Comments Add Comment

काठमाडौंको ‘केटो’ तालमाराङको ‘हिरो’

उनी सुपर स्टार हैनन् । न त कुनै घटनाको भिक्टिम । राजनीतिसँग तीन पुस्ते साइनो छैन । न त कुनै ‘कर्पोरेट आइकन ।’ पावर पनि छैन, पैसाको मामलामा त्यस्तै । न त उनीसँग सफलताको कथा छ, न त कुनै दर्दनाक व्यथा ।

उनको कथा किन लेख्ने ?

उनका बारेमा लेख्न मनले विचार गरिरहँदा दिमागले यस्तै भन्यो । के लेख्ने, कुनै एंगल भेटिएन । उनलाई कथाको पात्र बनाउन दिमाग तयार हुँदै भएन । दिमागले अडान दोहो¥यायो– ‘सामान्य मान्छेको कथा किन लेख्ने?’

मन फेरि के कम ? जवाफ फर्कायो, ‘उनी कसरी सामान्य ?’

मनले उनलाई ‘असामान्य’ ठान्नुका केही कारणहरु थिए।

भविश्य बनाउनका लागि मानिसहरु गाउँबाट शहर र शहरबाट विदेश छिर्छन् । तर, उनी काठमाडौंमा जन्मे हुर्केर गाउँ छिरे । साथीहरु पैसा कमाउनतिर लाग्दै गर्दा उनी समाजसेवी शिक्षक बने । साथीहरु हिँडेको भन्दा विल्कुल उल्टो बाटो हिँडे । न त दाम कमाउन सके न त नाम । साथीहरुको नजरमा उनी ‘फकिर’ हुन् । उद्देश्यविहीन मान्छेको उपमा पाएका छन् । ‘बिना काम यता–उता भौंतारिरहन्छ’ भन्दै साथीहरु बिल्ला गर्छन् ।

तर, सबैजनाको उद्देश्य दाम र नाममा मात्रै कहाँ सीमित हुन्छ र ? अरुको नजरमा ‘झ्यास’ भए पनि उनी सिन्धुपाल्चोक तालमाराङको बच्चाहरुको नजरमा खास छन् ।

बच्चाहरुलाई सपना देखाएका छन् । अवसरहरु दिएका छन् । नयाँ–नयाँ विषयवस्तुमा ‘अपडेट’ गराएका छन् । उनी ती बच्चाहरुका ‘आइडल’ हुन् । जुन उनका लागि नाम र दामभन्दा माथि छ ।

यो कथा एउटा समाजसेवी शिक्षकको हो । शिक्षक हुनुभन्दा अघि उनी पत्रकार थिए । पत्रकार हुनुभन्दा अघि कवि । अहिले कुनै मिडियामा आवद्ध नभएका उनी आफूलाई ‘इन्डिपेन्डन्ट जर्नालिस्ट’ भन्न रुचाउँछन् । गाउँका ओझेलमा परेका कथा व्याथा युट्युब मार्फत सार्वजानिक गर्छन् ।

हो यो कथा उनकै हो । उनी अर्थात मोइन उद्धिनको ।

मोइन भर्खरै २९ वर्षको भए । उनलाई बा–आमाको सपना पूरा गर्नु छ । आफ्नो भविश्य बनाउनु छ । यहीबेला ‘पैसा किन नकमाएको’ भनेर कन्पारो तताउनेहरुसँग पनि संगत गर्नुपरेको छ । ‘तँ हिँडेको बाटो ठीक भएन’ भनेर सुझाव दिनेहरुलाई पनि ‘रेस्पोन्स’ गर्नुपरेको छ । हुन त उनलाई यस्ता कुराले केही फरक पार्दैन । अरुको बहकाउमा लागेर आफ्नो बाटो भुल्ने आदत पनि छैन । तर, ‘फ्रस्टु’ बनाउने यस्तै कुराले त हो नि !

मान्छे भिडमा एक्लो छ । र एकान्तमा पनि कोलाहलग्रस्त छ उसको मन । निराशा र उकुस–मुकुस नभएका मान्छे सायदै होलान शहरमा । म्याराथनको रेसमाझै ठूलो भाग खोज्न दौडिइरहँदा स–साना खुशीहरु छुटिरहेका छन् । दौडको अन्तिम बिन्दु कसैलाई थाहा छैन् । सबैजना अन्योलमा देखिन्छन् ।आफ्नो मनको चाहना थाहा नपाई सिद्धिन्छ कतिपय जिन्दगीहरु यहाँ।

मोइन पनि कुनै समय जिन्दगीको म्याराथन मज्जाले दौडिए । शहरमा भौतारिए । तर, भौतारिँदा भौतारिँदै मनले चाहेको कुरा बुझे र त अहिले सिन्धुपाल्चोकमा रमाइरहेका छन् ।

०००

वैशाखको पहिलो साता सिन्धुपाल्चोकको तालामाराङ केही साथीहरुसँग पुगेको थिएँ म । तालमाङ तेर्से माध्यमिक स्कुलमा भेटिएका उनी त्यहाँको भोलेन्टियर शिक्षक रहेछन् । त्यहाँका बच्चाहरुका आइडल । बच्चाहरुकै भाषामा भन्नुपर्दा सुपर स्टार ।

सबैका प्रिय शिक्षक उनी स्कुलको विद्यार्थीका बारेमा हरेक दिन ‘भ्लग’ बनाउँदा रहेछन् । बच्चाहरुको पढाइ, प्रतिभा र पारिवारिक अवस्थाका बारेमा उनले बनाएको भिडियोले त्यो क्षेत्रमा तहल्का मच्चाएको रहेछ । उनकै भ्लगका कारण स्कुललाई नमुना स्कुल बनाउँन मेलम्ची गाउँपालिकाले २० लाख बजेट पनि दिएको रहेछ ।

यत्ति मात्र कहाँ हो र ? बच्चाहरुका लागि पुस्तकालय बनाउन भ्लगकै कारण ‘डोनेशन’ आएको रहेछ । हामी पुग्दा डोनेशन आएको पैसाले पुस्तकालय बनिसकेको थियो। किताबहरु भरिभराउ । मोइन पुस्तकालयमा बसेर हामीसँग गफिइएका थिए ।

मोइनअहिले केही दिन काठमाण्डौँमा छन् । बानेश्वरको एउटा क्याफेमा हामीसँग बात मार्दा उनलाई तालामाराङको बच्चाहरुको चिन्ता छ । बच्चाहरुलाई के कसरी अवसर दिलाउन सकिन्छ भनेर सोचमग्न छन्।

काठमाडौंको ’केटो’ तालमाराङको बच्चाहरुको सुपर स्टार ! कसरी?

यो कथा बुझ्न सन् २००९ तिरको समयमा फर्कनुपर्छ ।

मोइन उद्धिन

सन् २००९ तिर रेडियो चर्चित सञ्चारमाध्यम थियो । रेडियोमा बोल्नेहरु सेलिब्रेट्री। दाम थियो कि थिएन् ? मोइनलाई थाहा थिएन् । नाम भने बब्बाल । जताततै चर्चा। रेडियो आकर्षणको केन्द्रबिन्दु थियो। त्यही देखेर मोइन ‘आरजे’ बन्न लोभिए । सपना थियो, खतरा आरजे बन्ने ।

रेडियोका राम्रो श्रोता उनी फोनिङ कार्यक्रममा फोन गर्थे । पत्र पठाउँथे । घरमै ऐना हेर्दै बोल्ने अभ्यास गर्थे । ‘रेडियोमा बोल्न पाए त के के न गरिन्थ्यो’ भन्ने सोच थियो। आफ्नो रहर साथीभाइलाई सुनाउँदै हिड्थेँ । रहर रहरमै लामो समयसम्म सीमित रहेनन् । सपना यथार्थमा परिणत भयो । उनले टाइम्स एफएममा काम पाए । त्यसको तीन महिनापछि हिट्स एफएम पुगे । हिट्स एफएफमा साढे २ वर्ष काम गरेपछि तीर्थयात्रा गर्न भारत गए । चार महिना तीर्थयात्रा गरेर फर्कदा जागिर चट। बेरोजगार जिन्दगी सुरु भयो ।

उनी सानैदेखि मनमौजी स्वाभावका थिए । नयाँ काम र नयाँ अनुभव लिन जस्तोसुकै ‘रिस्क’ मोल्न तयार हुन्थे। एउटै ठाउँमा लामो समय अडिएर बस्न नसक्ने स्वाभाव थियो। केही नयाँ गरौँ भन्ने हुटहुटीले गर्दा एक ठाउँमा टिक्न सक्दैनन् थिए। आफूले, आफैंलाई र आफ्नो कामलाई ‘एक्सपेरिमेण्ट’ गर्नु उनको रुचि थियो ।

एफएमको जागिर चट भएर बेरोजगार बसिरहेको बेला दि हिमालयन टाइम्स पत्रिकाले ‘इन्टर्न’ माग्यो। आवेदन दिनासाथ छानिए । तीन महिना ‘इन्टर्न’ गरेपछि जागिर दिने सहमति भयो । त्यसपछि काम थाले । तर, ५ महिना बितिसक्दा जागिरको कुनै अत्तोपत्तो भएन । सम्पादकलाई र मानव संसाधन डिपार्टमेन्टलाई अन्तर्वाता दिदाँ दिदै दिक्क भए। अत्ति भएपछि काम छोड्ने निर्णय गरे।

काम छोड्ने निर्णय गरेकै दिन दि हिमालयन टाइम्सको इन्टर्नबाट जागिरे भए । त्यहाँ उनी लाइफस्टाइल बिटमा लेख्थे । २ वर्ष काम गरेपछि ‘मनोटोनस’ अनुभूति भयो । आफ्नै कामदेखि दिक्दार ! त्यसपछि त्यहाँ पनि काम छोडे।

 

असनमा रहेको उनीहरुको पुर्ख्यौली पोते व्यवसाय दाइले सम्हालिरहेका थिए । अब उनी पनि त्यहाँ मिसिने भए । दाइले चार लाख खर्चिएर नयाँ गोदाम तयार गरेपछि उनी व्यापारमा भिड्न थाले । पत्रकारिताबाट व्यापारमा छिर्दा ‘मनोटोनस फिल’ भयो । तर, चटक्कै छोड्दा दाइको लगानी बालुवामा पानी हुन्थ्यो । अन्तराष्ट्रिय रुपमा व्यापार फैलाउने दाइको उद्देश्यलाई खरानी बनाएर हिँड्न सकेनन्।

एकातिर चटक्कै व्यावसाय छोड्न नैतिकताले दिइरहेको थिएन भने अर्कोतिर उकुस–मुकुसले गर्दा काम गर्न सकेका थिएनन् । व्यावसायले निरन्तर टाउको दुखाइरह्यो। त्यहीबेला बुवालाई ‘प्यारालाइसिस’ भयो। बुवाको उपचारपछि उनी व्यावसायमा फर्किएनन् । केही समय फेरि बेरोजगार ।

बेरोजगार दैनिकी कतिन्जेल थेग्थ्यो र ? केही दिन घर बसेपछि विभिन्न संस्थामा कामको लागि आवेदन दिए। अंग्रेजी अनलाइन ‘दि रेकर्ड’ नेपालले काम गर्न बोलायो। फेरि पत्रकार जीवन सुरु भयो।

पत्रकार जीवन एकातिर छँदै थियो । सानैदेखि कथा कविता लेख्न खप्पिस थिए । फुर्सदको समय सदुपयोग गर्दै एउटा उपन्यास तयार गरेका थिए।  त्यही उपन्यास छाप्नका लागि सांग्रिला बुक्सका प्रकाशक मणि शर्मासँग भेट भयो।

शर्माले सिधै भने, ‘झुर लेख्दो रैछौ भाइ ।’

शर्माले उनको लेखनको यथार्थ बताउँदै सुझाए, ‘राइटर नै बन्ने हो भने देश दुनियाँ घुम्नुपर्छ । गाउँघरका कथा थाहा पाउनुपर्छ । अनि धेरैभन्दा धेरै पुस्तकहरु पढ्नुपर्छ ।’

शर्माले भनेको कुराले उनको दिल छोयो । आफ्नो कमजोरी स्वीकार गरे । अनि लेख्न भन्दा धेरै पढ्न थाले ।

शर्मासँग भेटेपछि लाग्यो—‘ गाउँघर त पुग्नैपर्छ । डुल्नै पर्छ।’

तर, पत्रकारको जिन्दगी अनि खाली खल्ती, डुल्नैपर्छ भन्दैमा कहाँ सकिन्थ्यो र ?

रेकर्ड नेपालमा काम सुरु गरेको तीन महिना मात्रै भएको थियो । उनले नयाँ अवसरको प्रतिक्षा गर्न थालिसकेका थिए। त्यहीबेला आवेदन दिएको संस्था ‘टिच फर नेपाल’ ले बोलायो। टिच फर नेपालले दुर्गम गाउँमा रहेका स्कुलमा गएर पढाउने गर्थ्यो। त्यो काम भोलेन्टियरिङ थियो । गाउँमा जाने अवसर खोजिरहेका मोइनलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो। विभिन्न चार चरणका अन्तर्वातामा पास भए । ४२ दिन ट्रेनिङ लिएपछि शिक्षक बन्न तयार भए।

कमर्समा मास्टर सकेका मोइन अंग्रेजी पढाउन तयार भए । पढाउन दुर्गम ठाउँ जानुपर्थ्यो। त्यो बेला सांग्रिला बुक्सका शर्माले भनेको सम्झिए, ‘कथा भेट्नका लागि दुर्गम ठाउँ नै पुग्नुपर्छ । तराई त जुनबेला जान सकिन्छ, विशेष गरी पहाडतिर डुल्नु।’

टिच फर नेपालले उनलाई रोज्न दिएको ठाउँ मध्ये सबैभन्दा दुर्गम सिन्धुपाल्चोक थियो । उनी त्यहीँ गए ।

उनी ०७५ साल बैशाखमा सिन्धुपाल्चोकको तालामाराङ पुगे ।

त्यो क्षेत्रमा तामाङमा जातिको बाहुल्यता रहेछ। त्यहाँ तामाङ समुदायका विद्यार्थीहरु पढ्न आउने रहेछन्। स्कुलमा कक्षा सात देखि १० सम्मलाई पढाउनुपर्थ्यो। यहाँबाट सोचेर गएको जस्तो त्यहाँको अवस्था थिएन्। विद्यार्थीहरुको समस्याको पहाड देखेर उनी झसँग भए।

कोही विद्यार्थी एक घण्टा भन्दा लामो पैदल हिँडेर आउनुपर्थ्यो त कोही घरको सबै काम भ्याएर। घरमा पढ्न लेख्न वातावरण पाएका विद्यार्थी एकदम कम थिए । अभिभावकहरु छोराछोरीलाई स्कुल पठाएपछि पढ्छन् भन्ने मान्यता राख्थे। तर, क्षमता हुदाँहुदै पनि विद्यार्थीहरुले राम्रो पढिरहेका थिएनन्।

सुरु सुरुमा विद्यार्थीहरुले होमवर्क नबुझाउँदा नटेरेको जस्तो लाग्थ्यो। रिसाएर गाली गर्थे। एक दिन उनी डुल्दै एक जना विद्यार्थीको घरमा पुगे। त्यहाँ पुग्दा अवस्था भद्रगोल थियो। त्यसैगरि अन्य विद्यार्थीको घरमा पनि पुगे। सबैको घरमा पुगेपछि उनी गलत सावित भए। विद्यार्थीको अवस्था देखेपछि माया लाग्यो।

ती विद्यार्थी एक घण्टा हिडेर स्कुल पुग्नुपर्थ्यो। स्कुल जानुअघि घरको काम सबै भ्याउनुपर्ने बाध्यता। स्कुलबाट फर्केपछि पनि काममै व्यस्त हुनुपर्ने। अझ छात्राहरुको अवस्था झनै दयनिय थियो। घरधन्दामै अल्झिनुपर्ने भएकाले होमवर्क गर्न भ्याउनन्थे। होमवर्क बुझाउनुपर्ने डरले स्कुल नजानेहरु पनि थिए।

ती बच्चाहरुको संगत गरेर मोइनले आफ्नो क्षमता थाहा पाए । क्षमतावान बच्चाहरुका कमजोरी बुझे । अनि ती बच्चाहरको घर–घर चाहारेपछि प्रण गरे— ‘अब यी बच्चाहरुलाई अवसर दिलाउने कोशिस गर्नेछु । सपना देखाउनेछु ।’

समस्या एकजना विद्यार्थीहरुको मात्र थिएन । मोइनलाई दया लाग्न गाल्यो । त्यसपछि स्कुलमा अर्को तरिकाले सिकाउन थाले । त्यो तरिका प्रभावकारी बन्यो । स्कुलकै कक्षामा राखेर विद्यार्थीहरुलाई धेरै कुरा सिकाउन सके।

उनी गएको क्षेत्रको अर्को डरलाग्दो समस्या सानै उमेरमा भागेर बिहे गर्ने चलन रहेछ । १४÷१५ वर्षमै भागेर बिहे गर्नेहरु धेरै देखे । त्यो देख्दा उदेक लाग्यो । अनि त्यसको कारण बुझ्न गाउँघर डुलिरहे।

बुझ्दै जादाँ पारिवारिक कारणले भागी बिहे बढेको थाहा भयो । आर्थिक अवस्था कमजोर भएका परिवारमा पाँच÷सात जना बच्चा हुनु सामान्य रहेछ । छोराछोरीले पढुन्, नपढुन् उनीहरुलाई खासै मतलब नहुने रहेछ । परिवारले वास्ता नगरेकाले भागी बिहे गर्ने मात्र थिएनन् । ‘म पढ्न सक्दिनँ’ भनेर महशुस गर्नेहरुले पनि भागी बिहे गरेको देखे । यो सबै हुनुमा आर्थिक अवस्था मात्रै जोडिएको थिएन । सामाजिक चेतना र शिक्षा पनि नराम्ररी जोडिएको थियो ।

त्यसरी जरा गाडेको ’ट्रेण्ड’लाई उखेल्न सम्भव थिएन । तैपनि टुलुटुलु हेरिरहन सक्दैन थिए ।

के गर्ने त ? सोच्दासोच्दै ‘भ्लग’ बनाउने आइडिया आयो।

त्यसपछि हरेक दिन विद्यार्थीहरुको समस्या सुनेर भिडियो बनाउन थाले। विद्यार्थीहरुको क्षमता पनि भिडियो मार्फत देखाए। स्कुल र अभिभावकको कथाहरु राखेर भ्लग बनाउन थालेपछि प्रतिक्रिया राम्रो आउन थाल्यो। विद्यार्थीहरु जोस्सिन थाले।अभिभावकहरुले छोराछोरीलाई पढ्ने वातावरण मिलाइदिन थाले। सानोतिनो परिवर्तन देखियो त्यो ठाउँमा।

दिनहुँ ‘भ्लग’ आउन थालेपछि विदेशमा बस्नेहरुले स्कुललाई सहयोग गर्न थाले। विद्यार्थीलाई सहयोग गर्न थाले । पुस्तकालय बन्यो । विद्यार्थीहरुका लागि आर्थिक सहयोग जुट्यो ।

त्यसपछि मोइनले अभिभावकहरु बोलाएर सोधेँ, ‘तपाईहरुका छोरीहरुका सपना के हो ? छोराछोरी भविश्यमा के बनेको हेर्न चाहनुहुन्छ।’

अधिकाशं अभिभावकबाट अनौठो जवाफ आयो, ‘थाहा छैन ।’

उनी छक्क परे । अभिभावकको अभिव्यक्तिले थाहा भयो, ‘आफ्ना छोरा छोरीसँग सामिप्यता र संगत शहरका अभिभावकको कम भएजस्तै गाउँको अभिभावको पनि कम हुँदै गएको रहेछ ।’

त्यहाँका केटाकेटीहरु ‘कन्फ्युजन’मा थिए। भविष्यमा के बन्ने थाहा थिएन । भविष्यमा गएर के के काम गर्न सकिन्छ ? उनीहरु अनविज्ञ थिए । उनले ती बच्चाहरुको ‘करियर काउन्सिलिङ’ मा जोड दिए ।

स्कुलका विद्यार्थीहरुलाई एक साता भ्रमण गराउन काठमाडौँ ल्याए। काठमाडौँका अस्पताल देखि मिडिया हाउससम्म विद्यार्थी डुलाए। पाँचतारे होटलदेखि उद्योगमा बच्चाहरु गए। एक साताको भ्रमणमा विद्यार्थीहरुले विभिन्न कामका क्षेत्रहरु देखे । भविष्यमा यस्तो पनि गर्न सकिने रहेछ भन्ने ज्ञान भयो। अनि सपना नै नभएकाहरुले सपना देखेँ।

बच्चाहरुको परिवर्तन देखेर उनी खुशी छन् । जीवनको उद्देश्य केही नबनाएका विद्यार्थीहरु अहिले गर्वका साथ आफ्नो सपना सुनाउन सक्छन्। त्यसैले बच्चाहरुलाई स–सानो अवसर दिलाउन लागिपरेका छन्।

त्यहाँको अर्को समस्या धर्म परिवर्तनलाई देख्छन्, मोइन ।

तामाङ वस्तीका अधिकाशं परिवारहरु इसाई धर्ममा रुपान्तरण भएको देख्दा अचम्म लागेको छ, उनलाई । उनले कतिपय विद्यार्थीलाई धर्म परिवर्तनका बारेमा सोधे । परिवारहरुसँग बुझे । अधिकाशं परिवारबाट जवाफ आयो, ‘विभेदका कारण धर्म परिवर्तन गरेको।’

विभेदको पाटोका बारेमा भने उनले बुझ्न भ्याइसकेका छैनन्। बच्चाहरुमा देखिएको परिवर्तनकै कारण मख्ख छन् । आफ्नो काममै व्यस्त छन्।

 

००००

जिन्दगीमा पाठ सिक्नको लागि गल्ती गर्नैपर्छ भन्ने छैन । अहिलेसम्म गरेको कामलाई उनी गल्ती ठान्दैनन । तर, जे जति ठाउँमा भौतारिए, हरेक ठाउँबाट पाठ सिकेको बताउँछन। ‘रिजेक्शन’ ले जिन्दगीमा ठूलो पाठ सिकाएको अनुभव छ उनीसँग । सांग्रिला बुक्सका प्रकाशक मणी शर्मालाई नभेटेको भए जिन्दगीमा यो अनुभव गर्न नपाउने सुनाउँछन्।

‘मानिसहरुलाई फरक फरक कुराले खुशी मिल्छ। कसैलाई पैसा कमाउँदा खुशी मिल्छ भने मलाई बच्चाहरुलाई अवसर दिदाँ’ हाँस्दै भन्छन्, ‘म आफ्नो ठाउँमा सद्दे छु, साथीहरु आफ्नो ठाउँमा।’

मोइनले कुनै ठूलो महत्वाकांक्षा पालेका छैनन् । अब भागदौडबाट टाढै रहने सुनाउँछन् । गाउँघरका लुकेका कथाहरु अब अझै परिष्कृत ढंगले पस्कने योजना छ । त्यसका लागि फिल्म अध्ययनको तयारी गरिरहेका छन् । कुनै प्रकाशकले विश्वास गरे किताब आउने सम्भावना पनि छ ।

मोइनको जीवनशैली र दैनिकी सामान्य छ । आफ्नो सपना थाती राखेर अरुको सपना पूरा गर्न मरिमेटेर लागिपरेका छन्। उनकै कारण त्यहाँका बच्चाहरु भविष्यको बारेमा सोच्न सक्ने भएका छन् ।

मोइनको काम बलिउड चलचित्र ‘सेक्रेट सुपर स्टार’ का आमिर खानको चरित्रसँग मिल्न जान्छ।तालमाराङका बच्चाहरुले पनि उनलाई ‘आइडल’ मानिरहेका छन्।

उनी आफैंमा अज्ञात सुपर स्टार हुन् । अज्ञात यस मानेमा कि उनी देशभरिको ठूलो मासमा चिनिइसकेका छैनन् । उनलाई सेलिब्रेटी हुने रुचि पनि छैन ।

उनी भन्छन्, ‘तालमाराङका बच्चाहरुको हिरो हुनु नै मेरा लागि ठूलो कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment