Comments Add Comment

आत्महत्याको कारक सामाजिक सञ्जाल !

२४ भदौ, काठमाडौं । मालपोत कार्यालय, कलंकीका नासू हरिप्रसाद आचार्यले गत साउन अन्तिम साता आत्महत्या गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा सरकारी जग्गा व्यक्तिका नाममा गरेको मुद्दामा उनलाई अभियुक्त बनाएको थियो ।

वालुवाटार जग्गा (ललिता निवास) प्रकरणमा मुछिएका पूर्वनासु युक्तप्रसाद श्रेष्ठले पनि १२ साउनमा माछापोखरीस्थित सपिङ कम्प्लेक्सबाट हाम फालेर आत्महत्या गरे । त्यसअघि साउन पहिलो साता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा नाम जोडिएका पूर्वसहसचिव रामबहादुर पाण्डेले पनि कानून व्यावसायीसँग छलफल गरेर फर्कने क्रममा ज्यान फाले ।

एउटै महिनामा भएका तीनवटै आत्महत्या भ्रष्टाचारसँग जोडिएका छन् । सामाजिक बदनामीका डरले उनीहरूले आत्महत्याको बाटो रोजेको हुन सक्ने मनोचिकित्सकहरूको अनुमान छ । उनीहरूका अनुसार पछिल्लो समय सामाजिक बदनामी आत्महत्याको प्रमुख कारण बनेको छ ।

मनोचिकित्सक डा. मधुर बस्नेतका अनुसार मानसिक आघातले गर्दा धेरै आत्महत्या हुने गरेका छन् । ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आत्महत्याको दर पनि वृद्धि भएको देखिन्छ’ डा. बस्नेत भन्छन्, ‘पत्रपत्रिकामा मात्रै आएका समाचारलाई भन्दा फेसबुक–ट्विटरको चर्चा परिचर्चालाई मान्छेले ठूलो बदनामीका रुपमा बुझ्न थालेका छन् ।’

फेसबुक आफैंले पनि फेसबुकका कारण आत्महत्याका घटना हुने गरेको स्वीकारेको छ । आत्महत्याको प्रयास गर्न लागेका प्रयोगकर्ता पत्ता लगाउने उसले केहीवर्षदेखि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रयोगमा ल्याएको छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले प्रयोगकर्ताको तस्वीर, स्ट्याटस, म्यासेज, लाइक तथा कमेन्टलाई सूक्ष्म किसिम विश्लेषण गर्ने गरेको फेसबुकको दाबी छ ।

क्लिनिकल साइकोलजिकल साइन्स नामक जर्नलमा प्रकाशित एउटा लेखमा किशोर–किशोरीले सामाजिक सञ्जालमा लाइभ गरेका आत्महत्याको नक्कल (कपीक्याट) समेत गर्ने गरेको उल्लेख छ ।

धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा कार्यरत मनोचिकित्सक डा. मधुर बस्नेत आफन्त, साथीभाइको सानो प्रयासबाट पनि आत्महत्याबाट जोगाउन सकिने बताउँछन् ।

आत्महत्याका अन्य कारण

डा. बस्नेत भन्छन्, ‘छोटोमा भन्दा प्रतिकूलतामा जुध्न नसक्नेहरू आत्महत्या गर्न पुग्छन् । तर, यसको पछाडि एउटै कारण हुँदैन ।’ उनका अुनसार कुनै व्यक्ति आफ्नै हत्या गर्न तयार हुनुको पछाडि जैविक, मनोवैज्ञानिक, सामाजिक, शारीरिक, आर्थिक कारण हुन्छन् ।

मनोचिकित्सकहरू अनुभूति, सोच, भावना र व्यवहारमा प्रभाव पर्ने स्नायु रसायनहरूले भूमिकालाई जैविक कारण मान्छन् । उनीहरू सिरोटोनिन, एड्रिनालिनमा आउने गड्बडीले भविष्य अन्धकार लाग्ने, बेसहारा वा आफ्नै जीवन बेकार लाग्ने र आत्महत्याको बिचार खेल्न मद्दत गर्ने बताउँछन् ।

डा. बस्नेत अत्याधिक प्रतिस्पर्धा, दवाव, धैर्यता, सहनशीलताको अभाव जस्ता कारणले पनि मानिसमा अनावश्यक बेचैनी देखिने गरेको बताउँछन् । ‘आवेगमा आएर सामान्य घर झगडामा पनि आत्महत्या गरेको देखिन्छन्’ बस्नेत भन्छन्, ‘जबकि एकछिन रोकेको भए त्यो कुरा उसैलाई सामान्य लाग्ने थियो ।’

दैनिक १५ आत्महत्या

परीक्षामा असफलता, सामान्य ठाकठूक, आर्थिक अभाव, सम्बन्धमा उत्तारचढाव जस्ता दैनिक जीवनमा आउने स्वाभाविक कुरालाई लिएर पनि आत्महत्या भएका उदाहरण छन् । सामान्य भन्दा सामान्य निहुँमा आत्महत्या हुन थालेपछि यसको ग्राफ बढ्दो छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांक हेर्दा दैनिक १५ जना भन्दा बढीले आत्महत्या गरेको देखिन्छ । विगत पाँच वर्षमा आत्महत्या गर्नेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । आर्थिक वर्ष ०७४/०७५ मा को तुलनामा ०७५/०७६ मा साढे चार सय अर्थात पाँच हजार ७५८ जनाले आत्म हत्या गरे ।

पाँच वर्ष अघिको तुलनामा यो संख्या १४ सयले बढी हो । आब २०७१/०७२ मा चार हजार ३३२ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको अभिलेख छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिलाखमा १० जनाले आत्महत्या गर्छन् । नेपालमा भने प्रति एक लाखमा ११ जना भन्दा बढीले आत्महत्या गर्छन् । छिमेकी चीनमा आत्महत्याको दर प्रतिलाखमा आठ जना भन्दा कम छ ।

कसरी रोक्ने ?

मनोचिकित्सक बस्नेत आत्महत्याको समस्या रोक्न सकिने बताउँछन् । कसैले आत्महत्या गर्न लागेको संकेत पाउना साथ रोक्न पहल गर्नुपर्ने उनको सुझाव छ ।

धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा कार्यरत डा. बस्नेत आफन्त, साथीभाइको सानो प्रयासबाट पनि आत्महत्याबाट जोगाउन सकिने बताउँछन् ।

मानसिक रोगको समयमै उपचार गराउने, कुनै क्षेत्रमा असफल हुनु भनेको जीवनै सकिनु होइन भन्नेखालका जनचेतना जगाउनुपर्ने मनोचिकित्सकहरूको भनाइ छ ।

विषादीमा सहज पहुँच रोक्दा श्रीलंकामा आत्महत्या घटेको उदाहरण दिँदै डा. बस्नेत भन्छन्, ‘विषादी, नसालु पदार्थको नियन्त्रणले पनि आत्महत्या न्यूनीकरणमा मद्दत गरेको देखिन्छ ।’

‘जस्तोसुकै समस्याको समाधान छ, जीवन महत्वपूर्ण हो भन्ने बुझाउन सक्ने हो भने कोही पनि आफैलाई मार्न अघि सर्दैन’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment