Comments Add Comment

चितवनसम्म पेट्रोलियम पाइपलाइन ल्याउन सम्भव

आयल निगमले सक्यो इन्जिनियरिङ अध्ययन

२७ भदौ, काठमाडौं । नेपाल आयल निगमले चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने प्रक्रिया अघि बढाएको छ । अमलेखगन्जबाट ६२ किलोमिटर लामो पाइपलाइन बनाउँदा चितवनको लोथरसम्म आइपुग्ने निगमको अध्ययनमा देखिएको छ ।

गत वर्ष उक्त परियोजनाबारे रुट सर्भे गरेको निगमले भर्खरै मात्र बिस्तृत इन्जिनियरिङ अध्ययन पूरा गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘बरौनीबाट अमलेखगन्जसम्म आएको परिमाणकै इन्धन चितवनसम्म ल्याउन सम्भव देखिएको छ,’ पौडेलले भने । निगमले भण्डारण गृह निर्माणका लागि चितवनको लोथरमा खरिद गरेको २४ विघा ९ कठ्ठा २ धुर जमिनसम्म पाइपलाइन बिछ्याएर इन्धन भण्डारण गर्ने योजनाका साथ काम अगाडि बढाइएको उनले बताए ।

चितवनमा बनाइने भण्डारण गृहले तराई र पहाडी क्षेत्रमा इन्धन वितरणका लागि रणनैतिक महत्व राख्ने निगमका उपकार्यकारी निर्देशक सुशील भट्टराईको भनाइ छ । पूर्व र पश्चिम तथा सुदुर पश्चिममा इन्धन आयात ट्याकंरमार्फत नै गर्ने तर मध्य क्षेत्रको वितरण बृहत भण्डारणमार्फत पाइपलाइनबाटै गर्ने सोच निगमको छ ।

संघीय राजधानीसहित अत्यधिक इन्धन खपत हुने ठूला सहरहरु यही क्षेत्रमा भएका कारण यो क्षेत्रमा पाइपलाइन रुटलाई प्राथमिकतामा राखिएको भट्टराईले बताए । ‘भण्डारण गृह बनाउनु नै छ, त्यहाँसम्म पाइपबाट इन्धन जम्मा गर्न सके धेरै राहत मिल्छ,’ उनले भने ।

विद्युत प्रयोगका कारण पेट्रोलियमको खपतदर घट्ने भएकाले पूर्वाधारमा लगानी गर्न नहुने आवाज उठे पनि निगमको अध्ययनमा त्यस्तो नदेखिएको भट्टराई बताउँछन् । नेपालले अझै लामो समय पेट्रोलियम खरिद गर्नुपर्ने उनले यसैका लागि मजबुत पूर्वाधारमा निगमले लगानी गर्नु परेको प्रष्टिकरण दिए ।

बरौनी अमलेखगन्ज पाइपलाइनले निगमको वार्षिक एक अर्ब खर्च बचत हुन्छ भने चितवनसम्मै आइपुग्दा खर्च अझ धेरै घट्ने निगमको विश्वास छ । अमलेखगन्ज डिपोले प्रदेश २ लगायतका पूर्वी नेपालमा राहत मिल्ने र चितवनले मध्य क्षेत्रमा इन्धन आपूर्ति सहज हुने निगमले जनाएको छ ।

पाइपलाइनले निगमको खर्च घट्ने, चुहावट रोकिने र द्रुतगतिमा इन्धन आयात हुने भएकाले दिगो पूर्वाधारमा लगानी गर्नु देश हितमा हुने निगमका अधिकारीहरु बताउँछन् ।

चितवनसम्म पाइपलाइन निर्माणमा भारतीय सरकारी कम्पनी आईओसीले पनि चासो व्यक्त गरेको निगमले जनाएको छ । आईओसीले आफ्नो व्यापारका लागि आफ्नै खर्चमा पाइपलाइन बनाउँछ भने पनि निगम छलफल गर्न तयार भएको उपकार्यकारी भट्टराई बताउँछन् ।

‘खर्च कति लाग्छ हामी हेर्दै छौं,’ निगमका प्रमुख कार्यकारी पौडेलले भने, ‘चितवनमा भण्डारण गृह बनाउनु नै छ र यसलाई पाइपलाइनले जोड्न निगम अगाडि बढेको छ । यसमा देश हित देखेका छौं,’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment