Comments Add Comment

बुटवलको चौराह अस्पतालले डेंगुको निःशुल्क परीक्षण गर्ने

२४ भदौ, बुटवल । बुटवलको एक नीजि अस्पतालले डेंगुका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कालिकानगरको चौराह अस्पताल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबारदेखि डेंगुको लक्षण देखिएका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको हो ।

आर्थिक अभावमा डेंगु परीक्षण गराउन गरिब तथा विपन्न वर्गका विरामीहरु वञ्चित हुन नपरोस् भनेर निशुल्क डेंगु परीक्षण कार्यक्रम ल्याइएको अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले बताए ।
गरिब तथा विपन्न वर्गलाई लक्षित गरी ल्याइएको यो कार्यक्रममा डेंगु परीक्षणका लागि कुनै निवेदन र सिफारिस नचाहिने अध्यक्ष ज्ञवालीले स्पष्ट पारे ।

एक जना विरामीमा डेंगु परीक्षणका लागि इमर्जेन्सीको टिकट शुल्क तीन सय ५० रुपैयाँसमेत गरी लिइँदै आएको एक हजार ८ सय ५० रुपैयाँ निःशुल्क गरिएको ज्ञवालीले बताए ।

बुधबार पत्रकार सम्मेलन गर्दै अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले एक हजार जनासम्मलाई निःशुल्क परीक्षण गर्ने गरी आवश्यक किट व्यवस्थापन र तयारी गरेको बताए ।

अस्पतालले ३ सय ४० जनाले ज्वरोको परीक्षण गराएकामा ३४ जनामा डेंगु भेटिएको अस्पतालका डाक्टर विवेक मल्लले बताए । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि डेंगुको परीक्षण निःशुल्क गरिने भएपनि विरामीको अत्याधिक चाप भएकाले नीजि अस्पतालको यो घोषणाले विरामीहरु लाभान्वित हुने छन् ।

२०६९ सालमा स्थापना भएको अस्पताललाई अन्य सेवा सहित ट्रमा सेन्टरको रुपमा विकास गर्ने तयारी भइरहेको डा.मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment