Comments Add Comment

‘जसले हिन्दू राष्ट्रको एजेण्डा बोक्छ, अबको कांग्रेस सभापति उही’

मुलुक हिन्दू राज्यबाट धर्म निरपेक्ष बनाइएपछि मेरो राजनीतिचाहिँ हिन्दू राष्ट्र स्थापनातर्फ मोडियो । संयोगवस मलाई साथीहरुले दुईपटक विश्व हिन्दू महासंघको अध्यक्ष निर्वाचित गरेकाले हिन्दू राष्ट्र स्थापनाको एजेण्डा कमल थापा र खुमबहादुर खड्काको जस्तो राजनीतिकरण गर्न मिलेन । हामीले यसलाई दीर्घकालीन उद्देश्य बनाएका छौं ।

छिमेकी भारतमा हिन्दूत्वको एजेण्डा बोकेर मोदीजीले दुईपटक करिब दुई तिहाइ मत पाए । तर यहाँ हाम्रो पार्टी नेपाली कांग्रेसले हिन्दू राष्ट्रलाई धोखा दिँदा जनताबाट पराजित भइरहेको छ । धर्म छाडेपछि यस्तो हुन्छ भनेर मैले पार्टीका नेताहरुलाई आग्रह पनि गरिरहेको छु ।

कांग्रेसमा अब जसले हिन्दू राष्ट्रको एजेण्डालाई इमान्दारसाथ बोक्छ त्यही नै पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्छ । म त ७९ वर्ष लागिसकेँ । यो पार्टीमै जीवन समर्पित भयो । दुईपटक लम्जुङबाट सांसद जितेँ । स्वास्थ्य सहायकमन्त्रीसम्म भएँ । विपी, गणेशमान र किसुनजीहरुको माया पाएर कांग्रेस भएको हुँ ।

कम्युनिस्टले बुढाबुढीलाई वृद्धभत्ता दिए । अहिले स्थानीय निकाय प्रायः सबै उनीहरूको कब्जामा छ । मन्दिर निर्माण, मन्दिर मर्मत सम्भारका लागि उनीहरुले चाहिँ पैसा दिइरहेका छन् । तपाईंले हेर्नुहोला एकदिन, यी प्रचण्ड र केपी ओलीले भोलि हामी हिन्दू राष्ट्र पनि बनाइदिन्छौं भन्न बेर लाउँदैनन्

२०४८ र २०५१ मा जनताले जिताए । षडयन्त्रपूर्वक मलाई पासपोर्ट काण्डमा फसाएर २०५६ सालको चुनाव लड्न नदिए पनि धर्म नष्ट नभएकाले आज हिन्दूत्वको झण्डा बोक्न पाएको छु । आज पनि पार्टीको महासमिति सदस्य छु । पार्टीमा हिन्दू राष्ट्रको एजेण्डा राखिरहेकै छु । तर कांग्रे चाहिँ झन् ओह्रालो लाग्दैछ । किनकी हाम्रो नेतृत्वसँग न धर्म छ न त नैतिक बल ।

के भन्यौं पहिले, के भयो अहिले ?

धर्म निरपेक्षमा जानु नै कांग्रेसको ठूलो दुर्भाग्य भयो । एउटा मान्यता थियो गाउँ–गाउँमा जनतालाई कि कांग्रेसले धर्म छोड्दैन भन्ने । हामीले २०४८ मा के भनेर भोट माग्यौं ? कम्युनिस्ट भनेका धर्म मान्दैनन्, यिनले बुढाबुढीलाई मार्छन् भनेर भोट मागेको हो नि ।

तर भयो के त ? कम्युनिस्टले बुढाबुढीलाई वृद्धभत्ता दिए । अहिले स्थानीय निकाय प्रायः सबै उनीहरुको कब्जामा छ । मन्दिर निर्माण, मन्दिर मर्मत सम्भारलाई उनीहरुले चाहिँ पैसा दिइरहेका छन् । तपाईंले हेर्नुहोला एकदिन, यी प्रचण्ड र केपी ओलीले भोलि हामी हिन्दू राष्ट्र पनि बनाइदिन्छौं भन्न बेर लाउँदैनन् । अब अर्को चुनावसम्म ५ हजार वृद्धभत्ता बनाइहाल्छन् । कांग्रेसले वृद्धवृद्धा र धर्मका लागि के गर्‍यो ? हामीसँग जवाफ छैन ।

यता हाम्रो पार्टी कांग्रेसचाहिँ थरथर कामिरहेको छ । धर्म पनि छाड्यो, राजा पनि छाड्यो । उसको आधार के अब ? त्यही भएर धेरै कमजोर भएको छ अहिले कांग्रेस । तर जनमानसमा अझै पनि व्यवस्थापन गरेर लाने हो भने कांग्रेस कमजोर छैन । म त अहिले हिन्दू महासंघको कार्यक्रम लिएर सबै जिल्ला घुमेको छु नि ।

मैले गएको चुनावमा रामचन्द्र पौडेललाई छिमेकी भएको र कांग्रेसको वैचारिक नेता पनि भएकाले तपाईं चुनाव नलड्नुस् भनेको थिएँ । किनकी उनले हार्ने मैले देखिसकेको थिएँ । कि गोविन्दराज जोशीलाई मिलाउनुस्, होइन भने तपाईं हार्नुहुन्छ भनेँ । समानुपातिकमा बस्नुस् पनि भनेँ । तर उहाँले मलाई कसले हराउँछ ? भन्नुभयो । परिणाम के आयो सबैलाई थाहा छ ।

गोविन्दराजले विद्रोहीमा उम्मेदवारी दिएपछि एकदिन मलाई फोन गर्नुभयो । म त लम्जुङमा थिएँ । उहाँले शेरबहादुरलाई भन्नुभयो, गोविन्दराजलाई ब्याक गर्नुपर्छ भनेर । मैले म त सक्दिनँ, तपाई आफैं भन्नुस् भनेँ । मैले गोविन्दलाई पनि फोन गर्दिनँ भनेँ । नभन्दै ६ हजारभन्दा बढी भोटले हार्नुभयो । वास्तवमा कांग्रेसको हालत यही हो ।

किसुनजीले जोगाएको हिन्दू राष्ट्र

म कांग्रेसको राजनीतिबाट अलग भएर विश्व हिन्दू महासंघमा लागेको होइन । दामोदर गौतमले छाडेपछि मलाई साथीहरुले हिन्दू राष्ट्र स्थापनाको झण्डा थमाउनुभयो । यो विश्व हिन्दू महासंघ त २०३७ सालमै राजाको उपस्थितिमा गठन भएको संस्था हो । राजा वीरेन्द्रले उदघान गरेर योगी नरहरीनाथले अगुवाइ गर्नुभएको थियो ।

यो संस्थाको संस्थापक अध्यक्ष नै तत्कालीन प्रधानमन्त्री नागेन्द्रप्रसाद रिजाल हुनुभएको थियो । त्यसपछि यो संस्थामा कहिलेकाहीँ विवाद पनि आयो । पछि अच्युतराज रेग्मी अध्यक्ष हुनुभयो । उहाँपछि अन्तरिमकालमा किसुनजीसँग मन्त्री बन्नुभयो र २०४७ सालको संविधानमा हिन्दू राष्ट्र भनेर लेखाउनु पनि भयो ।

त्यो बेला पनि धर्म निरपेक्ष भन्ने दबाव आइरहेको थियो । युरोपियन युनियनबाट पनि धर्म निरपेक्ष लेख्नुपर्छ भनेर ब्रिटिशका सातजना सांसद आएका रहेछन् । किसुनजी प्रधानमन्त्री त धेरै कुटनीतिक हुनुहुन्थ्यो । उनीहरु यो भन्न आएका हुन् भन्ने थाहा पाएपछि राजालाई पहिले नै उहाँले यो धार्मिक कुरा प्रधानमन्त्रीले हेर्नुहुन्छ, मलाई थाहा छैन भन्दिनुस् भन्नुभएछ ।

राजाले किसनुजीतिर पन्छाइदिनुभएछ । किसुनजीले पछि हामीलाई सुनाउनुहुन्थ्यो । किसुजीकोमा गएपछि उहाँले ठाडै भन्नुभयो– तिमीहरुको देश धर्म निरपेक्ष छ ? तिम्रो रोमन क्याथोलिक र प्रोटेस्टेन्टको बीचमा विवाह चल्दैन । तिम्रो राजपरिवारले क्याथोलिकसँग बिहे गर्दैनँ । एकचोटी बिहे गर्ने भनेर केटी छिनेको पनि हत्या भयो, पहिलो तिम्रो देशमा बनाऊ अनि हामी धर्म निरपेक्ष बनाउँछौं ।

जसले हिन्दू राष्ट्रको एजेण्डा लिन्छ त्यो अब आउने हाम्रो पार्टी सभापति र प्रधानमन्त्री त्यही हुन्छ । जसले भित्रैदेखि यो एजेण्डा लिन्छ त्यसले नेतृत्व गर्छ । हुन त उसलाई दबाव आउन सक्छ, तर आँट गर्नुपर्छ

किसुनजीले त्यसरी बचाएको हिन्दू राज्य आखिर कांग्रेसले नै मास्यो । यसको पाप त हामीले भोग्दैछौं । कांग्रेसले नचाहेको भए राजा जाने थिएनन् । हिन्दू राज्य रहने थियो । गिरिजाबाबुमात्र सकारात्मक भइदिएको भए यो देशमा धर्म नष्ट हुने थिएन । गणतन्त्र घोषणा गर्नसमेत एमाले डराएका थिए । तर गिरिजाबाबुले म छु भन्नुभएको हो ।

कम्युनिस्टलाई जित्ने हो भने हिन्दू राष्ट्र भनौं

नेपाली कांग्रेसले अझै पनि हिन्दू राष्ट्रको एजेण्डा बोक्यो भने यो देशमा कम्युनिस्टलाई पराजित गर्न सकिन्छ । तर हाम्रा नेताहरुमा त्यो आँट देखिएन । बोल्न खोजेकाहरुको पनि मुख थुनिँदैछ । यहाँ ठूलो शक्तिको खेल छ । शशांक कोइरालाले बोल्नुभएको थियो, तर पछि सभापति र प्रधानमन्त्री बन्नुछ भने चुप लाग्नुस् भनियो रे ।

खुमबहादुर खड्काले हिन्दू राष्ट्रको एजेण्डा बोक्नुभएको थियो । तर खुमबहादुरजीले बोक्नुभएको, कमल थापाजीले बोक्नुभएको चाहिँ राजनीतिक एजेण्डा हो । तर हामीले राजनीतिक एजेण्डा बनाएको होइन । हिन्दू राष्ट्र भनेको हाम्रो उद्देश्य हो । नेपाललाई हामी सनातन हिन्दू राष्ट्र बनाउन चाहान्छौं । त्यो पुरातन र संकीर्ण खालको हिन्दू राष्ट्र होइन ।

हिँजोको जस्तो हिन्दू भन्नाले क्षेत्री, बाहुन उपल्लो जातिको शासन भन्ने थियो नि, त्यो होइन । सनातन भनेको सनातनदेखि चल्दै आएको सभ्यता संरक्षण गर्ने भनेको हो । सनातनदेखि यहाँ रहेका ओमकार परिवार भनेपछि बुद्धिष्ट, जैन, किराँत, शिख, बोन धर्म मान्ने एउटा तामाङ सम्प्रदाय छ । यी सबैको साझा ओमकार परिवारको अस्तित्व, सम्मान र पहिचान कायम गर्ने भनेको हो ।

आज हाम्रो जुन खानपान, रहनसहन रिति थिती छ यो सबै हिन्दू सभ्यता हो । हिन्दू भनेको त राष्ट्रियतासँग जोडिएको कुरा हो । हाम्रो चन्द्र सूर्य अंकित झण्डाले हिन्दूत्व बोकेको छ । हिन्दू राष्ट्रलाई धर्मसँग होइन, राष्ट्रियतासँग जोडेर हेर्ने हो भने यसमा सबै सनातन धर्म संस्कृति मान्ने ओमकार परिवार एकजुट हुन्छन् । हामीले नेपाल बचाउन हिन्दू राष्ट्र भनेको हो, कुनै पद पाउन वा चर्चामा आउन होइन ।

शशांकलाई डर देखाइयो

नेपाली कांग्रेसले हिन्दू राष्ट्रको एजेण्डा लियो भने उसले अब देशको नेतृत्व गर्न सक्छ । जसले हिन्दू राष्ट्रको एजेण्डा लिन्छ त्यो अब आउने हाम्रो पार्टी सभापति र प्रधानमन्त्री त्यही हुन्छ । जसले भित्रैदेखि यो एजेण्डा लिन्छ त्यसले नेतृत्व गर्छ । हुन त उसलाई दबाव आउन सक्छ, तर आँट गर्नुपर्छ । हारे पनि हारौंला, तर एजेण्डा छाड्दिनँ भन्ने हिम्मत गर्‍यो भने त्यो मान्छे आउँछ ।

अस्ति शशांक कोइरालालाई गएर हामीले भन्यौं । तपाईंले हिन्दू राष्ट्र भन्नुभयो, बीचमा किन ब्याक हुनुभयो ? बीपीको छोरा भएर त्यस्तो फितलो कुरा गर्ने ? हामीलाई पनि लज्जित बनाउने ? हामीले प्रश्न गरे पनि उहाँले केही बोल्नुभएन ।
हामीले शेखर कोइरालालाई पनि भेट्यौं । उहाँले कुटनीतिक ढंगले जवाफ दिएर हामीलाई तपाईंहरु लाग्दै गर्नुस् भन्नुभयो । शशांकलाई कसैले शक्ति केन्द्र लगाएर प्रधानमन्त्री र सभापति हुने हो भने हिन्दू राष्ट्रको कुरा नगर भनेर त्रास देखायो कि ?

हाम्रो पार्टीभित्र रहेका जनजाति र अन्य कतिपय नेतालाई हिन्दू भनेपछि जनजाति विरोधी, दलित बिरोधी भन्ने परेको छ । तर उहाँहरुलाई हामीले हिन्दूत्व के हो भनेर बुझाउन सक्नुपर्छ । हिन्दू भनेको धर्म होइन सनातन सभ्यता हो । यसमा कुनै जातपात छैन, यो त कर्मका आधारमा हिँजो छुट्याएको भन्नुपर्छ । हिन्दू राष्ट्र बनाउने हो भने कांग्रेसले नेतृत्व गर्नुपर्छ ।

भीम रावल जत्तिका नेता पनि भएनन्

अहिले हाम्रो कांग्रेसका नेताहरुभन्दा बरु नेकपाका नेता भीम रावलमा राष्ट्र, राष्ट्रियता र धर्म संस्कृतिप्रति प्रष्ट अडान देखिन्छ । हाम्रो नेताहरु भीम रावल जत्तिका पनि भएनन् ।

भीम रावलले अस्ति पनि एउटा कार्यक्रममा मलाई पार्टीले कारवाही गरे पनि गरोस् मलाई राष्ट्रियता र धर्म संस्कृतिको माया छ भन्नुभयो । यत्तिको अडान पनि हाम्रो पार्टीका नेताहरुमा देखिएको छैन ।

हामीलाई त पार्टीले कारवाही गरे पनि गरोस् । पार्टीबाट निकाले पनि मलाई नेपालीबाट निकाल्न सक्दैनन् । मलाई हिन्दूबाट निकाल्न सक्दैनन् । त्यो जाबो पार्टी भनेको त सय वर्ष पनि भएको छैन आएको । यो त हाम्रो हजारौं वर्षदेखि आएको हो हिन्दूत्व भन्ने कुरा ।

भीम रावलले अस्ति पनि एउटा कार्यक्रममा मलाई पार्टीले कारबाही गरे पनि गरोस् मलाई राष्ट्रियता र धर्म संस्कृतिको माया छ भन्नुभयो । यत्तिको अडान पनि हाम्रो पार्टीका नेताहरूमा देखिएको छैन

हामीले गत महासमिति बैठकमा पनि हिन्दू राष्ट्रको पक्षमा ८ सय जना सदस्यको हस्ताक्षर जुटाएर कर्ण मल्लमार्फत् पेश गरेका थियौं । आउने महाधिवेशनमा पनि यो एजेण्डा लैजान हामीले तयारी गरिरहेका छौं ।

अलिकति सिनियर नेतासहितको टिम बनाएर जानुपर्छ । अहिले हाम्रो पार्टीमा जनजातिको संगठन छ । दलितको संगठन छ । खोइ हिन्दूको समिति ? हिन्दूको समिति बनाउन पनि अहिले लबिइङ भइरहेको छ ।

देउवालाई आफैं फस्ने डर छ

अहिले त राजनीतिमा ढोंगीहरु सदाचारी बन्ने जमाना छ । नीति शास्त्रमा पनि भनिएको छ– अपुज्या यत्र पुज्यन्ते । निन्दित हुनुपर्ने मान्छे, दण्डित हुनुपर्ने मान्छे नै समाजमा पुजिएको छ । जो ज्यानमारा छ, जसले फ्रड काम गरेको छ, जसले दुई नम्बरी गरेर अवैध आर्जन गरेको छ, तीनै पुजिएका छन् ।

सबैभन्दा पीडाचाहिँ मलाई के लाग्छ भने, हाम्रा साथीहरु अब कम्युनिस्टले खानेभयो भन्छन् । म उनीहलाई भन्छु– कांग्रेस गतिलो भएर निस्क न, उनीहरुले पाँच वर्ष खालान्, फेरि हाम्रो पालो आइहाल्छ नि । लिडर भनेको दुई ठाउँमा देखिन्छ अथोरिटी र अपोजिशन । त्यो लिडरले बोल्दा अपोजिशनले पनि सुनोस् र अथोरिटीले पनि गम्भिरतापूर्वक लिओस् ।

तर अहिले त कांग्रेसको नेतृत्वलाई न अथोरिटीले टेरेको छ, न अपोजिशनले । अनि यी नेताको के भ्यालु हुन्छ ? आफू बिभिन्न काण्डमा कहाँ–कहाँ फसेको छ । कडा रुपले बोलौं भने त्यही छानविनमा पर्ने हुँ कि भन्ने डर छ । बालुवाटारको जग्गा भन्नुस् कि वाइडबडीको कुरा गर्नुस् जताततै परेको छ । थुनिनु परे पनि थुनिउँला भन्नुपर्‍यो नेताले ।

कांग्रेसको राजनीतिमा गुटको फेरो र नेताको फेरो नसमाते अब कसैको पनि भविष्य छैन । पहिले बीपी किसुनजीका पालामा गुट थिएन । गिरिजाबाबुका पालामा गुटको बिजारोपण भयो । जुन बेला गुट बिभाजिन गरियो त्यो बेला २०५० तिर चौहत्तरे र छत्तिसे भन्ने बनाए । हामीलाई बालुवाटारमा बोलाएर यहाँ सही गर्नुस् भन्नुभयो सुशील दाइले । त्यहाँ सही गर्दा हामी चौहत्तरेमा पर्‍याैं ।

मलाईपछि गिरिजाबाबुले धेरै नै खेदो गर्नुभयो । मैले देखेको कुरा गर्दा उहाँलाई नपच्ने भएपछि शेरबहादुरले पार्टी फुटाउने भेलामा पनि गएँ । तर पार्टी फुटाउन होइन गिरिजाबाबुलाई करेक्सन गरौं भनेको हो । तर उनीहरु पार्टी फुटाउनै लागेपछि हामी पाँच–सात जना फरक्क फर्केर गिरिजाबाबुकोमा गयौं ।

धनराज गुरुङले रातो पासपोर्टमा फसाए

आज कांग्रेसमा मेरो हैसियत महासमिति सदस्यको मात्रै छ । मसँगै राजनीति गरेकाहरु अहिले पनि चुनाव लडिरहेका छन् । तर मलाई बीचमा एउटा आरोप लगाइयो । पासपोर्ट काण्ड रचियो । यही धनराज गुरुङहरुको कारणले मलाई ब्लेम लाग्यो । मैले त्यसमा सफाइ पनि पाएँ । त्यसमा मेरो कुनै दोष नै देखिएन । तर पनि राजनीतिमा मलाई फसाउन त्यो घटना गराइएको थियो कि जस्तो पनि लागेको छ ।

मलाई त त्यो रातो पासपोर्टको बारेमा थाहै पनि थिएन । धनराज गुरुङले हामीलाई अलिकति सहयोग गर्नुपर्‍यो दाइ, हामी त्यसलाई दुरुपयोग गर्दैनौं, यताउति भनेर फकायो । म त सोझो मान्छे, साथीभाइले भनेपछि हार्न नसक्ने । धनराज त्यतिबेला नेविसंघको अध्यक्षबाट निस्केर तरुण दलतिर कता थियो ।

मलाई त त्यो रातो पासपोर्टको बारेमा थाहै पनि थिएन । धनराज गुरुङले हामीलाई अलिकति सहयोग गर्नुपर्‍यो दाइ, हामी त्यसलाई दुरुपयोग गर्दैनौं, यताउति भनेर फकायो । म त सोझो मान्छे, साथीभाइले भनेपछि हार्न नसक्ने । धनराज त्यतिबेला नेविसंघको अध्यक्षबाट निस्केर तरुण दलतिर कता थियो ।

धनराजले पासपोर्ट लगेर कहाँ राखेको थियो, त्यही ठाउँमा सिज गरेर समातेर बाहिर आयो । त्यसबेला उसले अरु सांसदको पनि पासपोर्ट त्यसैगरी लगेको रहेछ । उसले के गर्छु भनेर लगेको हो मलाई थाहा भएन । कहीँबाट सन्चालित थियो कि भन्ने पनि लाग्यो ।

मलाई ड्यामेज गर्नका लागि उनलाई युज गरेको हो कि ? तर कुनै स्वच्छ र सही तरिकाले मेरो पासपोर्ट लगेको होइन रहेछ । कुनै डिजाइनमा गरेको थियो भन्ने घटनाक्रमले बुझ्न सकिन्छ । मेरोमात्र होइन, हस्तबहादुर मल्ललगायतको पनि थियो, तर उनीहरुले पनि पछि टिकट पाए, मलाईचाहिँ कारवाही गरियो ।

म उनीप्रति (धनराजप्रति)कुनै नकारात्मक टिप्पणी पनि गर्दिनँ । तर त्यो सही र गलत को हो भन्ने प्रकृति र नियतिले पनि एकदिन छुट्याउनेछ भन्ने मलाई विश्वास छ । म अध्यात्ममा विश्वास राख्ने मान्छे । हामीले कसैलाई केही भन्नु पर्दैन । त्यो परिस्थिति घटनाक्रमले ती मान्छे कस्ता हुन् भन्ने अन्तिमसम्ममा चिनिने छन् ।

मलाई २०५६ सालको आमचुनावमा टिकट बाँड्ने बेलामा कारवाही गरियो । चुनाव अगाडि कारवाही गरिए पनि सबैभन्दा बढी भोट मेरो एरियाबाट कांग्रेसलाई गयो । मैले व्यक्तिगत कांग्रेस बनाएको भए त ती अन्त लाग्दा हुन् नि । मैले त रियल कांग्रेस बनाएको थिएँ । म कारवाहीमा परेपनि घर–घरमा गएर कांग्रेसको लागि भोट मागेँ ।

चुनाव प्रचारमा जाने बेलामा गिरिजाबाबुले राम्रो गरेर आउनुस्, म कारवाही फुकुवा गरिदिन्छु भन्नुभएको थियो । चुनाव सकिएपछि फुकुवा त गरिदिनुभयो, तर ड्यामेज भइसकेपछि त्यसको के अर्थ ?

मैले केही गरेको थिइनँ, तर मेरो राजनीतिमा धक्का लाग्यो । तर जसले मलाई फसायो ऊचाहिँ नेता भयो ।

(कांग्रेस नेता तथा विश्व हिन्दू महासंघका अध्यक्ष पूर्वमन्त्री रामचन्द्र अधिकारीसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment