Comments Add Comment

डेंगुविरुद्ध प्रदेश ३ मा जागौं, लागौं अभियान

२५ भदौ, हेटौंडा । डेंगु नियन्त्रणका लागि प्रदेश ३ सरकारले जागौं र लागौं अभियान सुरु गरेको छ । प्रदेश ३ मा मात्र तीन हजार भन्दा बढी डेंगुको बिरामी देखिएको र थप बढ्दै जान थालेपछि समाजिक विकास मन्त्रालयले नियन्त्रण अभियान सुरु गरेको हो ।

डेंगुको नियन्त्रणको लागि गाउँ ठाउँमा पानी जमेको खाल्डा पुर्ने अभियानमा सहभागी हुन मन्त्री युवाराज दुलालले आह्वान गरे । उनले जस्तो सुकै स्प्रे गरे पनि लामखुट्टेको लार्भा मार्न नसकिने हुँदा पानी जम्न नदिनु नै उपयुक्त विकल्प भएको बताए ।

प्रदेश सरकारले आउँदो कात्तिकसम्म प्रकोप नियन्त्रणका लागि ‘सबै जागौं, सबै लागौं’ अभियान सञ्चालन गर्न लागेको उनले जानकारी दिए । अभियानमा राजनीतिक दल, सामाजिक संघ सस्था सबैलाई सहभागी हुन उनले आह्वान गरे ।

मन्त्री दुलालले डेंगु नियन्त्रणको लागि सरकारले प्रचारात्मक काम गरेको बताए । विभिन्न चरणमा नियन्त्रणका लागि काम गरिए पनि प्रभावकारी नभएको भन्दै अब समुदाय नै सचेत हुन आवश्यक भएको भन्दै अभियानको थालनी गरिएको बताए ।

डेंगुको उपचार र औषधी नहुने भएकोले बच्नु नै ठूलो विषय भन्दै नष्ट गर्ने अभियानमा सबैलाई सहभागी हुन आग्रह गरे ।

सरकारले ५ हप्तासम्म आउँदो शनिबार बिहानबाटै नियन्त्रणको अभियान थालनी गर्ने बताएको छ । मन्त्रालयले डेंगु प्रभावित सिन्धुली, मकवानपुर, रामेछाप, धादिङ, नुवाकोटका अस्पतालमा उपचार गराइरहेका बिरामीको लागि ५०/५० वटा झुल वितरण गरिएको जनाएको छ ।

प्रदेश ३ मा ३ हजार ७ सयलाई डेंगु

डेंगुको प्रकोप फैलिएको प्रदेश ३ मा बुधबारको तथ्याङ्क अनुसार ३ हजार ७ सय ६६ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार डेंगुबाट प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।

प्रदेश ३ को सबैभन्दा धेरै चितवनमा १ हजार ४ सय ६० जना, मकवानपुरमा ७ सय ९१, काठमाडौंमा १ हजार ३ सय ४५, ललितपुरमा १ सय ५ जना, काभ्रेमा ६ जना, भक्तपुरमा ९६ जना, धादिङमा २३ जना, नुवाकोटमा २, सिन्धुपाल्चोकमा १ जनामा डेंगुको संक्रमण भएको छ । रामेछाप, दोलखा, सिन्धुली र रसुवामा डेंगुको बिरामी भेटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment