९ भदौ, काठमाडौं । वाईटीसीए आमन्त्रण कप क्रिकेट प्रतियोगितामा सहभागी हुन ग्रेट हिमालय क्रिकेट एकेडेमीको टोली सोमबार यूएइको अज्मान प्रस्थान गरेको छ ।
१३ खेलाडीसहित १६ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले सोमबारै विदाइ गरेका छन् ।
अगष्ट २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली टोलीले युएईको योङ ट्यालेन्ट्स क्रिकेट एकेडेमी, एमएस धोनी क्रिकेट एकेडेमी, भिक्टोरियो क्रिकेट एकेडेमी र किङ्ग्स क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । १७ वर्षमुनिका खेलाडीहरु सहभागी हुने प्रतियोगिता ३० ओभरको हुने छ ।
खेलाडीहरुमा डिकेन्द्र शाह, अमित ढकाल, पियुशकुमार झा, विकेश श्रेष्ठ, अनुरोध पन्त, सन्देश पंगेनी, रोशन दवाडी, प्रतीक ढुंगाना, आदित्य कपुरी, विराज शर्मा, राजु भुसाल, सचिन घिमिरे र अनुभव कार्की रहेका छन् । प्रशिक्षकमा एकेडेमीका अध्यक्ष सुदीप शर्मा, व्यवस्थापकमा सुमनराज कार्की र सहायक व्यवस्थापकमा नरेश केसी छन् ।
प्रतिक्रिया 4