Comments Add Comment

ट्रम्पको सहायक म्याडलिन बर्खास्त, सूचना चुहाएको आरोप

१४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सहायक म्याडलिन वेस्टराउटलाई पदमुक्त गरेका छन् । ट्रम्प पारिवारसँग सम्बन्धित सूचना चुहाएको आरोपमा उनलाई पदमुक्त गरिएको हो ।

ट्रम्प राष्ट्रपति भएको पहिलो दिनदेखि नै वेस्टराउटले उनीसँगै ह्वाइटहाउसमा काम गर्दै आएकी थिइन् ।

२९ वर्षीय म्याडलिन यही अगष्ट महिनामा छुट्टी मनाउन गएको बेला न्यूजर्सीको बर्कले ह्वाइट्स होटलमा केही पत्रकारसँग डिनरमा देखिएकी थिइन् । त्यतिबेला उनले मदिरा सेवन गरी ट्रम्पसँग आफ्नो पहुँच रहेको भन्दै धाक लगाएको सीबीएस न्यूजले जनाएको छ ।

यसको जानकारी ट्रम्पसम्म पुगेपछि गत बिहीबार उनलाई हटाइएको हो । यद्यपि ह्वाइट हाउसले भने उनलाई हटाइएकोबारे जानकारी दिन इन्कार गरेको छ ।

न्यूयोर्क टाइम्सले उक्त घटनाबारे सबैभन्दा पहिले समाचार प्रकाशित गरेको थियो । समाचारमा लेखिएको छ, ‘म्याडलिनलाई अब बर्खास्त गरिएको कर्मचारीको रुपमा हेरिने छ र कार्यालयमा आउन पनि रोक लगाइएको छ ।’

अमेरिकी मिडियाका अनुसार म्याडलिनको कार्यकक्ष राष्ट्रपति ट्रम्पको कार्यकक्षको ठीक अगाडि थियो ।

ह्वाइट हाउसका अधिकारीहरुले ट्रम्पप्रति म्याडलिनको वफादारीप्रति शंका व्यक्त गर्दै आएका थिए । एक पूर्वअधिकारीले सीबीएस न्युज च्यानलसँग भनेका छन्, ‘उनी पहिलो दिनदेखि नै जासुसी गर्थिन् । राष्ट्रपतिका आलोचकहरुको काम गराइदिनका लागि आफ्नो निकटतालाई उपयोग गर्थिन् ।’

ह्वाइट हाउसको बारेमा छापिएका दुई पुस्तकमा ट्रम्पले चुनाव जितेपछि म्याडलिन दुःखी थिइन् र उनी रोएको देखिएको थियो । तर, त्यसको बाबजुद पनि १ लाख ४५ हजार डलर तलब पाउने गरी म्याडलिन ट्रम्पको सहायक पदमा नियुक्त भएको बीबीसीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment