२० भदौ, चितवन । सरकारले चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा झण्डै एक वर्षसम्म अध्यक्ष नियुक्त गर्न सकेको छैन । गत वर्षको असोज ३ गतेबाट अध्यक्षविहीन हुँदा अस्पतालका कामकाज प्रभावित बनेका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले अध्यक्ष नहुँदा नीतिगत काम र अस्पतालका कार्यक्रम सञ्चालनमा समस्या हुने गरेको बताए । ‘काम त चलाएका छौं, तर अस्पतालकै लागि भनेर अध्यक्ष ज्यू समेत हुँदा अहिलेभन्दा धेरै काम गर्न सकिन्थ्यो की भन्ने लाग्छ,’ कार्यकारी निर्देशक डा. आचार्यले भने, ‘अध्यक्षका लागि मन्त्रालयबाट फाइल मन्त्रिपरिषद गएको सुनेको छु, तर आधिकारीक जानकारी छैन ।’
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले अध्यक्ष नियुक्त गर्ने प्रावधान छ । अघिल्ला अध्यक्ष डा. प्रकाशचन्द्र न्यौपानेले तीन वर्षे कार्यकाल पूरा गरेर विदाई भएको एक वर्ष भइसके पनि अर्को अध्यक्ष नियुक्तिको टुंगो लागेको छैन ।
अस्पताल सञ्चालक समितिमा १४ सदस्यीय रहने व्यवस्था छ । अध्यक्षसहित अन्य एक पद खाली छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अध्यक्षतामा अस्पताल सञ्चालक समितिको बैंठक बस्दै आएको छ । उनी अस्पताल बोर्डको पदेन सदस्य हुन । हरेक दुई दुई महिनामा बैठक बस्नुपर्ने नियममा उल्लेख छ ।
किन चयन हुन सकेन अध्यक्ष ?
स्वास्थ्य मन्त्रालय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा छ । स्वास्थ्यमन्त्री यादव उपयुक्त पात्रको छनौटको दबावमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत मनस्थिति बुझेर अध्यक्षको उम्मेदवार प्रस्ताव गर्नुपर्ने उनको वाध्यता छ ।
चितवन प्रचण्डको गृह जिल्ला पनि भएकाले उनले आफूले इच्छाएको व्यक्तिलाई अध्यक्ष बनाउन चाहेका छन् । प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच सहमति हुन नसक्दा अध्यक्ष चयनमा ढिलाइ भएको बताइन्छ ।
अस्पतालको नियमावलीमा एम. डी. गरेर क्यान्सर अस्पतालमा १५ वर्ष वा बाहृय अस्पतालमा २० वर्ष काम गरेको अनुभव भएका व्यक्तिमात्र अध्यक्षका लागि योग्य हुने अस्पतालको नियमावलीमा उल्लेख छ ।
को-को छन् आकांक्षी ?
अध्यक्षको दौडमा अस्पतालकै डा. विजय न्यौपानेलाई बनाउने प्रस्ताव मन्त्रालयबाट मन्त्रिपरिषदको कार्यालयमा पुगेको डा. न्यौपाने आफैंले बताए । उनी कांग्रेस पृष्ठभूमिका डाक्टर भए पनि केही समय अघि मात्रै नेकपा निकट भएका थिए । नेकपा अध्यक्ष प्रचण्डसहितको सहमतिमा मन्त्रालयबाट सिफारिस भएको चर्चा चल्ने गरेको छ ।
तर, प्रधानमन्त्री ओलीको सचिवालयले डा. न्यौपानेलाई अध्यक्ष बनाउने फाइल रोकेको बताइएको छ । डा. न्यौपानेले आफू अध्यक्ष हुने पक्कापक्की भएको बताउँछन् । ‘मन्त्रिपरिषदको निर्णय कुरेर बसेको छु’ डा. न्यौपानेले अनलाइनखबरसँग भने ‘मन्त्रिपरिषदमा फाइल पुगेको छ, मन्त्रालयबाट मेरो मात्रै नाममा टिप्पणी उठेको छ खै किन ढिला भैरहेको छ यसै भन्न सक्दिनँ ।’
नेकपाकै अर्को समूह भने डा. न्यौपानेलाई नभई डा. विदुर वस्तीलाई अध्यक्ष बनाउनुपर्ने लविइङमा छ । छ । तर, दुवै पक्षको प्रयासले अहिलेसम्म सार्थकता पाएको छैन । अस्पतालकै वरिष्ठ डाक्टरहरु विनय ठाकुर र एलएन सिंह पनि अध्यक्षका लागि योग्यता पुगेका डाक्टर मानिन्छन् ।
अस्पताल सञ्चालक समितिका पूर्वकार्यवाहक अध्यक्ष प्रेम रिमालले अस्पतालमा भ्रष्टाचार नगर्ने, भ्रष्टाचारलाई प्रश्रय नदिने बरिष्ठ चिकित्सकहरुलाई अस्पतालको अध्यक्षको जिम्मेवारी दिइनुपर्ने बताए । क्यान्सर अस्पतालमा धेरै व्यक्तिहरु कमाउने सुरमा आउने गरेको भन्दै अध्यक्ष चयनमा ध्यान दिनुपर्ने र करार सम्झौता गरेर मात्रै पठाउनुपर्ने पूर्वअध्यक्ष रिमालले बताए ।
चीन सरकारको सहयोगमा निर्माण भएको क्यान्सर अस्पतालमा नेपालसहित भारतबाट समेत विरामीहरु उपचारका लागि आउने गर्दछन् । विगतमा राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बनेको अस्पतालले पछिल्ला वर्षहरुमा भने केही गति लिएको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4