Comments Add Comment

उपचार खर्च धान्न नसकेर सन्तानको माया मार्छन् अभिभावक

१६ भदौ, काठमाडौं । कान्ति बाल अस्पताल, महाराजगञ्जको प्रशासनिक भवनको दोस्रो तलामा ओपीडी र मेडिकल वार्ड छ । वार्डबाहिर खाली ठाउँमा चकटी ओछ्याएर बिरामी कुरुवाहरु सुस्ताइरहेका छन् । हावामा फोहोरको कडा गन्ध छ ।

तेस्रो तलामा पुग्दा दुर्गन्ध हराउँछ, सफा भित्तालाई थरिथरिका पेण्टिङले सजाइएको छ । यो अंकोलोजी वार्ड हो ।

यही वार्डको ३२९ नम्बर वेडमा एक बालिका सुतिरहेकी छन् । छेउमा उनको आमा र हजुरआमा टोलाइरहेका छन् । त्यही बेला वार्डमा प्रवेश गरेका क्यान्सर रोग विशेषज्ञ विष्णुरथ गिरीलाई हजुरआमा उठेर सोध्छिन्, ‘डाक्टर सा’ब, अब के होला त हाम्रो नानीलाई ?’

डाक्टर पनि सोध्छन्, ‘घर सल्लाह गर्नुभयो त ?’

‘घरजग्गा बेचेर पनि उपचार त गराउनैपर्यो’, आमा जवाफ दिन्छिन्, ‘छोरीलाई जाती त हुन्छ नि, डाक्टर सा’ब ?’

डा. गिरीले यो खालको जटिल रक्त क्यान्सरको उपचार गर्दा सय जनामा ४०–४५ जनालाई ठीक भएको रेकर्ड रहेको बताए । उनले सम्झाउँदै भने, ‘नानी आठ महिनाको मात्र भएकाले अलिक खतरा त हुन्छ, तर पूरा उपचार र राम्रो पोषणबाट ठीक हुन सक्छिन् ।’

‘भनेपछि भगवान भरोसा… ’, निराश आमाको मुखबाट अधुरो वाक्य फुस्कियो ।

डा. गिरीका अनुसार गरीब परिवारका क्यान्सर रोगीहरुको अवस्था कति दारुण भने पूरा उपचार त परको कुरा, बायोप्सीसमेत गराउन सक्दैनन् । उनले एक महिनाअघि रौतहटको चन्द्रनिगाहपुरकी एक महिलाले बायोप्सी नगराई छोरीलाई घर फर्काएको सुनाए ।

स्थानीय अस्पताल चाहार्दा ठीक नभएपछि कान्ति ल्याइएकी उनकी छोरीमा रक्त क्यान्सर देखिएको डा. गिरीले बताए । ‘बोनम्यारोको बायोप्सी गर्न टेकु अस्पताल पठाएको, फर्केर आइनन्’, उनले भने, ‘पछि बुझ्दा त्यसका लागि चाहिने एक हजार रुपैयाँ समेत रहेनछ ।’

बायोप्सी गर्न एक हजार नभएकी ती महिलासँग काठमाडौँमा छोरीको थप उपचार गराउन सक्ने आधार थिएन । ऋण पत्याउने पनि पाइँदैन । परिणाम, उनले छोरी माया मारिन् । उनका अनुसार, खर्च धान्न नसकेर बीचमै उपचार छाड्नेहरुको संख्या पनि ठुलो छ ।

उपचारका लागि टिक्नै गाह्रो

महोत्तरीको सरिता साह कान्ति बाल अस्पतालकै अंकोलोजी वार्डमा उपचाररत छोरी कुरेर बसेकी छन् । नौ महिनाअघि उनको १० वर्षे छोरीलाई ज्वरो आउने, केही खायो कि बान्ता हुने र हातखुट्टा दुख्ने समस्या भयो । स्थानीय अस्पतालहरु धाएर एक लाख रुपैयाँ सकियो तर छोरीलाई सञ्चो नभएपछि कान्तिमा ल्याउँदा क्यान्सर पुष्टि भयो ।

अहिलेसम्म चार लाख खर्च भइसकेको छ । उपचार पूरा गर्न अझै तीनवर्ष लाग्ने डाक्टरको भनाइले उनको सातो टिपेको छ । वैदेशिक रोजगारीमा रहेका श्रीमानको कमाइले नपुगेर भएको दुई कठ्ठा खेत बेचिसकियो’, सरिता भन्छिन्, ‘अबको उपचार कसरी धान्ने, थाहा छैन ।’

नजिकैको बेडमा महोत्तरीका रामबाबु यादव रक्त क्यान्सरले आक्रान्त छोराको उपचार गराइरहेका छन् । तीन वर्षको उपचारमा आठ लाख ऋण परेको यादवले बताए । अस्पताल नजिकै मासिक आठ हजार रुपैयाँ भाडा तिरेर लिएको कोठामा बसिरहेका उनलाई उपचार सकिन अझै दुईवर्ष लाग्ने चिकित्सकहरुको भनाइले अत्याएको छ । उनले भने, ‘साहुहरुले तनाव दिँदा बीचमै उपचार छोडौं कि जस्तो हुन्छ ।’

कान्तिको अंकोलोजी वार्डमा उपचार गराइरहेकाहरु मध्ये अधिकांशको परिवार चर्को आर्थिक समस्यामा छन् । बिरामी कुरुवालाई महिनौं, वर्षौं काठमाडौं बस्न समस्या छ । ‘होटल महंगो भएकाले कोठा खोजेको छ महिना भयो, पाएकी छैन’, सरिता साह भन्छिन्, ‘उपचार खर्च मात्र होइन, उपचारका लागि काठमाडौंमा टिक्नै गाह्रो छ ।’

भयावह अवस्था

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार प्रत्येक वर्ष विश्वमा तीन लाख बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको छ । विकसित मुलुकमा भन्दा नेपाल जस्ता न्यून आयस्तर भएका मुलुकहरुमा चार गुणा बढी बालबालिकाको ज्यान क्यान्सरबाट जान्छ ।

कान्ति अस्पतालमा वर्षेनी क्यान्सरका २०० नयाँ बिरामी थपिन्छन् । सन् २०१५ मा कान्तिमा क्यान्सर रोगको उपचार गर्ने १४ जना मात्र थिए, जुन बढेर २०१९ मा १७१ पुग्यो । चितवनको भरतपुर क्यान्सर अस्पतालमा सन् १९९९ मा ५० जना क्यान्सर रोगी थिए । २०१६ मा यो सङख्या बढेर १०४ पुग्यो । यो १९ वर्ष मुनिका क्यान्सर रोगीको तथ्यांक हो ।

नेपालभर क्यान्सर रोगको उपचार हुने १२ अस्पतालको तथ्यांकअनुसार २०१५ मा १४ वर्षसम्मका ५२५ बालबालिकाको उपचार भयो । तीमध्ये रक्त क्यान्सर रोगी २०६ जना थिए ।

डा. विष्णुरथ गिरी भने क्यान्सरका बिरामी बढेको नभई नेपालीहरुमा चेतना बढेर धेरैजना अस्पताल आइपुगेको बताउँछन् । ‘तर, अस्पतालहरुमा स्रोतसाधनको धेरै अभाव छ’, उनी भन्छन्, ‘चाहेर पनि राम्रो उपचार सेवा दिन सकिएको छैन । मन कुँडाएर बस्नुपर्ने अवस्था छ ।’

जनसंख्यामा आधारित क्यान्सर रोगी बालबालिकाको तथ्यांक राखेका मुलुकहरुको आँकडालाई आधार मान्दा नेपालमा १९ वर्ष मुनिका बालबालिकाको प्रति १० लाख जनसंख्यामध्ये प्रत्येक वर्ष औसत १२० जना नयाँ क्यान्सर रोगी भेटिने अनुमान छ । तर यसबारे अनुसन्धान भएको छैन ।

हरेक वर्ष करीब १५ सय नयाँ क्यान्सर रोगी बालबालिका भेटिने अनुमान भए पनि क्यान्सरको उपचार हुने १२ अस्पतालको तथ्यांक हेर्दा त्यसको आधा मात्र अस्पताल पुगेका देखिन्छन् । यसबाट ५० प्रतिशत क्यान्सर रोगी बालबालिका अझै अस्पतालको पहुँचबाहिर रहेको अनुमान लगाउन सकिन्छ । साथै अस्पताल पुगेकामध्ये पनि आधा बालबालिका पैसा नभएर उपचार नसकी फर्कनुपर्ने अवस्था देखिएको छ ।

कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ विष्णुरथ गिरी भने परीक्षणका लागि अस्पताल पुग्ने बालबालिकाको संख्या कुल रोगीको २० प्रतिशत मात्र हुनसक्ने अनुमान लगाउँछन् । यसको अर्थ ८० प्रतिशत बिरामी अझै क्यान्सर रोग जाँच्ने सुविधा भएका अस्पतालमै पुग्दैनन् ।

उनीहरुलाई चिकित्सकहरुले अन्य रोगको आशंकामा एण्टिबायोटिक चलाइरहेको हुनसक्ने डा. गिरी बताउँछन् ।

रोग पहिचान गर्नै समस्या

वेबमेड डटकमकाअनुसार तीनजना क्यान्सर रोगी बालबालिकामध्ये एकमा रक्त क्यान्सर देखिन्छ । खानपान, वंशाणुगत प्रभाव र अव्यवस्थित जीवनशैलीका कारण क्यान्सर रोग बढेको वेबमेडले लेखेको छ । नेपालमा क्यान्सर रोगीका संख्याबारे अनुसन्धान भएको छैन ।

नेपालका १२ वटा अस्पतालका क्यान्सर रजिष्ट्री अनुसार रोग पत्ता लगाउन आएका बालबालिकामध्ये ८ प्रतिशतमा ब्रेन ट्युमर देखिने गरेको छ । भरतपुर क्यान्सर अस्पताल पुग्ने ६० प्रतिशत बालबालिकामा रक्त क्यान्सर देखिएको बाल क्यान्सर विभागकी प्रमुख निभा तिवारी बताउँछिन् । डा. गिरीका अनुसार, कान्ति बाल अस्पताल आउने ४० प्रतिशत बालबालिकामध्ये ६० प्रतिशतमा रक्त क्यान्सर देखिएको छ ।

अस्पतालहरुलाई क्यान्सर पत्ता लगाउन सजिलो भने छैन । बालबच्चाको उपचार गर्ने केन्द्रीय अस्पताल कान्तिमै एमआरआई मेसिन छैन । उपत्यका बाहिरका अधिकांश अस्पतालमा सिटी स्क्यान छैन ।

यस्ता उपकरण नहुँदा ब्रेन ट्युमर भएका बालबालिकाको समयमै रोग पहिचान नभएर ज्यान जोखिममा परिरहेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठ बताउँछन् । जबकी, बालबालिकामा रक्त क्यान्सरपछि धेरै देखिने ब्रेन ट्युमर (क्यान्सर) हो ।

४० प्रकारका रक्त क्यान्सर पत्ता लगाउने एनालाइसिस्का मेसिन त नेपालका कुनै अस्पतालमा पनि छैन । त्यस्तै, क्यान्सरको कोषको पत्ता लगाउने फ्लोसाइटोमिटर पनि छैन भन्दा हुन्छ । भरतपुर क्यान्सर अस्पतालमा रहेको फ्लोसाइटोमिटर पुरानो भएकाले भरपर्दो छैन ।

क्यान्सर कोषको प्रकार पत्ता नलागेसम्म औषधि चलाउन मिल्दैन । क्यान्सरको कोषभित्र हुने क्रोमोजोमका खराबी पत्ता लगाउने साइटोजेनेटिक मेसिन नहुँदा भारत जानुपर्ने बाध्यता छ । भारतमा रगतको नमुना जाँच गर्न २५ हजारदेखि ५० हजार रुपैयाँसम्म खर्च हुन्छ । रक्त्त क्यान्सरको प्रकार पत्ता लगाउन पनि त्यही हाराहारीमा खर्च गर्नुपर्छ । यो उपकरण नेपालमै भए पाँच हजारमै जाँच गर्न सकिने डा. विष्णुरथ गिरी बताउँछन् ।

चिकित्सकहरुका अनुसार फ्लोसाइटोमिटरलाई ५० लाखदेखि ७० लाख रुपैयाँसम्म पर्छ भने एमआरई मेसिनलाई १० करोड । तर सरकारले बालबालिकालाई लागेको सबै प्रकारको क्यान्सरको उपचार गर्ने कान्ति र भरतपुर अस्पतालमा लगानी बढाएको छैन । दुवै अस्पतालले बेड र विशेषज्ञ चिकित्सकदेखि अत्यावश्यक उपकरणसम्मको सीमितताका बीच सेवा दिइरहेका छन् ।

भरतपुर क्यान्सर अस्पतालका निर्देशक विजयचन्द्र आचार्य ९५ प्रतिशत बालबालिकाको क्यान्सर भरतपुर अस्पतालमै पहिचान भएको बताउँछन् । सीमित स्रोत साधनका बीच अस्पतालले निजीको भन्दा गुणस्तरीय सेवा दिएको उनको दाबी छ । ‘हामीकहाँ बालबालिकाको क्यान्सर पहिचान गर्न समस्या छैन’, डा. आचार्य भन्छन्, ‘रोग पहिचान भइसकेपछि उपचार गराउन नसक्ने आर्थिक अवस्था चाहीँ ठुलो समस्या भएको छ ।’

कान्ति अस्पतालका क्यान्सर रोग बिशेषज्ञ विष्णुरथ गिरी पनि अभावकाबीच निजी अस्पतालले भन्दा सस्तो र राम्रो सेवा दिएको बताउँछन् । उनी भन्छन्, ‘बालबालिकाको क्यान्सर उपचारका लागि नेपालका निजी अस्पतालहरुले ‘फलो’ गर्ने पनि कान्तिलाई नै हो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवस्थामा पनि बाल क्यान्सर रोग विशेषज्ञको एउटा पनि दरबन्दी तोकेको छैन । कान्ति अस्पतालले आन्तरिक स्रोतबाट दुई बाल क्यान्सर विशेषज्ञ, एक रेजिडेन्ट डाक्टर र नौजना नर्सको व्यवस्था गरेको छ ।

काल बनेको गरिबी

क्यान्सर रोगको उपचार गर्ने देशभरका १२ वटा अस्पताल पुगेका वार्षिक करिब ७५० बालबालिकामध्ये २५० बालबालिकाले मात्र पुरै उपचार गराउँछन् । नियमित र पुर्ण उपचार लिन सके सबै बालबालिकालाई बचाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिका अस्पताल नपुग्ने र पुगेकामध्ये पनि ५० प्रतिशतले कमजोर आर्थिक अवस्थाका कारण पुरै उपचार नगर्ने अनुमान छ ।

भरतपुर अस्पतालमा क्यान्सर पहिचान हुने करिब १०० बालबालिकामध्ये ६० प्रतिशतले पुरा उपचार पाउँदैनन् । नेपालमा क्यान्सर रोग पत्ता लागेका बालबालिकामध्ये ३० प्रतिशतले मात्र पुरा उपचार पाउने अवस्था छ । रोग पहिचान भएर उपचार नगर्नु वा उपचार छाडेर घर फर्कनुको एक मात्र कारण हो— गरिबी ।

अन्य रोगभन्दा क्यान्सरको उपचार महंगो हुन्छ । उपचारको क्रममा करिब पाँच वर्ष अस्पताल गइराख्नुपर्छ । उपचार प्रकिया लामो र खानुपर्ने औषधि महंगो हुने भएकाले नेपालमा गरिब परिवारका लागि क्यान्सर रोग रोक्न नसकिने काल साबित हुने गरेको छ ।

कान्ति बाल र भरतपुर अस्पतालमा ब्लड टेस्ट, बेड चार्ज, एक्स–रे, युरिन र सिटी स्क्यान सेवा निःशुल्क छ । भर्ना भएका १५ वर्ष मुनिका बिरामीलाई अस्पतालले नै खानाको व्यावस्था गर्छ । अस्पतालको फार्मेसीमा उपलब्ध औषधि किन्न सरकारले प्रतिबिरामी एकलाख रुपैयाँ छुट्याएको छ ।

सरकारी अस्पतालमा यति सहुलियत हुदाँहुँदै पनि गरिब परिवारले उपचार खर्च धान्न सक्दैनन् । महंगा औषधि किन्न र विभिन्न जाँचका लागि भारत पठाउनुपर्ने अवस्थाले क्यान्सर पहिचान भएकामध्ये १० प्रतिशत बालबालिकाका अभिभावकलाई आफ्नो बिरामी सन्तानको माया मार्न बाध्य पारेको छ ।

कान्ति बाल अस्पतालमा चार–पाँचलाख रुपैयाँमा गर्ने उपचार काठमाडौंका निजी अस्पतालहरुले १५–२५ लाख रुपैयाँमा गर्छन् ।

बिरामीको प्रकृतिअनुसार उपचार खर्च घटबढ हुन्छ । क्यान्सर धेरै फैलिइसकेपछि मात्र आफ्ना सन्तानलाई अस्पताल पुर्याउन सक्ने गरिब अविभावक नेपालमा नेता र धनिमानीको मात्र भाग्यमा महंगो उपचार लेखिएको छ भनेर चित्त बुझाउन विवश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment