+

चोटलाई जित्दै विश्वकै सर्वोत्कृष्ट बनेका डेम्बेले

२०८२ असोज  ७ गते २१:४० २०८२ असोज ७ गते २१:४०
चोटलाई जित्दै विश्वकै सर्वोत्कृष्ट बनेका डेम्बेले

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रेन्च फुटबलर उसमान डेम्बेलेले पहिलो पटक बालोन डे’ओर अवार्ड जितेर विश्वकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
  • डेम्बेलेले पेरिस सेन्ट जर्मेनबाट खेल्दै २०२३ मा युइएफए च्याम्पियन्स लिग, फ्रेन्च लिग र कपसहित ट्रेबल जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
  • डेम्बेलेले बार्सिलोनाबाट पीएसजीमा सरेपछि आफ्नो करियरमा सुधार गर्दै २०२४-२५ सिजनमा फ्रेन्च लिगको उत्कृष्ट खेलाडी बनेका छन्।

७ असोज, काठमाडौं । फ्रेन्च फुटबलर उसमान डेम्बेलेले विश्वकै प्रतिष्ठित बालोन डे’ओर अवार्ड जितेर आफू विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको प्रमाणित गरेका छन् ।

आफ्नै राष्ट्रको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका डेम्बेलेले पहिलो पटक उक्त अवार्ड जितेका थिए । सोमबार राति पेरिसमा भएको अवार्ड समारोहमा उनले स्पेन तथा बार्सिलोनाका युवा स्टार लामिन यामाललाई पछि परे ।

यामल दोस्रो भए । यद्यपी यामलले लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडी घोषित हुँदै कोपा ट्रफी जिते ।

२८ वर्षीय फ्रेन्च फुटबलर डेम्बेलेले गत सिजन पीएसजीलाई युइएफए च्याम्पियन्स लिग, लिग उपाधि र फ्रेन्च कपसहित ट्रेबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जहाँ उनले ५२ खेल जित्दै ३५ गोल गरे भने १४ असिस्ट समेत गरे ।

पीएसजीबाट च्याम्पियन्स लिग जितेपछि

उनले फ्रेन्च लिग वानमा २१ गोल गर्दै संयुक्त रुपमा सर्वाधिक गोलकर्ता समेत बनेका थिए भने लिग वान र च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।

यस्तै डेम्बेलेले पीएसजीलाई फिफा क्लब विश्वकपको फाइनलमा पुर्‍याउन समेत मदतमा गरेका थिए । न्यु जर्सीमा भएको क्लब विश्वकप फाइनलमा भने पीएसजी चेल्सीसँग पराजित भएको थियो ।

अवार्ड प्राप्त गरेपछि डेम्बेले निकै भावुक बने । उनले यसका लागि धेरै मिहिनेत गरेका थिए ।

डेम्बेलेले बालोन डे’ओरका पूर्व विजेता ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होबाट अवार्ड ग्रहण गरे । त्यसपछि उनले आफ्नो आँशु थाम्न सकेनन् भने आफ्नी आमालाई पनि स्टेजमै बोलाए ।

उनलाई थाहा थियो कि आफू यो स्थानसम्म आइपुग्न उनको आमाको साथ र प्रेरणा कति थियो भनेर ।

‘यो ट्रफी जित्नु अविश्वसनीय छ’ उनले फ्रेन्च भाषामै भने, ‘मैले टोलीका लागि मिहिनेत गरेर पीएसजीलाई पहिलो च्याम्पियन्स लिग जित्नका लागि सहयोग गरेँ । त्यसपछि बालोन डे’ओर जस्तो व्यक्तिगत ट्रफी जित्नु साँच्चिकै असाधारण अनुभव हो ।’

उनले यस्तो ट्रफी जित्नु सहज नभएको समेत बताए । ‘म अलि तनावमा छु, यो ट्रफी जित्नु सजिलो होइन, र यो पुरस्कार मलाई फुटबलका लेजेण्ड रोनाल्डिन्होले प्रदान गर्नु असाधारण अनुभव हो’ डेम्बेलेले भने ।

‘म पिएसजीलाई धन्यवाद दिन चाहन्छु जसले २०२३ मा मलाई ल्यायो । यो एक अद्भुत परिवार हो । अध्यक्ष नासेर (अल-खेलाइफी) मेरो लागि बुबा सरह हुनुहुन्छ । म सम्पूर्ण स्टाफ र प्रशिक्षकलाई पनि धन्यवाद दिन चाहन्छु, जसले मलाई असाधारण सहयोग गर्नुभयो । उहाँ पनि मेरो लागि बाबु सरह हुनुहुन्छ– र मेरा सबै सहकर्मी खेलाडीहरुलाई धन्यवाद ।’

डेम्बेलेल आफ्नो महानता पनि प्रस्तुत गरे । उनले यो व्यक्तिगत अवार्ड भएपनि सबै यसको हकदार भएको बताए ।

‘हामीले सँगै लगभग सबै चीज जितेका छौँ । तपाईंहरूले मलाई राम्रो र कठिन दुवै समयमा समर्थन गर्नुभयो । यो व्यक्तिगत ट्रफी वास्तवमा सम्पूर्ण टिमले सामूहिक रूपमा जितेको हो ।’

डेम्बेलेल बालोन डे’ओर अवार्ड जित्ने छैटौं फ्रेन्च खेलाडी हुन् । यसअघि फ्रान्सका रेमोन्ड कोपा, मिचेल प्लाटिनी, जिन पिएरे पापिन, जिनेदिन जिदान र करिम बेन्जामाले यो अवार्ड जितेका थिए । २१औं शताब्दीमा भने यो अवार्ड जित्ने डेम्बेले दोस्रो खेलाडी हुन् ।

फ्रान्स फुटबल म्यागाजिनले हरेक वर्ष प्रदान गर्ने बालोन डे’ओर अवार्ड गत सिजन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ ।

रेन्स देखि पीएसजीसम्म डेम्बेलेको यात्रा

विश्वकै सर्वटोत्कृष्ट खेलाडी बनेका डेम्बेलेको फुटबल यात्रा भने उतारचढापवूर्ण छ ।

सन् १९९७ मा फ्रान्सको भर्नोनमा जन्मेका डेम्बेले सन् २००४ मा माडेलेइन एभ्रेक्सबाट युथ करियर सुरु गरेका थिए । सन् २०१० देखि २०१५ सम्म रेन्समा युथ करियर बिताएका उनले रेन्सको दोस्रो टिमबाट पनि खेले ।

यस्तै २०१५ देखि २०१६ सम्म उनले रेन्सको सिनियर टिमबाट खेले । सन् २०१६ मा जर्मन क्लब बवरुसिया डर्टमण्ड पुगेका उनले त्यहाँ एक सिजन बिताए । डर्टमण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि डेम्बेलेलाई धेरै क्लबले नजर लगाए । तर सन् २०१७ मा स्पानिस क्लब बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गर्‍यो । बार्सिलोना पुगेपछि भने उनको करियरले उतारचढाव बेहोर्‍यो ।

बार्सिलोनाले उनलाई १३५.५ मिलियन युरोमा अनुब्नध गरेको थियो । त्यसबेला उनी दोस्रो महँगा खेलाडी बनेका थिए । धेरैले उनीमाथि शंका व्यक्त गरेका थिए । चोटसँग जुध्दै उनले बार्सिलोनामा निकै संघर्ष गरे ।

सन् २०२१ मा बार्सिलोनाका तत्कालिन प्रशिक्षक जाभीले भने यी खेलाडीमाथि ठूलो सम्भावना देखेका थिए । ‘जब राम्रोसँग प्रयोग गरिन्छ, उनी (डेम्बेले) विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्न सक्छन्’ जाभीले चार वर्षअघि दिएको त्यो बोल्ड स्टेटमेन्ट अहिले वास्तविक बनेको छ ।

तर बार्सिलोनामा उनलाई चोटले धेरै सतायो । रेन्स र डर्टमण्डमा इन्जुरी फ्री रहेका डेम्बेलेलाई क्याम्प नोउमा रहँदा १४ पटक मसल इन्जुरीले सतायो जसले गर्दा उनी ७८४ दिन मैदान बाहिर रहनुपर्‍यो ।

बार्सिलोनामा उतारचढापवूर्ण यात्रापछि सन् २०२३ मा डेम्बेले आफ्नै देशको क्लब पीएसजीमा पुगे । यो मुभ नै उनको लागि टर्निङ प्वाइन्ट बन्यो । पीएसजीले उनलाई ४३.५ मिलयन पाउण्डमै अनुबन्ध गरेको थियो ।

पीएसजीमा पहिलो सिजन उनले लिग र कपसहित डोमेस्टिक ट्रेबल जिते पहिलो सिजन उनले लिगमा २६ खेल खेल्दा जम्मा ३ गोल मात्र गरेका थिए । पहिलो सिजन उनले पीएसजीमा कूल ६ गोल र १४ असिस्ट मात्र गरे ।

त्यस समयमा फ्रेन्च स्टार केलिएन एमबाप्पे पीएसजीमा मुख्य खेलाडी थिए । डेम्बेले क्लबका कीर्तिमानी गोलकर्ता एमबाप्पे भन्दा धेरै पछि थिए । एमबाप्पेले पीएजसीका लागि सबैखाले प्रतियोगितामा गरी ४४ गोल गरे । जुन उनको लागि पीएसजीमा सबै भन्दा बेस्ट सिजन रह्यो ।

एमबाप्पे रियल मड्रिड लागेपछि पीएसजीका लागि नयाँ लिडर आवश्यक थियो । त्यसमा डेम्बेले सिधा अघि आए । त्यसले काम पनि गर्‍यो । ५१ गोलका लागि डेम्बेले संलग्न भए । यो आँकडा उनको यो अघिको उत्कृष्ट सिजनको दोब्बर भन्दा बढी थियो ।

२०२४-२५ को सिजन भने उनका लागि उत्कृष्ट सावित भयो । उनले पीएजसीबाट ट्रेबल उपाधि सहित व्यक्तिगत अवार्डहरु समेत जिते । जहा उनले २९ खेलमा २१ गोल गरे । उनी मासोन ग्रीनउडसँगै संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बने । फ्रेन्च लिगको उत्कृष्ट खेलाडी बने ।

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन योगदान गरे । पीएसजीले च्याम्पियन्स लिग फाइनलमा इन्टरलाई ५-० ले पराजित गर्दा डेम्बेलेले दुई असिस्ट गरेका थिए । च्याम्पियन्स लिगमा उनले १५ खेल खेल्दै ८ गोल र ६ असिस्ट गरे ।

गत समरमा पीएजसीका प्रशिक्षक लुइस एनरिकेले एमबाप्पे विना नै डेम्बेलेलबाट धेरै गोलको अपेक्षा रहेको भनेर डेम्बेलेलाई भनेका थिए ।

२०२३-२४ को सिजन एमबाप्पे सेन्ट्रलमा खेल्दा डेम्बेलेल राइड साइडबाट खेलेका थिए । गत सिजन भने उनले धेरै समय फल्स नाइन भूमिकामा खेले । जहाँ उनलाई खेल्न स्वतन्त्र थियो । उनी आफू इन्जोए गरेर खेल्थे । नयाँ खेलाडीलाई नयाँ भूमिका थियो ।

नयाँ सिजन (यस सिजन )मा उनले युइएफए सुपर कप जितिसकेका छन् । यस सिजन फ्रेन्च लिगमा उनले टुलुज विरुद्ध ६-३ को जितमा पेनाल्टीबाट दुई गोल गरेका थिए ।

तर सेप्टेम्बरमा अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा उनी घाइते भए । उनी ६ साता मैदान बाहिर रहनेछन् । यही समयमा उनले बालोन डे’ओर अवार्ड जिते । उनको टिम पीएसजी भने फ्रेन्च लिगमा मार्सेसँग १-० ले स्तब्ध हुँदै सिजनको पहिलो हार बेहोर्न बाध्य भयो ।

तर डेम्बेले विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । टिमबाट त उनले फिफा विश्वकप देखि युइएफए च्याम्पियन लिगसम्म धेरै जितिसकेका छन् ।

-अन्तर्राष्ट्रिय मिडियाहरूको सहयोगमा

ओस्मान डेम्बेले बालोन डि'ओर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय