Comments Add Comment

विमानस्थलमा विजनेस क्लासका यात्रुलाई प्राथमिकता दिन मन्त्रीको निर्देशन

२७ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फस्र्ट क्लास र विजनेस क्लासका यात्रुलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

चेन इन, बोर्डिङ, भन्सार र ब्यागेज क्लियरेन्समा समेत विजनेस क्लासका यात्रुलाई प्राथमिकता दिन उनले निर्देशन दिएका हुन् ।

विमानस्थलमा हरेक महिना नियमित बैठक शुरु गरेका मन्त्री भट्टराईले उनीहरुलाई छुट्टै ‘पीक अप’ र ‘ड्रप’को समेत व्यवस्था मिलाउन निर्देशन दिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वृद्ध, अशक्त र अपाङ्गता भएका यात्रुलाई समेत विमानस्थल भित्रका प्रक्रियाहरुमा प्राथमिकता दिनुपर्ने मन्त्री भट्टराईको आग्रह छ ।

भन्सारले विदेशबाट आएका यात्रुलाई ब्यागेज लिनु अगाडी गर्ने ‘मेटल फ्रि स्क्रीनिङ’ले झण्झट थपिरहेको विषयलाई समेत मन्त्री भट्टराईले सम्वोधन गरेका छन् । यात्रुले विमानस्थल भित्र झरिसकेपछि सर्वप्रथम अध्यागमनको प्रक्रिया पार गर्नुपर्छ ।

त्यसपछि ब्यागेज लिन जानुअघि भन्सारले शरीरमा भएको सबै वस्तु खोल्न लगाएर यात्रुको स्क्रिनिङ गर्ने गर्छ । यस्तो कार्य अन्तर्राष्ट्रिय प्रचलन र व्यवहारविरुद्ध भएको भन्दै तत्काल बन्द गर्नुपर्ने मन्त्रालयको निष्कर्ष रहेको छ । सरोकारवाला निकायसँग समन्वय गरी यो प्रक्रिया हटाउने प्रतिवद्धता मन्त्री भट्टराईले व्यक्त गरेका छन् ।

एयरपोर्ट ट्याक्सीको मापदण्ड तोकिने

अहिले विमानस्थलमा सञ्चालनमा रहेका ट्याक्सीको मापदण्ड तोकिने भएको छ । मन्त्री भट्टराईले विमानस्थलस्थित सवारीसाधन एवम् पार्किङ अनुगमन कमिटीलाई एयरपोर्ट ट्याक्सीको गुणस्तर मूल्यांकन गर्न निर्देशन दिएका छन् । मन्त्रीले उक्त कमिटीलाई त्यस्ता ट्याक्सीको गुणस्तर, मापदण्ड, भाडादरजस्ता विषयमा अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन पेश गर्न भनेका छन् ।

उता, शहरका विभिन्न क्षेत्रबाट विमानस्थलसम्म सिधा बस सेवा संचालन गर्नेबारे मन्त्री भट्टराईले साझा यातायातलगायत कम्पनीसँग यसै साता छलफल गर्ने भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब मन्त्री भट्टराईले हरेक महिना नियमित बैठक आयोजना गर्ने भएका छन् । अघिल्लो बैठकमा दिएका निर्देशन पालना भए नभएको फलोअप र आगामी योजना तय गर्ने लक्ष्यसहित नियमित बैठक आयोजना गर्ने निर्णयमा पुगेको मन्त्री भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment