Comments Add Comment

चौथो एसेज टेष्ट : अष्ट्रेलियासँग इंग्ल्यान्डको हार

Photo Credit :  आईसीसी

२३ भदौ, काठमाडौं । चौथो एसेज टेष्ट क्रिकेटमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आइतबार राति सम्पन्न भएको एसेज सिरिजको चौथो खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १८५ रनले पराजित गरेको हो । इंग्ल्यान्डले ३८३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरे पनि अन्तिम दिन १९७ रनमै अलआउट हुन पुग्यो । योसँगै अष्ट्रेलियाले खेल जितेको हो ।

दोस्रो पारीमा इंग्ल्यान्डका खेलाडीले राम्रो खेल्न सकेनन् । जोइ डेन्लीले ५३ रन बनाउन बाहेक अन्य खेलाडी रन बनाउन चुक्दा हार ब्यहोरेको हो । अष्ट्रेलियाका लागि भने पट कुम्मिन्सले चार विकेट लिए ।

यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा ३०१ रनमा सबै विकेट गुमाएको थियो ।

अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो पारीमा आठ विकेटको क्षतिमा ४९७ रन बनाएपछि पारी समाप्तको घोषणा गरेको थियो । उच्च रन बनाउने क्रममा अष्ट्रेलियाका स्टेभ स्मिथले दोहोरो शतक बनाएका थिए । उनले २११ रन बनाएसँगै अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा नै उच्च रन बनाएको हो ।

त्यस्तै, आफ्नो दोस्रो पारीमा अष्ट्रेलियाले ६ विकेटको क्षतिमा १८६ रन बनाएपछि पारी समाप्तिको घोषणा गरेसँगै इंग्ल्यान्डले ३८३ रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा पनि अष्ट्रेलियाका स्मिथले उत्कृष्ट प्रदर्शन गरे । उनले ८२ रन बनाएका थिए ।

योसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment