Comments Add Comment

संसारले द्रुत विकास गर्‍यो, राजाले विकासको मूल फुटाएनन्

विकास र समृद्धि नेपालले किन हासिल गर्न सकेन ? जसरी कैयौं देशहरुमा राष्ट्रिय सुरक्षा र कूटनीतिको विषय पार्टीगत स्वार्थभन्दा माथि रहन्छ, त्यसैगरी अब नेपालको परिप्रेक्ष्यमा पनि विकास र समृद्धिको मुद्दा पार्टीगत हित र सीमाभन्दा माथि रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

नेपालको परिप्रेक्ष्यमा हामीले विकास र समृद्धिको कुरा गर्दाखेरि राणाकाललाई छाड्ने हो भने पञ्चायतले विकासको मूल फुटाउने कुरा गर्‍यो र ३० वर्ष बितायो । तर, विकास र समृद्धि हासिल भएन । पञ्चायतको सुरुका वर्षहरुमा नेपालको आर्थिक वृद्धिदर दुई प्रतिशत भन्दा माथि जाँदै गएन । त्यसपछि अलिकति बढ्यो । र, पञ्चायत जाने बेलातिर, सम्भवतः सन् १९८५ को समयतिर आएर हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । त्यसपछि फेरि द्वन्द्व सुरु भयो, फेरि झर्‍यो ।

त्यससता आएर सन् २०१५ मा भूकम्प र नाकाबन्दीपछि नेपालको आर्थिकवृद्धि दर एकदमै झरेको थियो । कुनै पनि देशमा आर्थिक मन्दीपछि  स्वाट्ट आर्थिक वृद्धिदर उठ्ने गर्छ । नेपालमा पनि त्यसपछि ६ प्रतिशत भन्दा माथि गयो । र, सन् १९६० पछि अहिले लगातार तीन वर्ष ६ प्रतिशतको वृद्धिदरमा छ । पहिलो वर्षलाई गन्ने कि नगन्ने त्यो छुट्टै कुरा हो, किनभने त्यो विशेष परिस्थितिले सिर्जना गरेको थियो ।

पञ्चायतकालमा, कतिपय साथीहरुले भनेको हामी सुन्छौं, राजा वीरेन्द्र एकदम असल राजा थिए । तर, त्यो समयमा १८ वर्षसम्म एकछत्र शासन गर्दा पनि नेपालमा विकासको मूल फुटेन

तर, ६ प्रतिशतकै आर्थिक वृद्धिदरलाई मान्ने हो भने पनि सामान्य अर्थशास्त्रको विद्यार्थीले पनि भन्ने कुरा के हो भने त्यो वृद्धिदर स्थिर मूल्यमा निरन्तर १२ वर्ष कायम रह्यो भने बल्ल हाम्रो अर्थतन्त्रको साइज दोब्बर हुन्छ। ७ प्रतिशत छोयौँ भने अर्थतन्त्रको साइज डबल हुन १० वर्ष लाग्छ। हामीले हासिल गर्न खोजेको आर्थिक विकासलाई ७ प्रतिशत या त्यो भन्दा माथि डबल डिजिटमा लाने हो भने अर्थतन्त्र द्रुतगतिमा धेरै वर्षसम्म निरन्तररूपले अगाडि बढ्नैपर्छ।

तर, यो किन भइरहेको छैन ?

पञ्चायतकालमा, कतिपय साथीहरुले भनेको हामी बारम्बार सुन्छौं, राजा वीरेन्द्र एकदम असल राजा थिए । उनी असल थिए कि थिएनन्, आ–आफ्नो विश्लेषण होला । तर, राजा वीरेन्द्रका पालामा १८ वर्षसम्म, जबकि त्यतिबेला नेपालमा कहीँ पनि ठूलो विरोध हुँदैनथ्यो, त्यो समयमा १८ वर्षसम्म एकछत्र शासन गर्दा पनि नेपालमा विकासको मूल फुटेन ।

त्यो समयमा संसारका अन्य देशहरुमा हेर्ने हो भने अलिहकति नरम तानाशाह भएका देशहरु भन्दा अनुदार लोकतन्त्र भएका देशहरुमै पनि तीव्ररुपमा आर्थिक विकास भएको देखिन्छ ।

त्यसपछि ०४६ सालपछिको ३० वर्षमा पनि कारण त राजनीतिक अस्थिरता भयो भनेर कारण त जे पनि दिन सकिएला । तर, राजनीतिक अस्थिरता भएका देशहरुले पनि आर्थिक विकास गर्न थालेका छन् ।

हाम्रो छिमेकमा बंगलादेश छ । त्यहाँ पनि राजनीतिक अस्थिरता छ । तर, बंगलादेशको ढाकामा जानुभयो भने त्यहाँ बनेको बाटोघाटो अन्तरराष्ट्रिय स्तरको छ भन्दा फरक पर्दैन । तर, हामीले गर्नै सकेनौं । किन गर्न सकेनौं ? यसबारेमा बहस होला ।

यदि हामीले विकास चाहने हो भने अहिले दुई तिहाईको समर्थन प्राप्त सरकारले गर्न सक्ने कैयौं कामहरु पनि नगरेको हामीलाई महसुस भइरहेको छ । र, ७ प्रतिशतको आर्थिक वृद्धिदरमात्रै छुने हो भने पनि १० वर्षमा हाम्रो अर्थतन्त्रको साइज दोब्बर हुन्छ । १० प्रतिशतलाई टार्गेट गर्ने हो भने त छिटै वृद्धि भइहाल्छ । यस्तो अवस्थामा हामीले के गर्न सक्छौं त ? कसरी र के कारणले गर्दा विकास र समृद्धि भएन ? हामीले चाहेको के हो र यो कसरी आउँछ भन्ने विषयलाई हामीले बहसमा लैजान आवश्यक छ ।

सबै पार्टीका नेताहरुमा, सबै पार्टीका समर्थकहरुमा एउटा सहमति के हुनुपर्‍यो भने यो देशको साँच्चिकै रुपान्तरण गर्ने हो भने हामी विकास र समृद्धिको विषयमा एक ठाउँमा उभिनैपर्छ । विकास र समृद्धिलाई अवरुद्ध पार्ने गरेर हामीले कुनै पनि काम गर्नुहुँदैन ।

नेपाल यति धेरै स्रोत साधनले सम्पन्न देश हो, यसको कुरा गरेर साध्य छैन । काठमाडौं उपत्यकामा मात्रै ७ वटा हेरिटेज साइडहरु छन् । यदि वौद्ध स्तुपाजस्तो संसारकै सबैभन्दा ठूलो स्तुपा कुनै युरोपियन देशहरुमा हुँदो हो भने त्यसले आइफल टावरको जस्तो राजस्व सिर्जना गर्ने क्षमता त्यसले राख्ने थियो ।

त्यस्तै पाटनमा जुन किसिमको कला छ, यसलाई हामीले मार्केटिङ नै गर्न सकेनौं । यी कामहरुमा कसरी काम हुन सक्छ ? यी कामहरुमा पार्टीहरुवीच सहमति के कारमा हुन सक्छ ? अरु धेरै देशहरुले २०/२५ वर्षमा देशको मुहार फेरेका धेरै उदाहरणहरु छन् ।

हामीभन्दा धेरै तन्नम देशहरुले पनि प्रगति गरेका धेरै उदाहरणहरु छन् । त्यसैले हामीले पनि गर्न सक्छौं । तर, सक्नका लागि हामीवीच आपसमा सहमति पनि चाहियो, इमान्दारिता पनि चाहियो र क्षमता पनि चाहियो ।

त्यसैले हामीले यसबारेमा बहस गर्न चाहेका छौं ।
(मन्तव्यमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment