+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाँदर आतङ्कले खेतबारी बाँझै, नगरपालिकाले छुट्यायो १० लाख

रासस रासस
२०७६ भदौ २६ गते १५:०८

२६ भदौ, बैतडी । सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ ।

दशरथचन्द नगरपालिकाले वडा नं ४, ५, ६, ७ र ८ मा बाँदरले विगत केही वर्षदेखि आतङ्क मच्चाएकाले त्यसको व्यवस्थापनका लागि रु १० लाख छुट्याएको छ । बाँदरलगायत अन्य जङ्गली जनावर व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको वडा नं ५ का अध्यक्ष नारायणप्रसाद भट्टले जानकारी दिए ।

बाटोमा हिँड्दासमेत महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्दै आएको र गत साउनमा तीन जनालाई बाँदरले टोकेकाले उनीहरूलाई रेविजविरुद्धको सुईसमेत दिइएको उनले बताए ।

जङ्गली जनावर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नगरपालिकाले केही दिनभित्रै ठोस निर्णय गर्ने जनाइएको छ । बाँदर नियन्त्रणका लागि उक्त नगरपालिकाले विगतका वर्षमा पनि बजेट विनियोजन गर्दै आएको थियो ।

खेतीयोग्य जमीन बाँझै

सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क फैलाउन थालेकाले विगत पाँच वर्षदेखि यहाँका बासिन्दाले खेतीयोग्य जमीनसमेत बाँझै छाड्दै आएका सोही नगरपालिका निवासी तेजप्रकाश भट्टले जानकारी दिए ।

बाँदरको दुःख खप्न नसकेर बसाइँ सर्नुपर्ने अवस्थासमेत सिर्जना भएको अर्का स्थानीयवासी पार्वती चन्दले बताइन्‍ । सोही नगरपालिका वडा नं ५ का डम्बर टमाटाले घरको खानेकुरा सुरक्षाका लागि एक जनाले दिनभर बाँदरका लागि घर कुरुवा बस्नुपरेको गुनासो गरिन्‍ । लाखौँको सुन्तला फल्ने यो मौसममा अहिले रुखमा एक दाना सुन्तला देख्न पनि मुश्किल भएको उनको भनाइ छ ।

योजना सफल भएन

बाँदरको आतङ्क बढेपछि उक्त नगरपालिकाले गत वर्ष पनि बाँदर धपाउने अभियान शुरु गरेकामा विफल भएको वडाध्यक्ष भट्टले बताए ।

बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाइए पनि फेरि गाउँमै बाँदर फर्केर आएका छन् । उक्त नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्कलाई पहिलो प्रकोपका रुपमा राखिएको छ । नगरवासीले पटकपटक गुनासो गर्दै आएपछि बाँदर धपाउने अभियान सञ्चालन गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए ।

मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर धपाउने टोलीमा सहभागी स्थानीयवासी विद्यार्थी, महिलालगायत सरोकारवालाले गुलेली, लाठी ढुङ्गा बोकेर बाँदर अभियाननै चलाए पनि सफल नभएपछि प्रभावित वडाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पीडितहरूले माग गर्दै आएका छन् । भारतको कोशी तथा वराणासीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडिएकाले जिल्ला सदरमुकाममा यसको आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?