Comments Add Comment

वडा कार्यालय र नगर प्रवक्ताको गाडीमा आगजनी

२७ भदौ, कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका–१९, बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ ।

प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा समेत अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताए ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ’, प्रहरी निरीक्षक साउदले भने, ‘आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment