Comments Add Comment

क्यान्सरबाट आतंकित होइन, सतर्क हुनुपर्छ : डा. उज्वल चालिसे

क्यान्सर किन लाग्छ ? कसलाई लाग्छ ? कसरी लाग्छ ? क्यान्सर लागेपछि उपचार सभव छ ? यी प्रश्नहरुले हरबखत हामीलाई लखेटिरहन्छ । हामी अक्सर भयभित रहन्छौं, कतै मलाई क्यान्सर त भएको छैन ?

वास्तवमा क्यान्सरप्रति किन हामी यति धेरै आतंकित छौं ? के क्यान्सर प्राणघातक नै हो ? क्यान्सर लागेपछि उपचार कति सम्भव छ ? यिनै सामान्य, तर हरेक मान्छेका मनमा उठिरहने प्रश्नको उत्तर खोज्ने प्रयास हामीले भक्तपुर क्यान्सर अस्पतालमा ‘रेडिएसन अन्कोलोजी’ विभागका प्रमुख डा. उज्वल चालिसेमार्फत् गरेका छौं ।

क्यान्सर साँच्चै भयानक रोग नै हो ?

क्यान्सरसँग आतंकित हुनुपर्दैन । तर, सतर्क हुनुपर्छ । सचेत हुनुपर्छ । क्यान्सर सामान्य रोगचाहिँ होइन । त्यसो भन्दैमा यसबाट आतंकित भएर बस्नुको औचित्य छैन । बरु आफूलाई क्यान्सर छ, छैन भनेर परीक्षण गर्ने, क्यान्सर निम्त्याउने आहार–बिहार त्याग्ने, स्वस्थ र सक्रिय जीवनशैली अपनाउने हो ।

सबैले बुझ्ने भाषामा भनिदिनुहोस् त खासमा क्यान्सर के हो ?

खासमा क्यान्सर आम भाषा हो, सर्वसाधरणले बोल्ने । क्यान्सरको संज्ञा ‘गंगटो’ भन्ने हो । गंगटोले च्यापेपछि छाड्दैन नि, त्यसैगरी क्यान्सरले पनि छाड्दैन भनेर बुझ्नका लागि यो भाषा प्रयोग गरिएको हो । क्यान्सरलाई हामी चिकित्सकको भाषामा ‘म्यालिग्नेन्ट डिजिज’ भन्छौं ।

क्यान्सर हुनु भनेको के हो त ? यसलाई सरल रुपमा बुझौं । हाम्रो शरीरमा अनगिन्ती कोष हुन्छन् । ति कोषहरुको निर्माण हुने, विकास हुने र त्यो मर्ने एउटा प्रक्रिया चलिरहेको हुन्छ । त्यही प्रक्रियामा गडबडी आएर कुनै ठाउँमा चाहिँ कोषहरु बढेको बढ्यै हुने वा त्यसको प्रक्रिया अस्वाभाविक हुनुलाई नै क्यान्सर भन्ने हो ।

के क्यान्सर लागेपछि छाड्दै–छाड्दैन ? क्यान्सर लाग्नु नै जीवनको अन्त्य हो ?

एक हिसाबले हो पनि । क्यान्सरले गाँजिसकेपछि त्यसबाट उम्कन निकै गाह्रो छ । तर, क्यान्सरको सबै अवस्था एकै किसिमको हुँदैन । त्यसैले शरीरको कुन भागमा भएको क्यान्सर हो, कसरी विकास भएको हो, कुन चरणमा पुगेको हो भन्ने कुराले नै धेरै कुरा निर्धारण गर्छ । कतिपय क्यान्सरको उपचार त गर्न सकिन्छ, तर निर्मूल गर्न सकिँदैन । उपचार गर्ने भनेको रोगीलाई थप पीडा नहोस् भनेर हो ।

यद्यपि कतिपय क्यान्सर यस्तो हुन्छ, जो सामान्य रोग जस्तै हुन्छ । सामान्य शल्यक्रियाबाटै उक्त क्यान्सर पूर्णत निर्मूल बनाउन सकिन्छ । यस किसिमको क्यान्सरको उपचारपछि ७–८ दिनमै मान्छे सामान्य दिनचर्यामा फर्कन सक्छ । जस्तो कि पित्त थैली झिकेर फ्याकेजस्तै हो ।

कुनै क्यान्सर शरीरको निश्चित भागमा हुन्छ र त्यो तीव्र रुपमा फैलिएको हुँदैन । यस्तो क्यान्सरको उपचार सजिलो हुन्छ र रोगी पूर्णतः निको हुन्छन् ।

कतिपय क्यान्सर यस्तो पनि हुन्छ जसलाई खास उपचारको जरुरत पर्दैन । शरीरको कुनै भागमा रहेको त्यस्ता क्यान्सरले शरीरका अरु भागलाई प्रभावित बनाउँदैन । त्यस्ता क्यान्सर जीवनभर रहेपनि मान्छे सामान्य नै हुन्छन् ।

क्यान्सर कहाँ, कसरी र कति फैलिएको छ भन्ने कुरामा नै यी सबै कुरा निर्भर रहन्छ ।

हामी क्यान्सर लाग्दै नलागोस् । उपचार पनि गराउन नपरोस् भनेर सोच्छौं । क्यान्सरबाट सतर्क कसरी हुने ? यसको आम लक्षण के हो ?

क्यान्सरको लक्षण पर्खनु नै ठूलो गल्ती हो । जतिबेला हामी लक्षण हेरेर त्यसको उपचार थाल्छौं, ढिला भइसकेको हुन्छ ।

आफूलाई क्यान्सर छ, छैन भनेर परीक्षण गर्नका लागि कुनै लक्षण त देखिनुपर्‍यो नि, सामान्य अवस्थामा पनि परीक्षण गर्नुपर्छ र ?

सामान्य अवस्थामा नै क्यान्सरको परीक्षण गर्नुपर्छ । यसका लागि कुनै क्यान्सर अस्पताल पुग्नुपर्छ भन्ने छैन । स्क्रिनिङबाटै पनि क्यान्सर छ वा छैन भन्ने सामान्य संकेत मिल्न सक्छ । जस्तो फोक्सोको भिडियो एक्स रे गर्दा त्यहाँ क्यान्सर छ/छैन भन्ने सामान्य संकेत मिल्छ । प्याप स्मियर गर्दा पाठेघरको मुखमा क्यान्सर छ, छैन सामान्य संकेत पाउन सकिन्छ । स्तनमा छामेर पनि क्यान्सर लागे–नलागेको सामान्य संकेत पाइन्छ ।

यसरी सामान्य जाँच गर्दा कुनै संकेत मिलेमा थप परीक्षणका लागि क्यान्सर अस्पताल पुग्न सकिन्छ । ती संकेतकै आधारमा हामीले थप वा विशेष परीक्षण गरेर हेर्छाैं र त्यो क्यान्सर हो वा होइन भन्ने टुंगो लगाउँछौं ।

यस चरणमा नै क्यान्सर हो भन्ने थाहा भयो भने उपचार संभव हुन्छ । सजिलो पनि । कतिपय क्यान्सर अत्यन्तै ढिलो विकास भइरहेको हुन्छ । जस्तो पाठेघरको मुखमा क्यान्सर विकास हुने क्रम ८–१० वर्षअघिदेखि नै हुन्छ । यदि ८–१० वर्ष अघि नै पाठेघरको मुखमा क्यान्सर हुने लक्षण देखियो है भन्ने थाहा भएमा सम्पूर्ण उपचार संभव हुन्छ ।

जस्तो सामान्य लक्षण केही हुनसक्छ, जसले आफूलाई क्यान्सर लागेको छ भन्ने भेउ मिल्छ ?

मूलतः खराब आहार विहार क्यान्सरको कारक मानिएको छ । त्यससँगै हाम्रो पर्यावरण, जीवनशैली आदि पनि क्यान्सरको कारक हुन् । कतिपयलाई भने यसै पनि क्यान्सर हुन्छ ।

क्यान्सर एकै किसिमको नहुने भएकाले यसको लक्षण यही नै हुन्छ भन्न सकिँदैन । जस्तो फोक्सोको क्यान्सरको लक्षण अलग हुन्छ, पेटको अलग । मिर्गौलाको अलग हुन्छ, पाठेघरको अलग ।

कतिपयलाई लक्षण देखापर्छ, कतिलाई लक्षण देखा नपर्दै क्यान्सर लागिसकेको हुन्छ । जस्तो एउटा व्यक्तिमा क्यान्सरको कुनै संकेत देखिँदैन, तर परीक्षण गर्दा उनमा क्यान्सर भइसकेको हुनसक्छ ।

अर्को कुरा क्यान्सरको लक्षण अरु थुप्रै रोगसँग मिल्दोजुल्दो पनि हुन्छ । जस्तो निरन्तर खोकी लाग्यो भन्दैमा तपाईंलाई फोक्सोको क्यान्सर छ भनेर भन्न सकिदैन । अरु टिबी वा केही कारणले पनि खोकी लागेको हुनसक्छ ।

भनेपछि लक्षण पर्खेर वा हेरेर क्यान्सर भए/नभएको टुंगो लाग्दैन ?

पहिलो कुरा त लक्षण पर्खने नै होइन । दोस्रो कुरा, लक्षणकै आधारमा क्यान्सर लागेको भन्ने पनि हुँदैन । त्यसैले क्यान्सर लाग्नसक्छ भन्ने कुरामा सधैं सतर्क रहनुपर्छ, सावधान रहनुपर्छ ।

तर, हाम्रो प्रवृत्ति के छ भने रोगले झड्का दिएपछि मात्र अस्पताल पुग्ने । अझ धेरैजसो त रोगले थलिएपछि बल्ल अस्पताल जानुपर्छ भन्ने सोच्छन् ।

हो, यही प्रवृत्ति गलत छ । यद्यपि यस किसिमको प्रवृत्ति किन पनि विकास भएको छ भने हामीसँग स्वास्थ्य सचेतना छैन । स्वास्थ्यप्रति हामी चिन्तित त छौं, तर सचेत छैनौं, सजग छैनौं । यसो हुनुमा हामीकहाँ स्वास्थ्यको पहुँच छैन । सर्वसुलभ छैन । सामान्य अवस्थामा पनि स्वास्थ्य परीक्षण गराउने प्रचलन छैन ।

मुख्य कुरा, जनचेतनाको कमी छ । स्वास्थ्य जागरणको अभाव छ । दोस्रो कुरा, स्वास्थ्य सेवा सहज छैन । यही दुई कारणले धेरैजसो रोग पालेर बसेका छन् ।

कस्तो अवस्थामा क्यान्सरका रोगी अस्पताल आइपुग्छन् ? रोगले थलिएपछि वा रोगको संकेत देखेपछि ?

धेरैजसो त रोग लागिसकेपछि आउने हो । कतिपय रोगको संकेत देखेर नै आउने गरेका छन् । पछिल्लो समय आएकाहरु रोगको संकेत देखेपछि नै हो, क्यान्सर हो वा होइन भन्नका लागि ।

आफूलाई क्यान्सर पो भयो कि भनेर जाँच गर्न आउनेहरुको आशंका सही भएको छ ?

आफूलाई क्यान्सर भएको अनुमान गरेर आउनेहरुमध्ये धेरैजसोको परीक्षणपछि क्यान्सर नभएको देखिएको छ । क्यान्सर नभएपछि उनीहरु ढुक्क त भए । जाँच गराउनु आए । तर, यसका लागि एउटा संयन्त्र चाहि हुनुपर्छ । क्यान्सर लागेको छ, छैन भनी परीक्षण गराउन आउनेदेखि क्यान्सरकै रोगीहरु एकै ठाउँमा राखेर हेर्नुपर्दा त्यति व्यवस्थित हुँदैन । सामान्य क्यान्सरको परीक्षण सर्वसुलभ हुनुपर्छ । सबैतिर हुनुपर्छ । त्यसो भएमा क्यान्सर अस्पतालमा परीक्षण मात्र गराउन आउनेहरुको भिड लाग्दैन र वास्तविक क्यान्सर पीडितहरुले अरु सहज रुपमा उपचार पाउँछन् ।

आफूलाई क्यान्सर भयो कि भन्नेहरुको मनोविज्ञान कस्तो पाउनुहुन्छ ?

कतिपय सचेत भएर आएका हुन् । कतिपयलाई भने मनको बाघले खाएको हो । उनीहरुलाई क्यान्सर छैन भन्दा पनि पत्याउँदैनन् । एक जना चिकित्सकको विश्वास नलागेर अरु चिकित्सकलाई पनि भेट्न पुग्छन् ।

परीक्षणपछि क्यान्सर भएको थाहा पाएपछि रोगीको मनोदशा कस्तो हुन्छ ?

क्यान्सर लागेको थाहा पाएपछि एक हिसाबले विक्षिप्त हुने नै भए । तर, कतिपयले चाहिँ पत्याउँदैनन् । एक हप्ता, दुई हप्तासम्म विश्वासै गर्दैनन् । पछि नियमित उपचारमा आउन थालेपछि मात्र आफूलाई क्यान्सर छ भन्ने स्विकार्छन् ।

क्यान्सर किन लाग्ने रहेछ ? कसलाई क्यान्सरको जोखिम बढी छ ?

यसको ठ्याक्कै उत्तर यही हो भन्ने हुँदैन । विभिन्न कारणले क्यान्सर लाग्छ । कसैलाई चुरोट पिएर फोक्सोको क्यान्सर लाग्छ भने कसैलाईं काठमाडौंको धूलोले । कसैलाई खराब खानपानले क्यान्सर लाग्छ, कसैलाई वंशाणुगत हिसाबले ।

मूलतः खराब आहार विहार क्यान्सरको कारक मानिएको छ । त्यससँगै हाम्रो पर्यावरण, जीवनशैली आदि पनि क्यान्सरको कारक हुन् । कतिपयलाई भने यसै पनि क्यान्सर हुन्छ । उनीहरुको शरीरको बनावटमा भर पर्छ । कतिपयलाई वंशाणुगत क्यान्सर हुन्छ ।

यदि आफ्ना सन्तानमा तीन जनाभन्दा बढी खासगरी बुवाआमा, हजुरबा, हजुरआमा वा कसैलाई क्यान्सर छ भने उनका सन्तानले अनिवार्य रुपमा क्यान्सरको जाँच गराइरहनु पर्छ ।

हामीकहाँ क्यान्सर लागिसकेपछि उपचार गर्न कति सहज छ ? उपचार कति प्रभावकारी छ ?

क्यान्सरको उपचार भनेजस्तै सहज छैन । सीमित अस्पताल छन् । यिनै अस्पतालले भरथेग गरिरहनु परेको छ । हामीले सम्भव भएसम्म राम्रै उपचार गराइरहेका छौं, उपलब्ध स्रोत र साधनले भ्याएसम्म ।

कतिपय क्यान्सरको उपचार गर्न विदेश जान्छन्, नेपालको उपचारमा विश्वास नभएर हो ?

सक्नेहरु वा भनौं खर्च गर्ने सामर्थ्य भएकाहरु विदेश जान्छन् । किनभने क्यान्सर उपचारका अत्याधुनिक उपकरण, उन्नत उपचार पद्धति भएकाले । हामीकहाँ त्यतिका उपकरण र उपचार पद्धति अझै उपलब्ध नभएकाले हो ।

मनिषा कोइराला वा कतिपय बलिउडकर्मी नै क्यान्सरको उपचारपछि सामान्य अवस्थामा फर्केको पाइन्छ, के उनीहरुले अत्याधुनिक उपचार गराएकाले हो ?

हो, अहिले क्यान्सर उपचारका लागि निकै उन्नत प्रणाली र प्रविधि छ । खर्च गर्न सक्नेहरुले ती उपचार अपनाउन सक्छन् ।

कुनै तथ्यांक होला, हामीकहाँ बर्सेनि कति क्यान्सर रोगी थपिन्छन् ?

दुःखको कुरा हामीकहाँ क्यान्सरको विशेष अध्ययन भएको पाइँदैन । त्यसैले तथ्यांकमा भन्न सकिने अवस्था छैन । यदि अनुमानको कुरा गर्नुहुन्छ भने तीन वटा सरकारी क्यान्सर अस्पताल छन् । भक्तपुर क्यान्सर अस्पतालमा बर्सेनि औसत चार हजार नयाँ क्यान्सर रोगी थपिन्छन् । भरतपुर क्यान्सर अस्पतालमा सात–आठ हजार र नेपाल क्यान्सर अस्पतालमा त्यस्तै तीन हजार बर्सेनि नयाँ रोगी थपिन्छन् ।

मूलतः नेपालीलाई के कस्ता क्यान्सरले बढी सताएको छ ?

यसमा पुरुष र महिलाको छुट्टाछुटै अवस्था छ । महिलाहरुलाई विगतमा पाठेघरको मुख र पाठेघरको क्यान्सर हुन्थ्यो, अहिले छातीको क्यान्सर देखिन थालिएको छ । पुरुषमा अण्डकोष, फोक्सो, घाँटी आदिको क्यान्सर देखिएको छ । त्यसबाहेक नेपालीमा देखिने कमन क्यान्सर भनेको छालाको, कलेजोको, रगतको, नाक–कान–घाँटीको, ठूलो आन्द्राको, मलद्वारको हो ।

तपाईंको अनुभवमा क्यान्सरबाट बच्न वा बचाउन के गर्नुपर्ला ?

जनचेतना नै मूख्य कुरा हो । शहरमा मात्र होइन, गाउँको कुना कन्दरासम्म क्यान्सरबारे जनचेतना जगाउनु नै पहिलो आवश्यकता हो । त्यसपछि उपचारलाई सर्वसुलभ र सहज बनाउनुपर्छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment