Comments Add Comment

सागमा स्वर्ण जित्ने सुस्मिताको तृष्णा

९ भदौ, काठमाडौं । आगामी मंसिरमा नेपालमै आयोजना हुने १३ औं साग खेलकुदमा निकै आश गरिएकी खेलाडी हुन् सुस्मिता तामाङ । १९ वर्षीया उसु खेलाडी सुस्मितालाई स्वर्ण पदकको प्रबल दावेदारका रुपमा हेरिएको छ ।

गत वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदले सुस्मिताका लागि सागको ढोका खोलिदिएको थियो ।

सागको तयारीका लागि त्रिपुरेश्वरस्थित सेमिकभर्डहलमा कठिन अभ्यास गरिरहेकी उनी भन्छिन्, ‘यो पटक राम्रो प्रशिक्षक पाएका छौं । निकै राम्रो अभ्यास गराइरहनुभएको छ । मैले पनि राम्रो तयारी गरिरहेकी छु । मेरो लक्ष्य नै स्वर्ण पदक हो ।’

दैनिक विहान तीन घण्टा र बेलुका तीन घण्टा अभ्यास गर्ने गरेकी सुस्मिता यो पटकको मौका गुमाउन चाहन्नन् ।

यसअघि २०१६ मा भारतमा भएको १२ औं साग खेलकुदमा स्वर्ण पदक जित्नबाट चुकेको क्षण उनको स्मृतिमा ताजै छ ।

उनले रजतमा चित्त बुझाएकी थिइन् । त्यसबेला आफूमा अनुभवको कमी भएको उनको बुभाइ छ । पहिलेका कमजोरी सुधार गरेको भन्दै सुस्मिता भन्छिन्, ‘त्यतिबेला स्वर्ण नजिक पुगेर पनि म रजतमा सिमित भए । अब भने त्यो गल्ती गर्दिनँ ।’

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अमर थिङलाई पनि सुस्मितामाथि ठूलो भरोसा छ । पछिल्लो समयको नतिजा र अभ्यासमा भएको सुधारका कारण सुस्मिताले स्वर्ण पदक ल्याउनेमा ढुक्क भएको मुख्य प्रशिक्षक थिङ बताउँछन् । ‘यो पटक सुस्मितामाथि निकै भरोसा छ । उनको हरेक पक्ष राम्रो छ,’ थिङले भने ।

लगातार राष्ट्रिय च्याम्पियन

सुस्मिताले खेल जीवनमा लागेदेखि पछाडि फर्किएर हेर्नुपरेको छैन । एकपछि अर्को गर्दै उनको सफलता यात्रा अगाडि बढिरहेको छ । पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक जितेकी उनले त्यसयता आफ्नो विधामा लगातार स्वर्ण पदक जित्दै आइरहेकी छन् ।

पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिँदा सुस्मिता ९ वर्षकी थिइन् । राष्ट्रिय प्रतियोगिता खेल्ने सबैभन्दा कान्छी खेलाडीको रेकर्ड उनले राख्न सफल भइन् । त्यसबेलाको क्षण सम्झदै सुस्मिता भन्छिन्, ‘फुच्ची देखेर होला, सबै जनाले मलाई अचम्म मानेर हेरिरहनु हुन्थ्यो । मलाई चाहिँ निकै डर लाग्थ्यो ।’

त्यही प्रतियोगिताले उनको खेल करिअरलाई गति दियो । उनले छैटौ राष्ट्रिय खेलकुदमा स्वर्णसँगै रजत पदक पनि जितिन् । २०६८ फागुनमा धनगढीमा भएको छैटौंमा जितेको स्वर्ण पदक उनको राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण थियो ।

त्यो पदक दिने बेला खेलाडीलाई सम्मान गर्दाको दृश्य निकै रोचक थियो । रजत र कास्य पदक विजेताहरु उनीभन्दा अग्ला थिए तर, सबैभन्दा सानी उनी सबैभन्दा अग्लो स्थानमा थिइन् ।

छैटौं राष्ट्रियमा स्वर्ण जितेपछि उनी पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छिरिन् । त्यसपछि उनले सिंगापुर र चीनमा भएको विश्व उसु च्याम्पियनसिप सिनियर तथा जुनियरमा खेल्ने मौका पाइन् । तर उनको त्यहाँ राम्रो प्रदर्शन हुन सकेन ।

कोरियामा भएको इन्चोनदेखि जाकार्ता एसियन गेम्ससम्म उनले खेल्न भ्याइसकिन् । यसले उनको मनोबल बढेको छ । प्रदर्शनमा निखार आएको छ ।

दाइको प्रेरणा

सुस्मिताका दाइ मनोजबहादुर तामाङ सुरुमा तेक्वान्दो खेलाडी थिए । तर पछि त्यो छोडेर उसुमा लागे । दाइ उसुतिर लागेपछि बहिनी सुस्मितामा पनि यसप्रति रुचि बढ्यो । दाइलाई पछ्याउँदै गर्दा सुस्मिताले ८ वर्षको उमेरदेखि उसु सिक्न थालिन् । सुस्मिता भन्छिन्, ‘दाइ तेक्वान्दो छोडेर उसु खेल्न थाल्नु भएपछि मलाई पनि सिक्न मन लाग्यो । त्यसबेला म चार कक्षामा पढ्थे ।’

घरमा सुस्मिताको बाबु लालबहादुर तामा, आमा मष्टमाया तामाङ र दाइ मनोजबहादुर तामाङ छन् ।

सुस्मिताको इच्छामा परिवारको अवरोध भएन । आफ्नो करिअर उसुमै बनाउने निधो गरिन् । उनी भन्छिन्, ‘बाबाआमा नहुनु भएको भए खेलक्षेत्रमा म आउनु असम्भव जस्तै थियो ।’ बहिनीलाई उसु खेलमा डोर्‍याएका दाइ मनोजबहादुरले भने खेल्न छोडिसकेका छन् । उसुलाई त्यागेर अहिले उनी सीए पढ्दै छन् ।

खेलकुद र पढाइ साथसाथ

सुस्मिताका लागि खेल जीवनकै कठिन मोड भने आठौ राष्ट्रिय खेलकुद बन्यो । यस प्रतियोगितामा उनी तनाव, चिन्ता र धपेडीबाट गुज्रेकी थिइन् ।

वैशाखमा आठौं राष्ट्रिय प्रतियोगिता चलिरहँदा सुस्मिताको बीबीएम पहिलो सेमेस्टरको अन्तिम परीक्षा चलिरहेको थियो ।

आठौंको खेल तालिका सार्वजनिक भयो । परीक्षा नभएको दिन खेल पर्‍यो तर काठमाडौंमा परीक्षा दिएर नेपालगञ्जमा आठौं खेल्न पुग्नुपर्ने अवस्था आयो । ६ र ८ गते उनको परिक्षा थियो भने ७ गते राष्ट्रिय खेलकुदको भिडन्त ।

प्रतियोगिता नखेलौ भने १३औं दक्षिण एसियाली खेल (साग) मा सहभागिता हुन नपाउने, परीक्षा छोडौं भने एक वर्षको पढाइ खेर जाने । अन्ततः उनले ६ वैशाखमा परीक्षा दिएर सोही दिन नेपालगञ्ज पुग्ने र भोलिपल्ट विहान प्रतिस्पर्धा गरेर दिउँसो काठमाडौं फर्किने कार्यतालिका बनाइन् । भन्छिन्, ‘मलाई अरु कुराको भन्दा पनि प्लेन डिले भयो भने के होला ? भन्ने डर थियो । धन्न त्यस्तो भएन ।’

नेपालगञ्ज पुगेर मात्र भएन, साग खेल्ने टोलीमा पर्न स्वर्ण पदक जित्नैपर्ने थियो । ‘परीक्षाकै कारणले गर्दा मैले खेलमा राम्रोसँग तयारी पनि गर्न पाएको थिइनँ । धन्न परीक्षा नभएको दिन प्रतिस्पर्धा थियो र मैले स्वर्ण पदक पनि जितेँ ।’

अहिले पनि पढाइ र खेल जीवनलाई सँगसँगै अघि बढाउन कठिन भइरहेको उनले सुनाइन् ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment