Comments Add Comment

नेकपा सांसदको प्रश्न : अमेरिकी दूतावासले सरकारलाई स्पष्टीकरण सोधेको हो ?

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेकोबारे सरकारको जवाफ मागेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भनिन् ‘पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डो प्यासिफिक रणनीतिमा आवद्ध छैन भनेको विषयमा अमेरिकी दूतावासले स्पष्टीकरण माग्दैछ भन्ने आएको छ, यो बारे के हो नेपाल सरकारले भन्न जरुरी छ ।’

सांसद भुसालले आउँदो नोभेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीले र अमेरिकी सेनासँग दुईवटा प्रशिक्षण गर्ने भनी अमेरिकाले पत्र पठाएको भन्दै उक्त कार्यक्रम रद्ध गर्न माग गरेकी छन् ।

उनका अनुसार आगामी नोभेम्बर ४ देखि १५ मा नेपाली सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले दुईवटा प्रशिक्षण कार्यक्रम गर्ने प्रस्तावसहित नेपाल सरकारलाई पत्र लेखेको छ । जसमा एउटा हाइअल्टिच्युड प्रशिक्षण अन्नपूर्ण क्षेत्रमा र अर्को स्वीफ्ट वाटरसम्बन्धी प्रशिक्षण चितवनको कुरिनटारमा गर्ने अमेरिकाको प्रस्ताव छ । सांसद भुसालले इन्डोप्यासिफिक रणनीति विवादास्पद रहेको भन्दै भनिन्, ‘त्यस प्रकारको ज्वाइन्ट प्रशिक्षण नगरियोस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेपालले विगतदेखिनै असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताइन् । ‘नेपालको असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर त्यस्तो प्रकारको इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालको सशस्त्र प्रहरीसँग संयुक्त अभ्यास नगरियोस्’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment