Comments Add Comment

तीजको बजार : सुनको मूल्य बढ्दा चुरा-पोतेको व्यापार घट्यो

१५ भदौ, काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज भोलि मनाइँदैछ । यस पर्वमा महिलाहरु रातो साडी र सोह्र श्रृंगारमा सजिएर नाचगान गर्छन् । त्यसैले तीजको सिजन लागेपछि बजारमा कपडा र सौन्दर्य प्रशाधनको बजार गर्माउँछ ।

हरेक वर्ष झैं यसपाली पनि तीज आउनु केही दिनअघि कस्मेटिक पसलेहरुको व्यस्तता बढेको छ । यस्तै, कपडा पसलमा साडी किन्नेहरुको चाप पनि उत्तिकै छ । चुरापोते, टिका धागो पाइने पसलहरुमा पनि महिलाहरु लाइन लागेका देखिन्छन् । तर, पनि व्यवसायीहरु सन्तुष्ट भने छैनन् । गत वर्ष जति व्यापार यसपाली नभएको उनीहरुको गुनासो छ ।

तीज व्यापार कस्तो भइरहेको छ भनेर बुझ्न अनलाइनखबरको टोलि असन, इन्द्रचोक, बानेश्वर लगायतका ठाउँहरुमा पुग्दा कतै भरिभराउ त कतै खुकुलो देखियो ।

बानेश्वरमा रहेको पोते कटेजका सञ्चालक अलिज मियाँ भन्छन्, ‘यस वर्ष त सबैभन्दा कम व्यापार हुने भयो ।’

विगत १६ वर्षदेखि चुरापोतेकै व्यापार गर्दै आएका उनले बानेश्वरमा पसल खोलेको ५ वर्ष हुन लाग्यो ।

उनले सुनाए, ‘चुरापोते व्यापार हाम्रो पुर्खौली पेशा हो । हजुरबुवा र बुवाले यहि व्यापार गर्नुभयो । र, म पनि चुरापोतकै व्यापार गरिररहेको छु ।’

त्यसो त उनको ठूलो पसल असनको इन्द्रचोकामा छ । त्यहाँ विगतदेखि नै निकै राम्रो व्यापार हुने गरेको मियाँले सुनाए । तर, यसपाली भने भिड घटेको उनको अनुभव छ ।

‘पोहोरको साल पनि राम्रो व्यापार भएको थियो । तर, तपाईहरुले पनि देखिहाल्नु भयो, यसपाली सुनसान छ । यो सबै कारण चाहिँ सुनको मूल्यवृद्धि हो,’ उनले भने ।

सुनको भाउ अचाक्ली बढ्दा पोतेको व्यापारमा सिधा प्रभाव परेको मियाँ बताउँछन् ।

उनी भन्छन्, ‘नयाँ सुन किन्नेले पोत उन्न लिएर आउने गर्छन् । अहिले मान्छेले सुन नै किनेका छैनन्, अनि पोतेको व्यापार कसरी हुन्छ ?’

इन्द्रचोकमा भीड, ब्यापार भने कम

सुनसानजस्तो देखिएको बानेश्वरभन्दा असन-इन्द्रचोकमा थेगिनसक्नु भीड थियो । फिल्म हेरेर बाहिर निस्केजस्तो गरी पैदल यात्रुहरु ठेलमठेल गर्दै हिँड्नुपरेका दृश्यहरु देखिए ।

भीडलाई छिचोल्दै हामी साडी र चुरापोते पसलहरुमा पुग्यौ । त्यहाँका पसल ग्राहकले भरिभराउ थिए । पसलेहरुले हामीसँग बोल्न पनि पनि पालो पर्खनु पर्ने अवस्था थियो । एउटा पसलमा त ४/५ जना ग्राहकहरुलाई सामान देखाइरहेका थिए । त्यो दृश्यपछि इन्द्रचोक चुरापोते पसलका व्यापारीलाई हामीले सोध्यौं, ‘व्यापार त धेरै राम्रो जस्तो छ नि ?’

व्यापारी मुसुक्क मुस्कुराए । अनि भने, ‘व्यापार बढेको होइन, धेरै नै घटेको छ, अघिल्लो वर्षको तुलनामा त ५० प्रतिशत ग्राहक कम आउनुभएको छ ।’

ती पसले काठमाडौं डल्लुमा घर भएका अब्दुल अजित रहेछन् । उनको पनि पुर्खौली पेशा नै रहेछ चुरापोते व्यापार । ‘हरेक वर्षको व्यापार मैले अनुभव गर्दै आएको छु, यस वर्ष त्यस्तो छैन’ उनले सुनाए ।

उनले त्यसो भनिरहदा पसलमा पोते हेर्न आउने ग्राहकहरुको भीड भने बढ्दै थियो । पसलमा काम गर्ने ५ जना कोही पनि खाली हात थिएनन् ।

‘व्यापार नै नभएको होइन, अहिले पनि भइरहेको छ तर विगतको जस्तो छैन,’ अजितले भने, ‘यो तीजको भीड होइन, यत्तिको त अरु बेला पनि हुन्छ ।’

हामी केहि कदम अगाडी बढ्यौ । इन्द्रचोकबाट विशालबजार जाने सडकका दायाँ-वायाँ धेरै साडी पसलहरु थिए । त्यहाँ भीड केही कम थियो । व्यापार कस्तो छ ? हामीले सोध्यौं ?

‘व्यापार के छ भन्नु के छैन भन्नु, ग्राहक एकदमै कम छन्’ व्यापारी अश्लेशा महर्जन बोलिन्, ‘अहिले विजोग छ, तर मेरो पसलमा मात्रै चाहिँ होइन ।’

उनले अन्य पसलहरुमा पनि यस वर्ष खासै व्यापार नभएको बताइन् । हामीले असन र इन्द्रचोकका अन्य व्यापारीहरुसँग पनि कुरा गर्यौ । धेरैले व्यापारबारे बोल्ने चाहेनन् । चाहेकाले व्यापार खासै नभएको संक्षिप्त जवाफ दिए ।

उपभोक्ता भन्छन्- महंगी अचाक्ली

रिपोर्टिङका क्रममा भेटिएका सर्वसाधारण महिलाहरुले भने यस वर्ष महंगी अचाक्ली बढेको सुनाए । स्याङ्जा घर भइ भक्तपुर बस्दै आएकी रेश्मी घिमिरेले पोते, चुरा जस्ता श्रृंगारको मूल्य बढेको बताइन् । तर, सानो वस्तु भएकाले मूल्य बढे पनि धेरै वास्ता नगरिएको उनको भनाइ छ ।

‘तीजमा चाहिने सामानहरु मैले किनिसकेंँ, दर खाने, नाच्ने कार्यक्रम त अस्ति नै भइसक्यो पनि,’ उनले भनिन्, ‘मूल्य धेरै बढेको छ, तर सय रुपैयाँको सामानमा १५ रुपैयाँ बढ्दा त्यति वास्ता गरिएन ।’

बौद्धकी अप्सरा विष्टले पनि आफूले धेरैजसो सामाग्री किनमेल गरिसकेको बताइन् । उनले पोते लगायतका केहि सामान किन्न बाँकी रहेकाले आज सपिङमा निस्किएको सुनाइन् । उनको अनुभव पनि मूल्य बढेको भन्ने नै छ ।

थोक व्यापार राम्रै भयो : अध्यक्ष कटुवाल

इन्द्रचोकबाट रञ्जना गल्लीसम्म पुग्दा उद्योगी नरेश कटुवाल आफ्नै पसलमा भेटिए । नेपाली साकुरा ब्राण्डको लेडिज जुत्ता-चप्पल उत्पादन गर्दै आएका उद्योगी कटुवाल नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष समेत हुन् ।

आफैले उत्पादन गरेर थोक व्यापार समेत गरिरहेका कटुवालले यस वर्ष पोहोरकै हाराहारीमा व्यापार भएको सुनाए । खुद्रा व्यापार कस्तो भएको भन्ने आफूले बुझिनसकेको तर थोक (होलसेल) व्यापार भने राम्रै भएको उनको प्रतिक्रिया थियो ।

‘यहाँबाट सामान लगिरहनु भएको छ, डिमान्ड पनि पोहोर सालको भन्दा कम छैन’ उनले भने, ‘मेरो उद्योगमा तीजलाई नै लक्षित गरेर लेडिज जुत्ताचप्पल उत्पादन गरेको थिएँ, अहिले राम्रै बिकिरहेको छ ।’

गत वर्षको तुलनामा धेरै व्यापार बढ्नु पर्ने भए पनि नबढेको उनले बताए । तर व्यापार भएन भनेर निराश नै हुनुपर्ने अवस्था भने नरहेको कटुवालको भनाइ थियो । (स्थलगत)

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment