Comments Add Comment

प्रधानमन्त्रीले भने- म ठीक छु, शुक्रबार फर्किन्छु

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका छन् । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेका छन् ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । ओलीले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गरेका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिँदै उनले भने- उहाँले हिँजो साँझ आफैंले मलाई फोन गर्नुभएको थियो । मैले उहाँलाई कस्तो छ भनेर सोध्दा आफू एकदम ठीक छु र यसअघिको निर्धारित कार्यक्रम अनुसार नै २० गते फर्किन्छु भन्नुभएको छ । उहाँको बोली सुन्दा पनि तन्दुरुस्त र उत्साहित हुनुहुन्छ ।

आफू र प्रधानमन्त्रीबीच संसदीय काम कारवाहीकै बारेमा बढी कुराकानी भएको नेम्वाङले बताए । ‘उहाँले विधेयकको बारेमा सरोकार देखाउनुभयो । सत्य निरुपण तथा मेलिमिलाप विधेयकको बारेमा जानकारी माग्नुभयो, मैले सबै प्रक्रिया सहमतिमा भइरहेको जानकारी गराएँ,’ नेम्वाङले अनलाइनखबरसँग भने ।

विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको मस्यौदा यसअघि प्रधानमन्त्रीसहित नेकपा र कांग्रेस नेताहरुबीचको सहमतिअनुसार नै अघि बढिरहेको जानकारी आफूले गराएको उनले बताए । अन्य विधेयकहरु पनि सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइएको र कुनै चिन्ता नलिन आफूले प्रधानमन्त्रीलाई भनेको नेम्वाङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment