Comments Add Comment

उत्तर दक्षिण सडक निर्माणमा ढिलाइ नगर्न मुख्यमन्त्री राईको निर्देशन

१९ भदौ, विराटनगर । उत्तर–दक्षिण ६ लेन सडक निर्माणमा भएको ढिलाइमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चासो देखाएका छन् । उनले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएर सरोकारवालालाई ३ महिनाभित्र देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राईले कुनै पनि बाहनामा काम सुस्त गर्ने छुट नभएको चेतावनी समेत दिए । ‘पहिलो चरणको रानीदेखि इटहरीसम्मको ६ लेन सडकको निर्माण कार्यप्रति कोही पनि सन्तुष्ट हुने अवस्था छैन,’ मुख्यमन्त्री राईले भने, ‘हिजोका दिनमा भुक्तानीलगायतका समस्या थिए होलान्, अबका दिनमा त्यस्तो समस्या रहदैन, सबै निकायबीचको समन्वयमा चाँडो भन्दा चाँडै नतिजा निस्किने गरी काम गर्नुहोस् ।’

उनले ६ लेन सडक निर्माणमा सरकारी निकायबीचको समन्वयको अभाव देखिएकाले अबका दिनमा सरोकारवाला निकायबीच समझदारी र समन्वयमा काम हुनु पर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा ६ लेन सडक आयोजनाका प्रमुख बद्री शर्माले ६ लेन सडक निर्माणको सुरुवात विराटनगर क्षेत्रमा मात्र बनेकाले पनि ६ लेन सडक विस्तारको गति सुस्त देखिएको बताए ।

उनले २०६९ सालमा समान्य सडक चौडा गर्ने योजना अनुसार काम थालिएकाले नाली र फुटपाथ समावेश नभएको योजनालाई पछि राष्ट्रिय महत्वको ६ लेन सडक आयोजनामा रुपान्तरित गरिएकाले ठेक्का खण्ड–खण्डमा लगाइएको र बजेटपनि पर्याप्त नछुट्याइएकाले समस्या भएको जानकारी दिए ।

उनले अहिले पनि रानीदेखि इटहरीसम्मका विभिन्न खण्डमा सडकको चौडा गर्ने कुरामा एकरुपता नहुँदा स्थानीयको अबरुध रहेकाले सडक विस्तारमा समस्या हुदै आएको बताए ।

उनले अहिलेको अवस्थामा भने सडकको दुबैतर्फ ढल निर्माणसँगै फुटपाथ निर्माण गर्नसक्ने अबस्था रहेकाले अब भने कामले गति लिने बताए । आयोजना प्रमुख शर्माले ६ लेन सडक भित्र रहेका बिजुलीको पोल व्यवस्थापनका लागि आवश्यक बजेट अभावमा अहिले पनि धेरै स्थानमा बिजुलीको पोल सार्ने क्रममा समस्या रहेको बताए ।

‘सडक बिस्तारसँगै बिजुलीको पोल सार्नु पर्ने अबस्था छ, विजुलीको पोल र तारको व्यवस्थापन गर्न पर्याप्त बजेट छैन,’ उनले भने, ‘विजुलीको पोल व्यवस्था गर्न २४ करोड लाग्छ, तर बजेट १४ करोड मात्र छ ।’

६ लेन सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्स्ट्रक्सनका प्रोजेक्ट प्रमुख दीपक थिङले सडक निर्माणका क्रममा काम सकिएका क्षेत्रको भुक्तानी समयमै नपाउने समस्या रहेको बताए ।

उनले सडक विस्तार गर्न धेरै स्थान पुग्दा स्थानीयको अवरोध र समयमै बिजुलीको पोल, पानीको पाइप, टेलिफोनको तार लगायतका समस्यालाई समयमै सम्बन्धित निकायले सहयोग नगरेको गुनासो समेत गरे ।

कार्यक्रममा प्रदेश सांसद, सडक निर्माणका विभिन्न खण्डको ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि, दुहबी नगरपालिकाका मेयर देव गच्छदार, इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरी, नेपाल विद्युत प्राधिकारण, खानेपानी संस्थान, नेपाल टेलिकम लगायतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment