Comments Add Comment

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सरकारको आग्रह

२५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा उपयुक्त गन्तब्य भएको बताएका छन् ।

काठमाडौंमा जारी नेपाल पुर्वाधार सम्मेलनमा उनले देशका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताए ।

नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि भइरहेको भन्दै उनले निकट भविष्यमै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको जानकारी दिए ।

‘अवको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनेछ,’ मन्त्री भट्टराईले भने, ‘यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको छ ।’

युरोपेली संघले हवाइ सेवाका लागि नेपाललाई कालोसूचीमा राखेकोप्रति दुःख व्यक्त गर्दै उनले चाँडै नै यो समस्या सुल्झने दावी गरे । युरोपेली संघसँग यस सम्वन्धमा निरन्तर बार्ता अघि बढिरहेको उनको भनाइ छ ।

सो कार्यक्रममा बोल्ने विज्ञहरुले मुलुकको पुर्वाधार विकासका लागि क्षेत्रीय अन्तरआबद्धतामा जोड दिएका थिए । समृद्धि र विकासका लागि आन्तरिक तथा बाह्य रुपमा समानान्तर विकास हुनुपर्ने उनीहरुको धारणा छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले भूपरिवेष्ठित मुलुकहरुले सम्पत्ति सृजना गर्नका लागि भौतिक पुर्वाधार, अन्तर आबद्धता, सूचना प्रविधि, दीर्घकालिन योजनाजस्ता निश्चित क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

‘नेपालको सहरी विकास र ग्रामीण विकासको खाडल ठूलो भएकाले यसको असामञ्जस्य कम गर्न सरकारले लगानी बढाउनुपर्छ,’ डा. वाग्लेले भने ।

नेपाल विश्वब्यापी विकास सूचकांकमा केही पछाडि परे पनि सुधारको क्रम उत्पाहप्रद रहेको उनले बताए । विश्व अर्थव्यवस्थाको केन्द्र एसियामा स्थानान्तरण भएको भन्दै उनले नेपालले पनि छिमेकी चीन र भारतको आर्थिक वृद्धिको लाभ लिन सक्नुपर्नेमा जोड दिए । यसका लागि सरकारले नीतिगत र व्यवहारीक रुपमा आफूलाई सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

सरकारले थुप्रै यथार्थबादी कुरा गरे पनि केही विषयमा विना अध्ययन ल्याइएका हावादारी योजनाले सरकारको आलोचना बढाएको डा. वाग्ल ले बताए । उनले नेपालको विद्यमान ब्यापारघाटा घटाउनका लागि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने र यसका लागि नेपालले महँगो मूल्यका वस्तु उत्पादन गरेर निर्यात बढाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा एसियाली विकास बैंकका पुर्वमहाप्रबन्धक नोरीतादा मोरिताले एसियाको अहिलेको आवश्यकता भनेको अन्तरआबद्धता नै भएको बताए । ‘यसअघि दक्षिण र पूर्वी एसियाको आवश्यकता शान्तिस्थापना थियो,’ उनले भने, ‘तर अब यहाँका मानिसहरुको आवश्यकता भौतिक पुर्वाधार निर्माण र जनताको आयस्तर बढाउनु हो ।’

उनले भौतिक विकास मात्रै ठूलो कुरा नभएको भन्दै जनताको आयस्तरमा बृद्धि हुने र समानुपातिक अवसर प्राप्त गर्ने गरी दीर्घकालिन विकासमा ध्यान दिन नेपाल सरकारलाई आग्रह गरे ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपालले छिमेकी मुलुकहरुसँग ब्यापारिक सम्बन्ध बढाएको बताए । उनले क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा ऊर्जा, विद्युत् प्रशारण लाइनको अन्तरआबद्धता, दूरसञ्चार, रेल, पानीजहाज, हवाइ सम्बन्धजस्ता बहुपक्षीय सञ्जाल विकास गर्नेगरी योजना तयार गरेर काम अघि बढाइसकेको जानकारी दिए ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालले ऊर्जा क्षेत्रका लागि दीर्घकालीन योजना तयार पारिसकेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे । अबको केही वर्षमा नेपाल विजुली निर्यात गर्ने मुलुकको सूचीमा समावेश हुने भन्दै उनले चाँडै नै कम्तिमा ५ हजार मेगावाट विद्युत् छिमेकी मुलुकमा विक्री गर्ने दावी गरे ।

भारतीय योजनाविद् राजीव मल्होत्राले नेपाल भारतजस्ता विकाशोन्मुख मुलुकहरुले दीगो र दीर्घकालिन विकासका योजना बनाएर अघि बढ्नुपर्ने बताए । यस क्षेत्रमा ब्यापार बृद्धि गर्नका लागि यातायात तथा ढुवानीका क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment