
१८ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद सूर्यप्रसाद पाठकले केही सांसदले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व खोजेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई आराम गर्न दिऔं भनेपछि त्यसको जवाफमा नेकपा सांसद पाठकले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोज्न आग्रह गरेका हुन् ।
पाठकले थापाप्रति लक्षित गर्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेजस्तै गरी प्रधानमन्त्रीले राजीनामा दिए हुन्थ्यो भन्ने आशय प्रकट गरेको बताए । उनले धेरै मानिसलाई यो सरकार ५ वर्ष चलेमा मुलुकले फड्को मार्ने र आफ्नो दलको अस्तित्व धरापमा पर्ने चिन्ता देखिएको पनि बताए ।
‘धेरै मानिस र शक्तिलाई के लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार ५ वर्ष चल्यो भने मुलुकले फड्को मार्नेछ, त्यतिबेला अफ्ना दलहरुको अस्तित्व धरापमा पर्ने त होइन भन्ने चिन्ता छ’ उनले भने ‘मेरो आग्रह के छ भने प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोजौं ।’
सभामुखलाई प्रश्न
सांसद पाठकले सांसदहरुले संसदमा उठाएको प्रश्न सरकारका निकायले जवाफ नदिएकोमा गुनासो गरे । सांसदले जनताका प्रश्न उठाउँछन् तर त्यो आवाज सम्बन्धित निकायले सुन्दैन भन्दै उनले यस्तो कार्यशैलीले राज्यका निकायप्रति जनताको विश्वास नबढ्ने बताए ।
‘सांसदले बारम्बार बोलिरहने तर त्यस्ता प्रश्नको संबोधन नहुने हो भने त्यसले संसदीय प्रणालीलाई बलियो बनाउँछ ? म त चिन्तित छु सम्माननीय सभामुख कत्तिको चिन्तित हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया 4