Comments Add Comment

खेलकूदको माध्यमबाट समृद्धि हासिल गरिने:  मन्त्री विश्वकर्मा

१३ भदौ, काठमाडौं । युवा तथा खेककूद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रलाई अझ उँचो बनाउन र यस क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक आएको स्पष्ट पारेका छन् ।

उनले भने, “खेलकूदको माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको प्राथमिकता रहेको छ, देशको प्रतिष्ठा उँचो बनाउन खेलकूदको थप अभिवृद्धि गर्नु जरुरी छ ।”

प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको शुक्रबारको बैठकमा विधेयक संशोधनकर्ता सांसदले उठाएको विभिन्न जिज्ञासाको जवाफ दिँदै मन्त्री विश्वकर्माले विधेयकले खेलकूद परिषद्को कार्य सम्पादनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

उनले खेलकूदको थप पूर्वाधार विकास गरिने र पर्यटकीय तथा साहसिक खेलकूदको विकास र विस्तार गरिने जानकारी दिँदै खेलकुदलाई राजनीतिक विचारभन्दा माथि उठाउने प्रतिबद्धतासमेत जनाए ।

समितिका सदस्य दिव्यमणि राजभण्डारीले विधेयकमाथि संशोधन प्रस्तुत गर्दै खेलकूद परिषद्को सट्टा खेलकूद प्राधिकरण बनाउन, परिषद्का उपाध्यक्षभन्दा कार्यकारी निर्देशक बनाउन सुझाव दिए । उनले भने, “खेलकूद क्षेत्रलाई राजनीतिक आस्था, विचार र प्रभावभन्दा माथि उठाउन जरुरी छ ।”

समितिका अर्का सदस्य विमला विश्वकर्माले विधेयकले समावेशीतामा ध्यान नदिएको चर्चा गर्दै खेल मिलेमतो गर्ने खेलाडिमाथि कारवाहीको दायरा बढाउन माग गरे । प्रस्तावित विधेयकले खेल मिलेमतो गर्ने खेलाडीलाई एक वर्षसम्म कैद र रु एक लाखसम्मको जरिवानाको प्रावधान राखेको छ ।

समितिका सदस्य जीवनराम श्रेष्ठले खेलकूद क्षेत्रलाई अझ विकास र विस्तार गर्न लगानी बढाउन आवश्यक रहेकोमा जोड दिँदै लगानीले मात्र राम्रो नतीजा निकाल्न सक्ने बताए । राष्ट्रियसभाबाट पारित भई आएको सो विधेयकमाथि १५ संशोधन परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment