Comments Add Comment

मंसिर १४ को उपनिर्वाचन : धरानमा ४ हजार मतदाता थपिए

राजनीतिक विश्लेषक भन्छन्- प्रतिपक्षी पनि कमजोर छ'

११ भदौ, बिराटनगर । प्रदेश १ मा एक उपमहानगरपालिका सहित ९ स्थानमा उपनिर्वाचनको तयारी भइरहेको छ । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि तीन स्थानीय तहका प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो ।

प्रदेश १ मा सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पद रिक्त छ ।

तीन प्रमुख रिक्त रहेको स्थानमध्ये दुई नेकपा र एक कांग्रेसले चुनाव जितेको क्षेत्र हो । ८ स्थानीय तहमा ९ पदका लागि निर्वाचन तयारी सुरु भए पनि सबैको ध्यान धरान उपमहानगरपालिकाले तानेको छ । ठूलो स्थानीय तह भएका कारण धरानले ध्यान तानेको हो ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित धरानका मेयर तारा सुब्बाको निमोनियाका कारण मृत्यु भएपछि धरान एक वर्षदेखि मेयरविहीन छ । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा गत माघमा मृत्यु भएको थियो । त्यस्तै, ०७४ साल पुस ३० गते जीप दुर्घटनामा परी मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको मृत्यु भएको थियो ।

धरानमा मेयरसहित वडा नम्बर-७ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ । त्यसैगरी फिदिम नगरपालिका-वडा नम्बर १, हिलिहाङ गाउँपालिका-७, मोरङको धनपालथान गाउँपालिका-२, संखुवासभाको खादबारी गाउँपालिका वडा नम्बर ८ र खोटाङको सकेला गाउँपालिका- ३ को वडा अध्यक्ष पदमा आगामी मंसिर १४ गते उपचुनाव हुँदैछ ।

नेकपाको वास्तविक परीक्षा

उपनिर्वाचनले सत्ताको नेतृत्व गरिरहेको नेकपाको वास्तविकता बाहिर ल्याउने राजनीतिक विश्लेषकहरु बताउँछन् । पार्टी एकीकरण गरी दुई तिहाई मत पाएको नेकपा नेतृत्वको सरकार पछिल्लो गतिविधिका कारण आलोचित छ ।

मंसिरमा हुने निर्वाचनले नेकपा शासनलाई जनताले विश्वास गरे नगरेको देखिने मोरङका राजनीतिक विश्लेषक डा. देवीबहादुर थापा बताउँछन् । प्रतिपक्षी दल पनि दह्रो रुपमा उभिन नसकेका कारण दुबै पक्षलाई सहज नभएको उनको भनाइ छ । ‘कम्युनिष्टप्रति जनताको हिजोको अपेक्षा र चाहना घटेर गयो,’ उनी भन्छन् ‘तर प्रतिपक्ष पनि दह्रो छैन ।’

प्रतिपक्ष पनि कमजोर भएका कारण निर्वाचनमा तेस्रो बिकल्प पनि अघि आउन सक्ने उनले बताए । त्यसैगरी राजनीतिक विश्लेषक दिनेश श्रेष्ठ जनताको अपेक्षा अनुसार नेकपाले काम नगरेका कारण पहिलेको जस्तो अवस्था नरहेको बताउँछन् ।

तीन तहकै सरकारप्रति जनता सन्तुष्ट नभएको र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि आन्तरिक किचलोमा फसेका कारण राजनीतिप्रति वितृष्णा बढेको उनले बताए । दुई ठूला दल अलोकप्रिय भएका कारण तराईका क्षेत्रहरुमा मधेसवादी दल हाबी हुन सक्ने उनको बुझाइ छ । पहाडी क्षेत्रमा दुबै दलप्रतिको विश्वास कम भए पनि जनताका लागि तत्काल तेस्रो विकल्प नदेखिएको उनले बताए ।

धरानमा चार हजार मतदाता थपिए

स्थानीय तहको उपनिर्वाचनमा धरानमा करिब ४ हजार मतदाता थपिएका छन् । प्रतिनिधि तथा प्रदेशभा निर्वाचनमा धरानमा ८९ हजार ५ सय ४९ मतदाताको नामावली सार्बजनिक भएको थियो । मंसिरमा हुने निर्वाचनमा करिब ९३ हजार पाँचसय मतदाता रहने निर्वाचन कार्यालय सुनसरीका निमित प्रमुख अजयकुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार साउन १६ गते सम्म मतदाता नामावली संकलन भएको छ । अन्तिम मतदाता नामावली प्रकाशित हुँदा पहिलेको तुलनामा करिब ४ हजार मतदाता बढ्न सक्ने उनले बताए । मतदाता बढेका कारण उपनिर्वाचनमा मतदान केन्द्र पनि थपिनेछन् ।

मिश्रका अनुसार गत निर्वाचनमा २८ मतदान स्थल र ९८ मतदान केन्द्र थिए । यो पटक केही मतदान केन्द्र थप्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment