Comments Add Comment

आजका पत्रपत्रिका : राजधानीकै अस्पतालमा मिर्गौलाको धन्दा

१८ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले अस्पतालभित्रैबाट हुने मिर्गौला तस्करीबारे चिरफार गरेका छन् भने कुनैले संसद्को गाडी, सार्वजनिक जग्गा दुरुपयोग, कांग्रेसमा सुरु धार्मिक स्वतन्त्रता बहसलगायत विषय उठाएका छन् ।

अन्नपूर्णले आज ‘अस्पतालमै मिर्गौलाको धन्दा’ शीर्षक दिएर अस्पतालभित्रैबाट मिर्गौलाको तस्करी हुने गरेको तथ्य उजागर गरेको छ । समाचार अनुसार, पुल्चोकस्थित निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैंको मिर्गौला झिकेर पत्यारोपण गराएको हो ।

आफन्त बाहिरका व्यक्तिको मिर्गौला झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्नु गैरकानूनी हुने भए पनि अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको अन्नपूर्ण समाचारमा उल्लेख छ । मिर्गौला गत साउनको अन्तिम साता प्रत्यारोपण गराइएको हो ।

अन्नपूर्ण लेख्छ– चिकित्सक श्रेष्ठ मिर्गौला प्रत्यारोपणका कुशल र अनुभवी चिकित्सक मानिन्छन् । उनले हजारौं मिर्गौला बिरामीको उपचार गरिसकेका छन् । श्रेष्ठकै नेतृत्वमा गैरकानूनी ढंगले मिर्गौला निकालेर प्रत्यारोपण गरिएको छ ।’

समाचार अनुसार योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिएका थिए । तर मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला भिmिकएको हो । तर, मिर्गौला निकालिएका व्यक्ति को हुन् भन्नेबारे समाचारमा केही उल्लेख छैन ।

उपचार खोज्दै जुम्लातिर

जुम्ला देशकै विकट जिल्ला मानिन्छ । सेवा सुविधाको हिसाबले पछि रहेको भन्दै यहाँका विभिन्न समाचारहरू प्रकाशमा आइरहन्छन् ।

तर, कान्तिपुरले आज उपचारका लागि जुम्ला आकर्षक गन्तव्य भएको रोचक समाचार छापेको छ । समाचार अनुसार सुर्खेतलगायतका सुविधायुक्त ठाउँबाट जुम्ला उपचारका लागि आउने बिरामीको सख्ंया बढेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सक र पूर्वाधार थपिँदै गएपछि बिरामी बढेको समाचारमा उल्लेख छ ।

‘शिक्षण अस्पतालमा गुणस्तरीय सेवा, सस्तो सेवा, दक्ष जनशक्ति, अनुकूल वातावरणलगायत सुविधा भएपछि बिरामीहरू यतै आउन रुचाउँछन्’, कान्तिपुरले आफ्नो समाचारमा लेखेको छ ।

मिलेमतोमा दुई करोडको गुणस्तरहीन जीवनजल खरीद

सर्वसाधारणको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्नेमा सरकारले नै गुणस्तरहीन जीवनजल खरीद गरेर वितरणका लागि जिल्लातर्फ पठाइएको पाइएको छ ।

राजधानी दैनिकका अनुसार स्वास्थ्य सेवा विभागले १ करोड ७८ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका गुणस्तरहीन जीवनजल खरीद गरि वितरणका लागि जिल्ला पठाएको छ ।

विभाग आफैंले बनाएको स्पेसिफिकेसनविपरीत जीवन जल खरीद गरिएको र यसमा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको मिलेमतो रहेको राजधानीको दाबी छ ।

र, यो पनि– घुस दिने पनि अब अख्तियारको आँखामा

घुस लिनेलाई निगरानीमा राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब घुस दिनेलाई पनि निगरानी गर्न थालेको गोरखापत्रले लेखेको छ ।

समाचार अनुसार अख्तियारले दुई महिनादेखि घुस दिनेमाथि निगरानी बढाएको छ । फलस्वरुप घुस दिने सेवाग्राही धमाधम पक्राउ पर्न थालेका छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भदौ दोस्रो सातासम्म घुस दिने पाँच जना पक्राउ परेका छन् । पाँचै जनालाई आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै कारबाही अघि बढाएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment