९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्नातकोत्तर तह भौतिकशास्त्र विषयको विवादित प्रश्नपत्रसँग सम्बन्धित उजुरीलाई तामेलीमा राखेको छ । अनियमितताको प्रमाण नपुगेको भन्दै अख्तियारले उजुरीलाई तामेलीमा राखेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरसँग भने, ‘उजुरीमा भनिएको आधार र प्रमाणले भ्रष्टाचार पुष्टि नहुने भएकाले तामेलीमा राखिएको छ ।’
स्नातकोत्तर तह भौतिकशास्त्र पहिलो सेमेष्टरको क्वान्टम मेकानिक्स (आई फिजिक्स-५०३) विषयको परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको र यसमा त्रिवि पदाधिकारीले अनियमिततासमेत गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
२९ पुस २०७५ मा भएको परीक्षा ताहचल केन्द्रका विद्यार्थीहरुले बहिस्कार गरेका थिए । परीक्षार्थीहरु हलबाट बाहिरिएपछि परीक्षा अवरुद्ध भएको थियो । डेढ घण्टापछि फेरि त्यही प्रश्नपत्र बाँडेर पुनः परीक्षा संचालन गरिएको थियो । यद्यपि त्रिविका पदाधिकारीहरु भने आधा घण्टामात्र परीक्षा अवरुद्ध भएको र पाठ्यक्रम भित्रैबाट प्रश्नपत्र सोधिएको बताउँदै आएका छन् ।

