Comments Add Comment

कमल थापाले भने – राजतन्त्र फाल्न ‘रअ’ को संलग्नताबारे संसदीय छानविन होस्

१९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र अन्त्य गर्न भारतीय खुफिया एजेन्सी ‘रअ’ ले नेपालका नेताहरु प्रयोग गरेको भन्ने विषयमा संसदीय छानविनको माग गरेका छन् ।

एक भारतीय पूर्वगुप्तचर प्रमुखको पुस्तकमा राजतन्त्र हटाउन कसरी माओवादी नेतृत्वलाई कन्भिन्स गरियो भन्ने उल्लेख गरेका छन् ।

राप्रपा अध्यक्ष थापाले खुफिया एजेन्सीको योजना बमोजिम मुलुकको पूर्व प्रधानमन्त्री र भविष्यमा पनि प्रम हुन सक्ने सम्मानित व्यक्तिलाई प्रयोग गरिएको भन्ने बिषय राष्ट्रिय सुरक्षा र प्रजातन्त्रको भविष्यको सन्दर्भमा अन्त्यन्त गम्भीर र संवेदनशील भएको हुँदा संसदले छानबिन समिति गठन गर्नुपर्ने बताए ।

बिहीबार भरतपुर विमानस्थलमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता लाद्नको निमित्त बाह्य शक्तिको अभिप्रेरणा र भूमिका बारम्बार पुष्टि हुदै आइरहेकोमा अहिले नयाँ ढंगबाट अत्यन्त गम्भीर र संवेदनशील विषय आएको बताए ।

उनले भने ‘राजनीतिक दल र नेताहरु प्रयोग गरेको बिषय साधारण होइन, यसबारे अब निराकरण हुनुपर्छ । जसरी अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको भूमिका रहेको भन्नेबारे अहिले त्यहाँको संसदले छानबिन गरिरहेको छ, यहाँ पनि छानबिन समिति गठन गर्नुपर्छ ।’

आगामी दिनमा हिन्दुराष्ट्रको अभियानको निमित्त पार्टीले सशक्त अभियान संचालन गर्नेसमेत थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment