Comments Add Comment

पर्यटन विभागले बोझ घटायो, २२ हजार व्यवसायको जिम्मेवारी प्रदेशलाई

१० भदौ, काठमाडौं । पर्यटन विभागले साविकमा आफू मातहत रहेका २२ हजार ३ सय ६४ पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा प्रदेशलाई हस्तान्तरण गरेको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवहरुलाई अभिलेख हस्तान्तरण गरेका हुन् ।

पर्यटनसँग सम्बन्धित व्यवसायको काम प्रदेश तहमा हस्तान्तरण भएपछि अब साविकमा विभागले गर्दै आएको दर्ता, नविकरण, अनुगमन, मूल्यांकनजस्ता प्रशासकीय काम अब प्रदेश मातहत गएको छ ।

संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि छुट्याएको अधिकारक्षेत्र भित्रै रहेर साविकमा विभागले गर्दै आएका काम प्रदेश सरकारहरुसमक्ष हस्तान्तरण गरिएको महानिर्देशक घिमिरेले जानकारी दिए ।

यसरी हस्तान्तरण भएर गएका व्यवसायको काम १ असोजबाट कार्यान्वयन हुने भएको छ । प्रदेशमा यी अभिलेख अब उद्योग, पर्यटन, वन तथा वातावरण मातहत संचालन हुने छन् ।

विभागले आफू मातहत रहेका देशका विभिन्न ७ पर्यटन कार्यालयलाई प्रदेशमा हस्तान्तरण गरेको छ । विभागका अनुसार कार्यालयले प्रदेश मातहत रहि काम थालिसकेका छन् । कांकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), विरजंज (पर्सा), भैरहवा (रुपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके) बाट साविकमा भइरहेका काम प्रदेश तहमा हस्तान्तरण भएको विभागले जानकारी दिएको छ ।

पर्यटनका कुन कुन व्यवसाय प्रदेशमा पुगे ?

पर्यटकस्तरीय होटेल : ३६१

होमस्टे : ९२

र्‍याफ्टििङ एजेन्सी : ८५

ट्राभल एजेन्सी : ३२६२

ट्रेकिङ एजेन्सी : २४१७

रिभर गाइड : २१४

ट्रेकिङ पोटर गाइड : १७२

पर्यटन यातायात सेवा : ७९

ट्रेकिङ गाइड : १२९८१

टुरिष्ट गाइड : २७०१

अब प्रदेशबाट के के काम हुनेछ ?

  • ट्राभल एजेन्सी इजाजत पत्र जारी तथा नवीकरणलगायत कार्य
  • ट्रेकिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण लगायत कार्य
  • पर्यटक यातायात सेवा सञ्चालन इजाजत पत्र जारी तथा नवीकरण
  • र्‍याफ्टिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण
  • पर्यटक स्तरीय होटेल इजाजत पत्र जारी तथा नवीकरण
  • होमस्टे इजाजत पत्र जारी तथा नवीकरण
  • टूर गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, रिभर गाइडको इजाजत पत्र जारी र नविकरण

विभागको सहजीकरण

साविकमा विभागले गरिरहेको काम तल्लो तहमा जाँदा पर्यटनको विभागको कार्यबोझ निकै घटेको छ । विभागले आगामी दिनमा तल्ला सरकारहरुलाई आवश्यक सहयोग गर्नुका साथै नीतिगत काम र नियमनमा बढी ध्यान केन्द्रित गर्ने भएको छ ।

यसबाहेक पर्वतारोहणको अनुमति, ठूला होटेल/रिसोर्ट/क्यासिनोको दर्ता, नविकरणलगायतको काम पनि विभाग मातहत नै रहने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment