दै उनले सामाजिक सुरक्षा लागु गर्दा उद्योग प्रतिष्ठानलाई साविकको तुलनामा केवल १.६७ प्रतिशत व्ययभार बढेको उल्लेख गरे ।

‘यदि तपाईले श्रम ऐन मानेर हिजो कर्मचारीको संचयकोष, उपदानजस्ता विषय कार्यान्वयन गर्नुभएको छ भने आजको दायित्व केवल एक मजदुरको भागमा २÷४ सय थपिएको होला,’ उनले भने, ‘तर, तपाई मजदुरमाथिको असिमित उत्तरदायित्वबाट उम्कनु पनि त भएको छ ।’

कार्यक्रममा व्यवसायीहरुले सामाजिक सुरक्षामा रहेका अष्पष्टता हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए । कतिपय साना होटलले ठूला होटलले अत्यन्तै सस्तो मूल्यमा कोठा बेचेर अस्वस्थ प्रतिस्पर्धा गरेको भन्दै त्यसले साना होटल संचालनमा चूनौति थपिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?