Comments Add Comment

सलमान खानको साइकल यात्रा

बलिउड सुपरस्टार सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘दबंग-३’ को छायांकनमा व्यस्त छन् । हालैमात्र सलमान जयपुरमा गरिएको फिल्मको सुटिङ पूरा गरेर मुम्बई फर्किएका हुन् । यतिबेला उक्त फिल्मको सुटिङ मुम्बईमै भइरहेको छ । पछिल्लो समय मुम्बईमा भैरहेको अत्यधिक वर्षाले यो फिल्मको सुटिङमा केही न केही प्रभाव पारिरहेको छ ।

तर, अत्यधिक वर्षाका कारण मुम्बईको रफ्तार नै रोकिए पनि ‘दबंग खान’लाई भने उक्त वर्षाले रोक्न नसकेको एउटा रमाइलो प्रसंग सार्वजनिक भएको छ । सलमान खानले मुसलधारे पानी परिरहेकै बेला फिल्मको छायांकनस्थलसम्म पुग्नका लागि एउटा निकै सजिलो उपाय अपनाएका छन् । त्यसो त जयपुरमा पनि मुसलधारे पानी परिरहेकै बेला सलमान खान ‘दबंग ३’ को सुटिङ गरिरहेको देखिएका थिए ।

मुम्बईमा भने लगातारको वर्षालाई बेवास्ता गर्दै सलमान खान फिल्मको सुटिङका लागि आफ्नो साइकलबाटै स्पटसम्म पुगेका हुन् । यी अभिनेताले आफ्नो ट्वीटर एकाउन्टमा एउटा भिडियो पोस्ट गरेका छन् । भिडियोमा सलमानले कालो ज्याकेट र हाफ पाइन्टका साथमा स्पोर्ट्स सुज लगाएका छन् । भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘वर्षामा मुम्बई शहर, दबंग-३ को सुटिङमा जाँदै ।’


दबंग-३ यो श्रृंखलाको तेस्रो फिल्म हो र यसमा सलमान खान चुलबुल पाण्डेको युवा तथा वृद्ध दुवै चरित्र निर्वाह गरिरहेको देख्न पाइने छ ।

दबंग-३ लाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् । यो फिल्ममा सलमान खानसहित सोनाक्षी सिन्हा र अरबाज खान पनि महत्वपूर्ण भूमिकाका छन् । यो फिल्म २० डिसेम्बर २०१९ मा प्रदर्शन हुने भनिएको छ । यो फिल्मबाट अभिनेता महेश मांजरेकरकी छोरी साई पनि बलिउडमा डेब्यू गर्दैछिन् । साई यो फिल्ममा सलमान खानको चरित्र चुलबुल पाण्डेकी प्रेमिकाको भूमिका देखा पर्न सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment