Comments Add Comment

दशैंमा दुई सय नयाँ बस थपिँदै, व्यवसायीमा छैन उत्साह

१९ भदौ, काठमाडौं । यो वर्षको दशैंमा लामो दुरीका लागि करिब २ सय नयाँ बसहरु थपिने भएका छन् । थपिने बसहरुको ‘बडी’ हाल विभिन्न ग्यारेजहरुमा निर्माणाधीन छन् भने कतिपय तयार भएर सरकारसँग रुट इजाजत लिने प्रक्रियामा छन् ।

हरेक वर्ष दशैंमा लामो दुरीका सवारी साधनमा यात्रुको चाप अत्यधिक बढ्छ । यसैलाई लक्ष्यित गर्दै व्यवसायीले दशैंका लागि बसहरु थप्ने गर्छन् । सार्वजनिक सवारीसाधन सबैभन्दा धेरै किनिने समय यही हो । दशैंमा थपिने नयाँ बसहरु प्रायः काठमाडौं आउजाउ गर्नका लागि नै हुन्छन् । अन्य राजमार्गका विभिन्न शहर र ग्राहमीण रुटमा पनि केही नयाँ बसहरु आउँछन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल सबै यातायात कार्यालयबाट प्राप्त तथ्यांकलाई आधार मान्दा दशैंमा करिब २ सय बस थपिन लागेको बताउँछन् ।

विगतका दशैंहरुमा देशभर झण्डै ५ सय सार्वजनिक बस थपिन्थे । तर, यातायात व्यवसायीका अनुसार गत वर्षदेखि नै दशैंमा थपिने बसको संख्या घटेको छ ।

व्यवसायीले विगतदेखि नै दशैंमा चलाउने गरी बस किन्ने गरेका छन् । सुरुवातमै राम्रो कमाई गर्ने ध्येयले उनीहरुले यो समय रोज्ने गरेका हुन् ।
तर, अहिले व्यवसायीहरु नयाँ बस किन्न हौसिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ । उनका अनुसार यसपटक धेरै व्यवसायीहरुले बस खरिद गर्न चासो देखाएनन् ।

‘नयाँ बस नआए पनि यात्रुले सुविधा पाउँछन् । हामीसँग सवारी साधानको अभाव छैन’ सिटौला भन्छन् । उनले डेढ सयभन्दा बढि बस नथपिने दावी गरे ।

यातायात व्यवसायीहरुले यो वर्ष नयाँ बस नथपिनुमा तीन कारण औंल्याएका छन् । महासंघका अनुसार राष्ट्र बैंकले अटो ऋणको सीमा बढाउँदा त्यसको ठूलो प्रभाव सार्वजनिक यातायात विस्तारमा परेको छ ।

सार्वजनिक सवारीलाई निजी सवारीकै डालोमा हालेर एउटै नीति लिँदा समस्या भएको महासचिव सिटौलाको दाबी छ ।

यो पनि पढ्नुहोस भाडा बढाउन व्यवसायीको माग, सरकार भन्छ : दशैं-तिहार अगाडि हुँदैन

‘एउटा राम्रो बस ल्याउन ६० लाखदेखि १ करोड २५ लाखसम्म पर्न थालिसक्यो,’ सिटौला भन्छन्, ‘सार्वजनिक सवारीलाई पनि ठूलो डाउन पेमेन्टको नीति ल्याइएपछि दशैंमा नयाँ बस झिकाउन सकिएन ।’

सार्वजनिक सवारीको प्रवर्द्धनका लागि सहुलियत ब्याजदरमा ऋण व्यवस्था गर्नुपर्नेमा डाउन पेमेन्टमा ठूलो हिस्सा समावेश गर्दा लगानी गर्न नसकिएको व्यवसायी बताउँछन् । बैंकहरुले यो क्षेत्रमा लगानी गर्न चासो नदेखाएको उनीहरुको भनाइ छ ।

त्यसैगरी सबै समितिलाई कम्पनीमा लगिँदा भएको नीतिगत अन्योलले पनि बस थप्न व्यवसायीले आँट गर्न नसकेको महासंघको दावी छ । सडकको सिन्डिकेट हटे पनि त्यसअनुसार यातायात व्यवस्थापनबारे सरकारले स्पष्ट नीतिगत व्यवस्था नगर्दा साना व्यवसायीले लगानीको जोखिम उठाउन नसकेको सिटौलाले बताए ।

व्यवसायीले नयाँ बस नथप्नुमा देखाएको अर्को कारण हो, ‘सडकको दूरावस्था’ । विभिन्न सडकखण्ड विस्तारका क्रममा रहँदा सवारी र यात्रुहरुलाई ठूलो सास्ती छ । अस्तव्यस्त सडकमा करोड खर्चेर नयाँ बस हाल्न व्यवसायी उत्साहित नभएको महासचिव सिटौलाको तर्क छ ।

‘पैसा छ भने पनि सडक सम्झेर ब्यवसायी नयाँ बस खरिदको सोच त्याग्न बाध्य छन् । चलिरहेका बसले पनि खर्च बढाएका छन्,’ सिटौलाले भने, ‘सडकहरुको अवस्था नसुधारिएसम्म ठूलो संख्यामा बस थपिने अवस्था छैन ।’

सरकारले भने यातायात व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रयास भइरहेको बताएको छ । कम्पनी मोडलमा जाँदा केही अन्योल भए पनि व्यवसायीलाई सहजीकरण गर्दै व्यवस्थापनको काम सुरुआत गरिएको यातायात विभागका महानिर्देशक हमालले जानकारी दिए ।

‘यो वर्ष विगतमा जस्तो धेरै बस नथपिए पनि दशैंमा हामी जसरी पनि यात्रुलाई सहज यात्राका लागि सवारी व्यवस्थापन गर्छौं,’ हमालले भने, ‘त्यसका लागि हामी विभिन्न सरोकारवालासँग छलफलमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment