Comments Add Comment

नेपालका शिक्षित र धनी परिवारका बच्चामा ‘कुपोषणको दोहोरो भार’

यस्ता छन् कारण र समाधानका उपाय

१७ भदौ, काठमाडौं । सामान्यतया सबै कुपोषणजन्य समस्याहरू उच्च शैक्षिक र आर्थिक स्तर भएका परिवारमा कम देखिने गर्दछन् । तर विभिन्न अध्ययनहरूका अनुसार केही विशेष समस्यामा यो नियम लागू हुँदैन ।

नेपाललगायतका चार देशहरूमा हालसालै गरिएको एक अध्ययनअनुसार ‘पारिवारिक स्तरमा कुपोषणको दोहोरो भार’ (डबल बर्डन अफ मल्न्युट्रिसन याट् हाउसहोल्ड लेभल) को उपस्थिति सामान्य नियमले व्याख्या गरेभन्दा ठीक विपरीत छ । अर्थात् : कुपोषणको दोहोरो भारबाट अशिक्षित र गरिबभन्दा शिक्षित र धनी परिवार बढी पीडित छन् ।

नेपाल, बंगलादेश, पाकिस्तान र म्यानमारमा गरिएको अध्ययनको निष्कर्ष यो छ कि कुपोषणको दोहोरो भारको उपस्थिति ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बलियो छ  । भनिरहनु नपर्ला, सहरी क्षेत्र भनेको शिक्षित र धनीले बसोबासका लागि रोज्ने क्षेत्र हो । अझ एक कदम अगाडि बढेर यस अध्ययन प्रतिवेदनले नेपालमा आमाहरूले माध्यमिक शिक्षा प्राप्त गर्नुलाई ‘जोखिम’का रूपमा लिएको छ ।

‘दोहोरो भार’ अर्थात् आमाको तौल बढी, बच्चामा कुपोषण

तीन वर्षअगाडि सरकार र केही दातृ निकाय मिलेर गरेको राष्ट्रिय जनसांखिक स्वास्थ्य सर्वेक्षणका अनुसार कम शिक्षित आमाहरूबाट जन्मने बालबालिका र कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मने बालबालिकामा, अन्य बालबालिकामा भन्दा पुड्कोपनको समस्या बढी देखिन्छ । सर्वेक्षणका अनुसार देशभरका ‘अशिक्षित’ आमाहरूबाट जन्मिएका पाँच वर्षमुनिका बालबालिकामध्ये ४६ प्रतिशतको उचाइ उनीहरूको उमेरका अनुपातमा कम थियो भने कम्तीमा एसएलसी पास गरेका आमाहरूले जन्माएका बच्चाहरूमा यो अनुपात २३ प्रतिशत मात्र थियो ।

त्यसैगरी सर्वेक्षणमा सहभागी कुल परिवारलाई उनीहरूसँग भएको सम्पत्तिका आधारमा पाँच भागमा विभाजन गर्दा न्यूनतम सम्पत्ति भएका २० प्रतिशत परिवारका बालबालिकामध्ये ४९ प्रतिशत पुड्कोपनबाट पीडित रहेको पाइयो । जब कि अधिकतम सम्पत्ति भएका २० प्रतिशत परिवारका बालबालिकामा यो अनुपात १७ प्रतिशत मात्र छ ।

अध्ययन प्रतिवेदनअनुसार, ‘पारिवारिक स्तरमा कुपोषणको दोहोरो भार’ भनेको “एकै परिवारमा बढी तौल भएकी आमा र पुड्कोपन भएका बालबालिकाको सहअस्तित्व” हो, प्रतिवेदनमा भनिएको छ, “पोषण संक्रमणको क्रममा रहेका, दक्षिण एसिया तथा यसका छिमेकमा रहेका न्यून तथा मध्यम आय भएका प्रायः देशहरूमा यो जनस्वास्थ्य समस्या डरलाग्दो रूपमा देखा पर्दैछ ।”

यी देशहरूका सबैभन्दा पछिल्ला राष्ट्रिय जनसांखिक सर्वेक्षणबाट प्राप्त तथ्यांकमै टेकेर यो अध्ययन गरिएको भए पनि ती सर्वेक्षणमा समावेश हुन नसकेको पक्षलाई यसले समेटेको छ । नेपालमा सन् २०१६ मा पछिल्लो सर्वेक्षण भएको थियो भने बंगलादेश, पाकिस्तान र म्यानमारमा यस्ता सर्वेक्षण क्रमशः सन् २०१४, २०१२/१३ र २०१५/१६ मा भएका थिए ।

मुख्य कारण गुलियो, चिल्लो र कम स्तनपान

प्रतिवेदनका मूल लेखक असिबुल इस्लाम अनिकका अनुसार विभिन्न अन्तर्सम्बन्धित तत्वहरू दोहोरो भारको समस्याका कारकका रूपमा रहेका छन् । “परिवारको सामाजिक तथा आर्थिक अवस्था, जनसांखिक विशेषता, खाद्य बानी, वातावरण, सामाजिक चालचलनलगायतका तत्वहरूका कारण दोहोरो भार उत्पन्न हुन्छ,” हाल बंगलादेशको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयको जनस्वास्थ्य तथा सूचना विभागका अनुसन्धान अधिकृतका रूपमा कार्यरत अनिक भन्छन्, “यस्ता तत्वहरू देशैपिच्छे फरक हुन्छन् । हाम्रो अध्ययनको उद्देश्य नै यस्ता तत्वहरूको प्रभाव तुलना गर्नु हो ।”

एउटै परिवारमा आमा बढी तौलकी र छोराछोरी पुड्का कसरी हुन सक्छन् भन्ने प्रश्नको जवाफमा अनिक देशैपिच्छे फरकफरक सूची प्रस्तुत गर्छन् । तर समग्रमा आमाहरूले गुलियो र चिल्लो पदार्थको अत्यधिक सेवन गर्नु र सन्तानलाई स्तनपान गराउन नसक्नु मूल दुई कारण रहेको उनको ठहर छ ।

पुड्कोपन र सुकेनास लगायत कुपोषणका अधिकांश समस्याले गरिब र अशिक्षित वर्गलाई सताउने भए पनि दोहोरो भारको समस्या भने हुनेखानेमा बढी व्याप्त रहेको अध्ययनकर्ताको दाबी छ । अध्ययनमा समेटिएका चारै देशमा ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा यो समस्या बढी छ । नेपालको ग्रामीण क्षेत्रमा १.४२ प्रतिशत बालबालिकामा देखिएको यो समस्या सहरी क्षेत्रमा १.६३ प्रतिशत देखिएको छ ।

मूल अध्ययनकर्ता अनिकका अनुसार सहरी क्षेत्रका धनीमानीहरूमा यो समस्याले बढी प्रभाव पार्नुका पछाडि केही स्पष्ट कारणहरू छन् । “सायद् तपाईँले पनि देख्नुभएको होला, सहरी क्षेत्रमा बस्ने धनी परिवारका सदस्यहरूका नियमित बानीब्यहोरा कस्ता हुन्छन्,” भन्दै उनी मुख्य तीन अस्वस्थ बानीले गर्दा दोहोरो भारको समस्या बढ्दै गएको बताउँछन्, “पहिलो : उच्च मात्रामा शक्ति सञ्चय भएका प्रशोधित खानेकुरा (जस्तै : चकलेट, बर्गर, पिज्जा, फ्रेन्च फ्राइज र चिप्स) को अधिकतम सेवन, दोस्रो : शारीरिक व्यायामको अभाव, र तेस्रो : चिनी हालेर गुलियो बनाइएका पेय पदार्थ (सफ्ट ड्रिङ्क्स) को नियमित उपभोग ।”

यस्ता अभ्यासले सामान्य अवस्थामा नै शरीरमा बोसोको मात्रा बढाउँछन् भने गर्भवती र सुत्केरीहरू यस्ता क्रियाकलापमा संलग्न हुँदा अझ मोटाउँछन् किनकि धनी र शिक्षित परिवारले उनीहरूलाई पर्याप्त आराम र थप पौष्टिक खानेकुरा उपलब्ध गराउँछ ।

तर उनीहरूका बच्चाहरूले भने आफ्ना शरीरका लागि आवश्यक पौष्टिक तत्व पाउँदैनन् । अनिक प्रस्ट्याउँछन्, “सहरी क्षेत्रका धनी र शिक्षित आमाहरू घरबाहिर काम गर्ने भएकाले उनीहरूसँग आफ्ना बच्चा स्याहार्ने समय हुँदैन । आफ्ना बच्चालाई थप पौष्टिक तत्व त के, दूध खुवाउनसमेत उनीहरूलाई फुर्सद हुँदैन । त्यसैले उनीहरू अन्य स्याहारकर्तामा भर पर्छन् । बालबालिकालाई आवश्यक पोषण तत्वबारे ती स्याहारकर्ताहरूलाई पर्याप्त ज्ञान नहुन पनि सक्छ । फलतः उनीहरूमा पुड्कोपनको समस्या देखिन थाल्छ ।”

दोहोरो भारको प्रभाव नेपालमा कम

अध्ययनमा समेटिएका देशहरूमध्ये नेपालमा दोहोरो भारको प्रभाव सबभन्दा कम रहेको छ । नेपालका १.५४ प्रतिशत परिवार मात्र यसबाट पीडित छन् भने यो समस्याको सबभन्दा डरलाग्दो उपस्थिति म्यानमारमा ५.५४ प्रतिशत छ ।

सामान्य रूपमा हेर्दा यो संख्या अत्यन्त कम देखिए पनि यस समस्याले ती देशहरूको दिगो विकास लक्ष्यतर्फको यात्रामा गम्भीर प्रभाव पार्ने अध्ययनको भनाइ छ । विशेषतः संयुक्त राष्ट्रसंघले तय गरेका १७ वटा दिगो विकास लक्ष्यमध्ये दोस्रो लक्ष्य (शून्य भोकमरी)मा यसको प्रभाव रहने अध्ययनले दाबी गरेको छ । विश्व स्वास्थ्य संगठनको एक नीतिगत दस्ताबेजलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, “कुपोषणको दोहोरो भारले हरेक व्यक्ति तथा समग्र जनसंख्यालाई नै गम्भीर नकारात्मक प्रभाव पार्छ ।

उदाहरणका लागि, यसले स्वास्थ्यमा पार्ने प्रभावका कारण देशको स्वास्थ्य खर्चमा वृद्धि हुन्छ, उत्पादकत्व घट्छ र आर्थिक वृद्धिको गति पनि सुस्त हुन्छ । अन्ततः यसले दीर्घकालीन रूपमा गरिबी र अस्वस्थताको चक्रलाई निरन्तरता दिन्छ ।”

सजिलो छ समाधान

समस्याका विविध आयामलाई व्याख्या गरेपछि प्रतिवेदनमा समाधानका उपायबारे पनि सुझाव दिइएको छ । प्रतिवेदनको निष्कर्ष खण्डमा निम्न उपायलाई अपनाउन भनिएको छ : ऊर्जा ग्रहण र खपतबीचको सन्तुलनको महत्वबारे शिक्षा दिने, स्तनपानलाई प्रवर्द्धन र समर्थन गर्ने, भ्रूण र नवजात शिशुको उच्चतम विकास सुनिश्चित गर्ने, उच्चतम मातृ तथा शिशु पोषण र स्याहारमा पहुँच सुनिश्चित गर्ने, शारीरिक व्यायामका फाइदामा जोड दिँदै धनी मानिसमा चेतना जगाउने, समुचित बाल खाद्य अभ्यासका लागि पोषणका विविध मुद्दामा आम सञ्चार माध्यम मार्फत् प्रचार गर्ने र स्थानीय समुदायको सशक्तीकरण मार्फत् गरिबी घटाउने ।

अनलाइनखबरसँगको कुराकानीमा अझ मूर्त सुझावहरू प्रस्तुत गर्दै अनिक भन्छन्, “घर बाहिर काम गर्ने आमाहरूले आफ्नो कार्यसमयलाई प्रतिदिन पाँच घण्टामा सीमित गर्नुपर्छ र बच्चा पाँच वर्ष नहुन्जेल ओभरटाइम काम गर्नुहुँदैन । शिशुको जन्मदेखि पाँच वर्षको उमेर नपुगुन्जेलसम्मको अवधिमा दिइने समुचित र समायानुकूल पोषण अत्यन्त महत्वपूर्ण हुन्छ ।”

शिक्षित र धनी आमाहरूलाई उनको थप सुझाव छ, “यदि तपाई‌ं आफ्नो बच्चा स्याहार्ने जिम्मा अन्य व्यक्तिलाई दिँदै हुनुहुन्छ भने उक्त व्यक्तिलाई बालबालिकालाई दिनुपर्ने पौष्टिक तत्वबारे पर्याप्त ज्ञान रहेको सुनिश्चित गर्नुहोस् ।”

पितृसत्तात्मक र प्रतिगामीजस्तो सुनिने उनको अर्को सुझाव छ, “आमाहरूले आफ्नो भान्छाको दैनिक घरधन्दा सकेसम्म आफैँले मात्र गर्नुपर्छ ।” उनका अनुसार यसका पछाडि दुई फाइदा छन् : एकातिर उनीहरू आफ्ना बच्चाले पर्याप्त पोसिलो खाना पाएको सुनिश्चित गर्न सक्छन् भने अर्कातिर घरधन्दाले उनीहरूमा रहेको शारीरिक परिश्रमको अभाव पनि पूर्ति गर्छ ।

यद्यपि यस समस्याका अन्य आयामहरू केलाउन अनि अझ प्रभावकारी समाधान पत्ता लगाउनका लागि सम्बन्धित देशमा थप अध्ययन हुनुपर्ने उनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment