Comments Add Comment

विदेशी बुहारीको नागरिकतामा ७ वर्षे सीमा अस्वीकार्य : कांग्रेस

२७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई नागरिकता दिन ७ वर्षको सीमा राख्ने प्रस्ताव नमान्ने बताएको छ ।

नागरिकतासम्बन्धी विधेयकमाथि छलफल गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति वैवाहिक अंगीकृत नागरिकताबारे निर्णयको संघारमा छ ।

समितिमा भएको छलफलका आधारमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि र नेपाली महिलासँग विहे गरी आउने विदेशी पुरुषलाई १५ वर्षपछि नागरिकता दिने प्रस्ताव शुक्रबारको बैठकमा पेश भएको छ । विकल्पमा विधेयक पेश हुँदा सरकारले ल्याएको प्रस्ताव नेपाली नागरिकता प्राप्त गरेको ६ महिनाभित्र विदेशी नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएको भए त्यागेको र नलिएको भए त्यसको निस्सा पेस गर्नुपर्ने । अन्यथा पहिले लिएको नागरिकता रद्ध हुने प्रस्तावित व्यवस्थालाई राखिएको छ ।

यसबारे छलफल गर्न शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहितका नेताहरुको बैठकले सात वर्षे समयसीमा राख्ने प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । संविधानमै उल्लेख नभएको विषयमा प्रस्ताव आएकाले नमान्ने निर्णय गरेको भुसालले बताइन् ।

अंगीकृत नागरिकताको हकमा २०६३ को व्यवस्थालाई निरन्तरता दिनुपर्ने कांग्रेसको निष्कर्ष छ । अन्तरिम संविधान २०६३ ले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले प्रचलित कानून बमोजिम अंगीकृत नागरिकता लिनसक्ने व्यवस्था छ । नागरिकता ऐन २०६३ मा वैवाहिक अंगीकृत नागरिकता लिन विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेश गर्नुपर्ने व्यवस्था छ ।

यसबारे छलफल गर्न राज्य व्यवस्था समितिको अर्को बैठक भोलि शनिबार राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment