Comments Add Comment

विप्लवले नबुझेको, वैद्यले बुझेको राजनीतिक चुरो

'एमाले धुर्मुस पार्टी बन्यो, प्रचण्डले पनि त्यही बाटो समाए'

जहाँ चेतना साँघुरो छ, राजनीतिकरुपमा सचेत मान्छेहरू कम छन्, त्यस्तो ठाउँमा ‘मास मुभमेन्ट’ कठिन हुन्छ । शान्तिपूर्ण आन्दोलनले गति लिन सक्दैन ।

क्रान्तिका विभिन्न रुपमध्ये सशस्त्र क्रान्ति सबैभन्दा उच्च रुप हो । तर, त्योभन्दा अगाडि सामाजिक सुधार, राजनीतिक आन्दोलन, अनसन, आमसभाजस्ता शान्तिपूर्ण आन्दोलनका विभिन्न स्वरुप हुन्छन् । सबै उपाय लगाउँदा पनि नभएपछि मात्रै आन्दोलनको सशस्त्र विकल्प रोजिन्छ ।

समाज परिवर्तनका लागि सत्तासँग भएको बन्दुकसँग लड्न अन्य विकल्प बाँकी छैन भन्ने भइसकेेपछि मात्र त्यस्तो बाटोमा जानुपर्ने हुन सक्छ । तर, हिंसात्मक आन्दोलन कहिले गर्ने र शान्तिपूर्ण आन्दोलन कहिले गर्ने भन्नेमा प्रायः द्विविधा भइरहन्छ ।

नेपालमा नेपाली कांग्रेसजस्तो पुँजीवादी पार्टीले पनि बन्दुक बोकेको इतिहास छ । भारतमा बसेर आन्दोलन गरिरहेका कांग्रेसका नेताहरूले राणा शासन ढाल्न सशस्त्र गतिविधि आन्दोलन आवश्यक छ भन्ने लागेपछि त्यो बाटो रोजेका थिए ।

यहाँहरुलाई थाहा छ, म आफंै सशस्त्र क्रान्तिमा लागेको मान्छे । यसो हेर्दा सशस्त्र आन्दोलन निकै जोखिमपूर्ण देखिन्छ । अर्को तरिकाबाट हेर्दा भने यो सजिलो आन्दोलन पनि हो । किनभने, यसमा धेरै मान्छे परिचालन गर्नुपर्दैन । मर्ने-मार्ने जोखिम हुन्छ, तर जनआन्दोलनमा जस्तो मास परिचालन गर्नुपर्दैन ।

बहुदल आउनुअघि हाम्रो पार्टीमा एक हजार सदस्य थिए । त्यसमा पनि पूर्णकालीन त पाँच/छ सय जति मात्र । बहुदल आएलगत्तै हजार जनाको पार्टी सदस्यता पचास हजार पुर्‍यायौं । मनमोहन अधिकारीसँग एकता हुँदा हाम्रो पार्टी सदस्यता ७० हजार पुगेको थियो ।

विसं. ०१७ सालमा पञ्चायत शुरु भएपछि दल खोल्नुलाई नै अपराध मानिन्थ्यो । सामाजिक संस्थासमेत खोल्न प्रतिबन्ध थियो । टंकप्रसाद आचार्यजस्तो राजा आफैंले पत्याएर प्रधानमन्त्री बनाएको व्यक्तिलाई समेत समाज सुधार संघ खोल्न दिइएन ।

झापा आन्दोलनको तरिका

संस्था खोलेर चेतना विस्तार गर्ने गुञ्जायस नभएको अवस्थामा हामीले ०२५ सालपछि कडा आन्दोलन शुरु गर्‍यौं । जग्गाधनीले मोहीलाई निकाल्न थालेपछि हामीले यसको विरोध गर्‍यौं । जग्गाधनीसँग कुरा नमिलेपछि असार/साउनको झरीमा पनि किसानहरु निकालिने अवस्था आयो । हामी किसानको पक्षमा लाग्यौं । गाउँले भेला पारेर किसानको पक्षमा बोल्थ्यौं ।

एउटा किसानको पक्षमा बोल्दा ५०/६० किसानले दुःख पाउँथे । प्रहरीले पक्राउ गर्ने, मुद्दा लगाउने गर्थे । धेरैजनाका लागि वकिल राख्ने, धरौटी जम्मा गर्न हामीलाई मुस्किल पर्न थाल्यो । त्यतिबेला भारतमा नक्सलवादी मुभमेन्ट शुरु भइसकेको थियो । उनीहरू पनि शान्तिपूर्ण आन्दोलनबाटै हिंसात्मक आन्दोलनमा पुगेका थिए ।

हामीले पनि जिम्दारहरूमाथि हमला गर्ने नीति बनाऔं । तर, सेना बनाएर, हतियार जम्मा पारेर आन्दोलन शुरु गरेका थिएनौं । ०५२ सालमा माओवादीले सशस्त्र गतिविधि गर्ने गरी नै आन्दोलन शुरु गरेका थिए । तर, हामीले झापामा गरेको वास्तवमा किसान विद्रोह थियो ।

हामीले किसानहरूका बीचमा सात जनाको ‘स्क्वाड’ बनायौं । त्यसमा एकजना कमाण्डर, एकजना राजनीतिक कमिसार र पाँचजना लडाकु हुन्थे । पार्टीमा त्यतिबेला ‘वान एरिया, वान स्क्वाड, वान एक्सन’ भन्ने थियो ।

झण्डै एउटा गाउँ विकास समिति जत्रो क्षेत्रमा एउटा ‘स्क्वाड’ हुन्थ्यो । र, उसलाई जुलुस, प्रचार प्रसार, शत्रुमाथि हमला वा अरु जेसुकै काम भए पनि एउटै कार्य गर्नु भनिन्थ्यो । हाम्रा ३०/३५ वटा ‘स्क्वाड’ बनेका  थिए । निश्त्रिmय सदस्य फेरबदल गर्ने, स्क्वाड सक्रिय छ कि छैन भनेर हेर्ने काम पार्टी केन्द्रले गथ्र्यो । तर, आफ्नो क्षेत्रमा कस्तो एक्सन लिने भन्ने निर्णय स्क्वाड आफैंले गथ्र्यो ।

त्योबेेला र अहिलेको अवस्थामा आकाश-जमिनको अन्तर छ । गणतन्त्र आएपछि शान्तिपूर्ण रुपमा जस्तोसुकै गतिविधि गर्न पाइन्छ । जति पनि बोल्न, आग्रह राख्न वा जुलुस निकाल्न पाइन्छ । बम नपड्काउँदासम्म त विप्लवलाई पनि सभा सम्मेलन गर्न छुट थियो । सशस्त्र संघर्षमा जान्छौं भनेर भाषण गरेरै हिँडेका थिए ।

विप्लवका प्रतिकुलता

समाजिक चेतना र शिक्षाको स्तर पनि त्यतिबेला र अहिले आनका तान फरक छ । एउटा सामान्य मान्छेलाई समर्थक बनाउन महिनौं दिन लाग्थ्यो । किसानहरूमा जमिन्दार भनेका ठूलाबडा मान्छे हुन्, हामीलाई ईश्वरले नै ठगेको हो भन्ने बुझाइ थियो । हामीमाथि शोषण भइरहेको छ भन्ने थाहा थिएन ।

अहिले त ६० प्रतिशत मान्छे साक्षर छन् । अहिले कम्तिमा ३० प्रतिशत मान्छे राजनीतिक रुपमा साक्षर छन् । टीभी, कम्युटरले नै आन्दोलन गर्ने अवस्था आयो । शान्तिपूर्ण  आन्दोलन गर्न सकिन्छ ।

हिजो सशस्त्र संघर्ष गर्न सजिलो पनि र आवश्यक पनि थियो । आजको अवस्था त्यस्तो होइन । माओवादीको दाबीलाई मान्ने हो भने ३५ हजार छापामार थिए । किनेको, सुरक्षाकर्मीसँग खोसेको गरेर आधुनिक हतियार थियो । र, पनि सत्तासँग सम्झौता गरेर सबै शक्ति बुझाए । जसले गर्दा जति ठूलो कुरा गरे पनि कम्युनिष्टहरूले आफ्नो शासन ल्याउँदो रहेनछ,  बेकारमा हाम्रो ज्यान मात्रै जाने हो भन्नेहरूको संख्या अहिले ठूलो छ ।

विप्लवले १२ बुँदे गलत थियो, सही बाटोमा म हिँडाउँछु भनेका छन् । तर, उनले भनेजस्तो अप्ठ्यारो बाटो हिँड्न तयार हुनेहरू निकै कम हुन्छन् । धेरैलाई सुविधामुखी र सहज बाटो मन पर्छ ।

पाँच/सात वर्ष यो सत्ताले काम नगरिसकेपछि १२ बुँदे गलत थियो भनेको भए मान्छेले अलि पत्याउन सक्ने थिए । १२ बुँदे गरेर गल्ती गरेका रहेछन् भन्न सक्थे । नेकपाले नै केही गर्छ कि भनेर आशा राखेकै बेलामा सशस्त्र गतिविधि गर्दा आम सामान्य मान्छे मात्रै होइन, हिजो माओवादीमै हिँडेका मान्छेलाई पनि विप्लवलाई विश्वास गर्न गाह्रो भइरहेको छ ।

हिजो माओवादीले जे भनेको थियो, मैले त्यही कुरा उठाएको हुँ भन्ने कुरा सैद्धान्तिकरुपमा सही हो । हिजो प्रचण्डले भनेकै कुरालाई विप्लवले निरन्तरता दिन खोजेका हुन् । हिजोको त्यो नाराले प्रचण्ड जहाँ पुगे, त्यसलाई चिर्न विप्लवको बुँताले भ्याउँदैन ।

धेरै देशमा शान्तिपूर्ण आन्दोलनबाट सत्ता परिवर्तन सम्भव हुँदैन । मलाई पनि भोटकै माध्यमबाट गणतन्त्रबाट जनगणतन्त्रमा पुगिन्छ भन्ने लाग्दैन । तर, आवश्यक कुरा पनि कु समयमा प्रयोग गरियो भने त बेमौसमी बाजा हुन जान्छ ।

त्यसकारण, सैद्धान्तिकरुपले ठीक हुँदाहुँदै पनि यतिबेला व्यवहारिकरुपमा सशस्त्र गतिविधि अगाडि जान सम्भव छैन । त्यसैले विप्लवको सशस्त्र गतिविधिको धार कमजोर हुँदै गएको छ ।

झापा विद्रोह दबाउँदाको पञ्चायती सरकार वा ०५२ सालताकाको कांग्रेसको सरकारभन्दा अहिलेको सरकार गाउँ-गाउँसम्म फैलिएको छ । नेकपाको संगठन तलसम्म छ । अर्कोतिर विप्लवका कार्यकर्ता प्रायः सबै चिनिएका छन् । विप्लव आफैं चिनिएका छन् । झापाकालको कुरा गर्नुहुन्छ भने मोहनचन्द्र अधिकारी, आरके मैनाली लगायत दुई चारजना बाहेक अरुलाई कसैले चिन्दनथे । परिचित अनुहार भएपछि राज्यलाई ट्रयास गर्न सजिलो हुन्छ ।

मोहन वैद्यको सही विश्लेषण

माओवादीले हिजो वार्ता भन्दै शक्ति सञ्चय गर्ने र झ्याम्मै आक्रमण गर्थे । अहिले सरकार चलाउनेहरूलाई हिजो माओवादीले लिएको त्यो बाटो राम्ररी थाहा छ । किनभने, हिजो सशस्त्र गतिविधि गर्ने नेताहरू नै अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा) मा छन् । आफू विद्रोही हुँदा शाही सरकार वा संसदीय सरकारलाई कसरी झुक्याएका थिए भन्ने अनुभव त उनीहरूसँग छ । त्यही भएर नै पहिला शान्ति प्रक्रिया आउ अनि वार्तामा बसौंला भनिरहेको छ ।

रणनीति राम्रो भए पनि कार्यनीतिकरुपमा विप्लव ठीक ठाउँमा छैनन् । यसकारण उनको बाटो दिनदिनै संकटमा छ । यही कुरा बुझेर मोहन वैद्यले सत्तासँग नजिक नहुँदा पनि हतियार उठाएका छैनन् । माओवादीमा लागेका मध्ये माक्र्सवादी दृष्टिकोणमा सबैभन्दा सचेत मान्छे भनेकै वैद्य हुन् । उनी कम्युनिष्ट शासन स्थापना गर्न भनेरै लागेका हुन् ।

रणनीतिकरुपले वैद्य र विप्लव एकै ठाउँमा छन् । सत्ता परिवर्तन गर्न राजनीतिक हिंसा चाहिन्छ भन्ने दुबैले बुझेका छन् । तर, अहिले सशस्त्र गतिविधि गरेर जाँदा टिकिँदैन भन्ने वैद्यले बुझेका छन् । व्यवहारिकरुपमा वैद्यले बुझेको यो कुरा विप्लवले युवा जोशमा बुझ्न सकेनन् ।

हानिहाल्ने हो, हान्न थालेपछि जनयुद्ध भनेर मान्छेहरू गुटुटु आउँछन् भन्ने विप्लवलाई लाग्यो । हिजो माओवादी कालमा जस्तै मान्छे आउँछन् भन्ने उनको विश्लेषण छ । तर, अवस्था माओवादीले सशस्त्र गतिविधि गर्दाको जस्तो छैन ।

हाम्रै अनुभवलाई हेर्ने हो भने त्यतिबेला झण्डै-झण्डै राणाकालमा जस्तै सशस्त्र गतिविधि गर्नुपर्ने अवस्था थियो । तैपनि हामी लामो समय टिक्न सकेनौं । त्यसले क्रान्तिकारी पार्टी बनाउने एउटा धार चाहिँ बनायो । कोअर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै एमालेसम्म आइपुग्दा जंगी टाइपको संसदीय पार्टीमा परिणत भयो । जनगणतन्त्र ल्याउने ठाउँमा पुगेन ।

नेत्र घिमिरे, रामनाथ दाहाल जस्ता बढी सचेत साथीहरू मारिनुभयो । हामी पक्राउ पर्‍यौं । हाम्रो आन्दोलनका सीपी मैनाली मात्रै बाहिर भए । माधवकुमार नेपाल, जीवराज आश्रति, मदन भण्डारी लगायतका जति साथीहरू आए, उनीहरू संसदीय धारकै धेरै थिए । हामी जेलबाट छुट्ने बेलासम्म त संसदीय धारमा जाने तय जस्तै भइसकेको थियो । सशस्त्र क्रान्ति भन्दा हामी पनि जेलबाट छुट्ने अवस्था थिएन ।

मदन भण्डारीको निधनपछि नेकपा एमाले अरुजस्तै धुर्मुस पार्टी बन्यो । अहिलेको नेकपा र नेपाली कांग्रेसमा के फरक छ ? पार्टीको नाम र भाषा बाहेक त केही फरक छैन । गर्ने काम त केही फरक छैन । प्रचण्डहरूले पनि ठ्याक्कै त्यही बाटो समाए । युद्ध गरेर आएको पार्टीलाई हुबहु संसदीय पार्टी बनाए ।

यसरी हिजोका क्रान्तिकारी भनिएका पार्टी धमाधम संसदीय बनेको कुरा जनतालाई राम्ररी थाहा छ भन्ने कुरा विप्लवले बुझेनन् ।

विप्लवलाई घुँडा टेकाउँछ

हिजो राजाकै शासनका बेलामा पनि पहिला शान्ति प्रक्रियामा आउ अनि मात्रै वार्ता गर्छु भनेको थिएन । माओवादीप्रति राजाको शासन जति उदार थियो, नेकपाको सरकार विप्लवप्रति त्यति उदार छैन । विप्लवका बारेमा त राजतन्त्र भन्दा पनि दमनकारी हो अहिलेको सरकार । यो कुरा पनि विप्लवले बुझ्न सकेनन् ।

राजाको शासनका बेला त हामीले जनयुद्ध गर्‍यौं, अहिले त हाम्रै वामपन्थीको सरकार छ भन्ने उनको विश्लेषण नै गलत छ । हाम्रै वामपन्थीको सरकार हुनुको भनेको हाम्रो रणनीति र कार्यनीति बुझ्नु पनि हो भन्ने यिनले बुझेनन् । चार पाँच सय कार्यकर्ता समातिए । देशभरिको गतिविधि क्षेत्रमा समेटिने स्थिति आउनुको कारण पनि त्यही हो । अब पनि वार्ता आएनन् भने उनलाई सरकारले घुँडा टेकाउँछ ।

आन्तरिक पोजिसन बलियो छैन भने त बाह्य शक्तिले पनि आड दिन सक्दैन । म प्रमाण दिएर त भन्न सक्दिनँ । तर, आर्थिक गतिविधिलाई हेर्दा बाह्य शक्तिले आड दिएको शंका गर्ने ठाउँ प्रशस्त छ । देशभित्र उठाएकै पैसाले यत्रो गतिविधि हुन्छ जस्तो मलाई लाग्दैन । महिनामा करोडौंको खर्च छ ।

कमजोरलाई शक्तिशालीले प्रयोग गर्न खोज्छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता ल्याउन माओवादीलाई प्रयोग गरियो । माओवादीलाई प्रयोग गरेको माथिल्लो रुपमा भनेको ‘होलीवाइन’ प्रकरण हो । नेपाललाई इन्डोप्यासिफिकमा लैजाने प्रयास भइरहेको छ ।

माओवादीलाई गैर-कम्युनिष्टले पनि सहयोग गरे । अर्थात त्यो समर्थन सिद्धान्त मिलेर गरिएको थिएन । त्यसको अर्थ विप्लवलाई पनि कम्युनिष्टले मात्रै साथ दिन्छन् वा प्रयोग गर्छन् भन्ने छैन । राजावादी वा अन्य विदेशी शक्तिले पनि प्रयोग गर्न सक्छन् । राजावादी र विप्लव मिल्न सक्छन् । हिजो कांग्रेस र माओवादी मिलेकै हो । सैद्धान्तिक रुपमा कहाँ काँग्रेस, कहाँ माओवादी । गएको चुनावमा प्रधानमन्त्री केपी शर्मा ओली र राजतन्त्रको वकालत गरेको राजेन्द्र लिङेदन मिलेकै हुन ।

नेताहरूले साँचो कुरा बोल्दैनन् । बोलेको कुरा गर्दैनन् भन्ने अफवाहले राजनीति नै संकटमा परेको छ । प्रधानमन्त्रीले संसद र सर्वदलीय बैठक बोलाएर गणतन्त्र संकटमा परेको बताउनुभयो । प्रधानमन्त्रीले नै भनिसक्नु भएपछि त यो भन्दा ठूलो त के होला र ?

प्रधानमन्त्रीले राजाको गतिविधिले गणतन्त्र संकटमा परेको देख्नुभयो होला । म भने प्रधानमन्त्रीकै गतिविधिले त्यो अवस्था आयो भन्ने ठान्छु । जनताको हितमा काम गर्न सकेनन् । आम मान्छेको विश्वास घट्दै गयो ।

आफ्नै अभिन्न मित्र माधवकुमार नेपालले सु-स्वास्थ्यको कामना गर्दा अस्वीकार गर्नुभयो । यसको अर्थ उहाँमा मेरा नजिकका साथीहरूले पनि मेरो खिलाफमा उभिन्छन् भन्ने परेको छ । सबैको हित गरेछु भन्दा पनि अहित गरेको छु भन्ने मनमा लागेको हुनसक्छ । राम्रो काम गरेको छैन भन्ने आत्मग्लानी भएको हुन सक्छ । मेरो विचारमा यो सरकारले नै जनमुखी काम गर्नुपर्दछ ।

नेपालमा स्थिरता आइसकेको छैन । खेल्न चाहनेहरूका लागि मैदान खाली नै छ । विप्लवलाई फलानाले प्रयोग गरेको छ त भन्न सक्दिनँ । तर, प्रयोग भएको छैन पनि भन्न मिल्दैन । व्यवहारकुशल कार्यनीति बनाउनुपर्छ । सिद्धान्तको मात्रै कुरा गरेर हुँदैन । त्यसो गर्नु भनेको मलामीमा गएर राजनीतिक भाषण गरेजस्तो हो । हिंसा गर्ने पार्टीलाई राजनीतिक अधिकार देउ भनेर कसैले भन्न सक्दैन ।

(वामपन्थी नेता मैनालीसँग गरिएको वार्तामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment