३० साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । शनिबार महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका केही पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताउँदै अब सर्वोच्च अदालतबाट न्याय भएपछि पार्टी मिल्ने दाबी गरेका हुन् ।
‘सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ । विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन,’ देउवाले भने, ‘त्यसको खिलाफमा हामीले मुद्दा दिएका छौं । त्यसको पुनरवलोकन नभएसम्म धेरै बोल्नु हुँदैन । मलाई विश्वास छ, त्यसमा न्याय मिल्छ । अनि पार्टी एकता हुन्छ ।’
अर्को प्रसंगमा नेता देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अतिआवश्यक भएको बताए । उनले भने, ‘स्वतन्त्र पत्रकारिता प्रजातन्त्रका लागि अतिआवश्यक कुरो हो । मेरो पक्षका छ, मेरो पक्षमा छैन भन्ने कुरा होइन ।’
प्रेसले पनि व्यक्तिपूजा नभई निष्पक्ष रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए । ‘व्यक्तिपूजा होइन नि । प्रेसले पनि निष्पक्ष रूपले हेर्ने हो । प्रेस स्वतन्त्रता हरेक लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण हुन्छ,’ देउवाले भने ।
पाँच महिनापछि भर्खरै स्वदेश फर्किएका देउवाले आफूलाई सुदूरपश्चिम जान मन रहेको पनि पत्रकारलाई सुनाए ।
‘सुदूरपश्चिममा जान मन छ । डडेलधुरा अझ जान मन छ । त्यहाँका दाजुभाइले मलाई सधैँ जिताएका छन्, भेट्ने मन छ । देवीदेवताको दर्शन गर्ने मन छ,’ देउवाले भने ।
आफूले सधैँ सुदूरपश्चिमको माया पाएको बताउँदै उनले आफूले सुदूरपश्चिमका लागि गर्नुपर्ने जति गर्न नसकेको समीक्षा सुनाए ।
‘मैले सुदूरपश्चिममा जति गर्नुपर्ने हो, त्यति गर्न पाएको छैन । सुदूरपश्चिमले मलाई धेरै दिएको छ,’ देउवाले भने, ‘डडेलधुरामा पनि मैले केही काम गर्न बाँकी छ । सबैले एयरपोर्ट बनाइदेउ–बनाइदेउ भन्या छन् । त्यो काम पनि पूरा गर्छु ।’
प्रतिक्रिया 4