Comments Add Comment

अर्घाखाँचीको ऐतिहासिक भैरव नाच काठमाडौंमा प्रदर्शन हुँदै

काठमाडौं । अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवम् मौलिक भैरव नाच काठमाडौंमा प्रदर्शन गरिने भएको छ । लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवर्द्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।

नेवार सम्पर्क समाजको अर्घाखाँची-काठमाडौंको आयोजनामा आगामी असोज ३ गते साँझ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिन लागेको समाजका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने-‘तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ । भिन्न परिवेश र भिन्न रहन सहनमा हुर्किएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ । तर, पछिल्लो समयमा बढ्दो बसाइसराइँ र आफ्नो थातथलो छोड्नेेेेेे प्रवृत्तिका कारण यो नाच लोप हुने स्थितिमा रहेको छ ।’

अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा रहेको यो नाचको प्रस्तुति नेवाः समाज अर्घाखाँची-रुपन्देहीले काठमाडौंमा आएर दिन लागेको र यसको व्यवस्थापन आफूहरुले गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेवार समुदायको मौलिक नाचका रुपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि सुरु भयो त्यसको एकिन तथ्य नभए पनि पुस्तौदेखि यो नाच नाच्ने क्रम रहेको नाच संरक्षणका अभियान्ता मित्रलाल श्रेष्ठले बताए ।

काठमाडौं उपत्यकाको भन्दा केही पृथक शैलीको यस नाचको प्रवर्द्धन गर्न सकिएको खण्डमा आन्तरिक पर्यटनको प्रवर्द्धन हुनुका साथै नेवार समुदायको सांस्कृतिक सम्पदाको संरक्षण हुने श्रेेष्ठको भनाइ छ । नेवार समुदायको नाच भए पनि यस नाचमा विभिन्न जातिका मानिसको सहभगिता रहने भएकाले यसले एक किसिमको जातीय सद्भावसमेत कायम गर्दै आएको श्रेष्ठले बताए ।

धार्मिक आस्था एवम् रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेको छ । अघिल्लो पुस्ताको तुलनामा अहिलेको पुस्तासम्म आइपुग्दा यसको सौन्दर्य एवम् तालको मिठासमा कमी आइरहेको सन्दर्भमा यसको संरक्षण र प्रवर्द्धन नभए आउँदो पुस्ताका निम्ति यो नाच कथाजस्तै हुने अभियान्ता श्रेष्ठको भनाइ छ ।

नेवार समुदायका विभिन्न प्रचलित एवम् ऐतिहासिक नाचहरु मध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ ।तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ ।

भिन्न परिवेश र भिन्न रहन सहनमा हुर्किएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ । काठमाडौं उपत्यका विशेषगरी भक्तपुरको ल्याकु भैलजस्तै रहेको भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेखलगायतका क्षेत्रमा नाचिने यो नाचको शैली भिन्न भिन्नै छ ।

रहन सहन, जीवनशैली, तान्त्रिक ज्ञानको कमी वा अन्य समुदायको प्रभावले पनि हुनसक्छ यस नाचको शैली स्थान विशेष फरक पाइन्छ । नाचको शैली र बाजाको ताल भिन्न भए पनि यसप्रतिको जनआस्था, धार्मिक मान्यता र जनविश्वास भने उत्तिकै छ ।

विशेषगरी अर्घाखाँचीको भैरव नाच स्थानीय चलनचल्तीमा भैरम नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ । यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकहरुमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको आभास) समेत प्रदान गर्छ । जसका कारण यस समुदायका व्यक्तिको धार्मिक आस्था त छँदै छ अन्य समुदायका व्यक्तिलाई पनि मोहित पार्छ ।

भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिक औंशीसम्म नाचिन्छ (देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ ।) त्रान्त्रिक विधिबाट सुरु गरिने यो नाच रातको समयमा विशेषगरी सूर्य अस्ताएपछि सूर्योदयअघिसम्म स्थानीय चलनअनुसार विहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ ।

कथंमकदाचित नाच्दै गर्दा उज्यालो भयो, खोला तरेर अन्यत्र गाउँमा गइ नाच्नुपर्‍यो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment