Comments Add Comment

रेलमार्गको डीपीआरका लागि भारतले माग्यो प्रस्ताव

२४ भदौ, काठमाडौं । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि नेपालले भारतलाई औपचारिक आग्रह गर्ने भएको छ । भारतीय पक्ष डीपीआरबारे छलफल अघि बढाउन सकारात्मक भएपछि नेपालका तर्फबाट औपचारिक प्रस्ताव गर्न लागिएको हो ।

भारतीय पक्षले नेपालबाट प्रस्ताव आएपछि अघि बढ्न सकिने संकेत गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्गको डीपीआर निर्माण गर्नेबारे भारत सकारात्मक देखिन्छ,’ मिश्रले भने, ‘हामी यसबारे छलफलमा नै छौं । भारतले हामीलाई औपचारिक प्रस्ताव गर्न आग्रह गरेको छ ।’

हाल चीनसँग जोड्ने भनिएको रेलमार्गको डीपीआर बनाउन चीनले तयारी नपुगेको बताइरहँदा भारतले भने सकारात्मक बनेको भन्दै रेल अधिकारी उत्साहित छन् । काठमाडौंबाट भारत र चीन जोड्ने दुबै रेलमार्गको प्रारम्भिक अध्ययन रिपोर्ट आइसकेको छ । तर, डीपीआरको लागि चीनले अझै तत्परता देखाएको छैन । चिनीयाँ विदेशमन्त्रीको नेपाल भ्रमणमा पनि यस विषयमा ठोस छलफल भएन ।

भारतसँग काठमाडौंलाई जोड्ने रेलमार्ग १३५ किलोमिटर लामो हुनेछ । भारतले नै यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको गरेर रिपोर्ट दिएको थियो ।

भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल) ले तयार पारेको प्रारम्भिक रिपोर्टमा यो रेलमार्ग निजगढ हुँदै बनाउन प्रस्ताव गरिएको छ । भारतसँग जोडिने अन्तरदेशीय यो रेलमार्ग ब्रोडगेजमा नै बनाउने गरी प्रारम्भिक रिपोर्ट आएको छ । सरकारले भने भारतसँग पटक–पटक स्टान्डर्ड गेजमा नै रेलमार्ग बनाउनुपर्ने बताउँदै आएको छ ।

प्रस्तावित रेलमार्गमा ४५ किलोमिटर खण्डमा सुरुङ रहने छन् । विभिन्न स्थानमा साना ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको विभागले जानकारी दिएको छ ।

नेपाल र भारतबीच १५ भदौमा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, त्यसअघि नै भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि फिल्ड वर्क सकिसकेको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए । अध्ययनका लागि भारतीय रेल्वेका परामर्शदाताहरु नेपाल आएका थिए ।

वीरगञ्जबाट आउने रेल चोभारसम्म ल्याउने योजना छ । सरकारले त्यसअघि नै वीरगञ्ज–काठमाडौं रेलमार्गमा लागि अध्ययन प्रक्रिया अघि बढाइसकेको थियो । तर, भारतले नै आफ्नै खर्चमा अध्ययन गर्ने भएपछि विभागले अन्तिम चरणमा पुर्‍याएको कम्पनी छनोट प्रक्रिया पनि स्थगित गरेको थियो ।

रक्सौलबाट निजगढ हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । यो क्षेत्रको भूगर्भ चीनसँगको प्रस्तावित रुटको भन्दा केही सजिलो छ । तर, चुरे क्षेत्रजस्तो संवेदनशील भुभाग पनि यही खण्डमा पर्ने भएकाले त्यसले जटिलता ल्याउन सक्ने अनुमान गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment