Comments Add Comment

बाँकेमा प्रहरीद्वारा गोली हानेर एक जना पक्राउ

१६ भदौ, काठमाडौं । प्रहरीले बाँकेमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै गोली प्रहार गरेर पक्राउ गरेको हो ।

भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरी ल्याउँदै थियो । राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए ।

बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाँभार घर भएका न्यौपानेको बाँया खुट्टामा गोली लागेको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

२०६८ सालमा बर्दियाको बाँसगढीमा संयुक्त राष्ट्र संघको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा न्यौपानेसहितका व्यक्तिलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनीहरु फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment