
२७ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानी पक्राउ गरेको साजन गुरुङ उर्फ नजोक गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको घटनाका उनी मुख्य योजनाकार हुन् । अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर दोस्रो साता उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।
तर, जेलभित्रैबाट पनि उनले फिरौती असूलीको धन्दा चलाइरहेको प्रहरी अधिकृतले बताउने गरेका छन् । उनलाई बाहिर रहेका समूहका सदस्यले सहयोग गर्ने गरेको प्रहरी दाबी छ ।
बस्न्यातलाई नै सहयोग गरेको आरोपमा प्रहरीले गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेशलाई पनि पक्राउ गरेको थियो । समिरमानको निर्देशनमा फिरौती असुलीमा संलग्न भएको हुनसक्ने आशंकामा पवन खड्का र सुरेन नगरकोटीलाई साउन अन्तिम साता पक्राउ गरेसँगै नरेशको संलग्नता खुलेको थियो ।
घटनापछि अनुसन्धान अधिकृतले बस्न्यात समूहमाथि कडा निगरानी राख्न थालेका छन् ।
को हुन् गुरुङ ?
गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।
उनले प्रहरी अधिकृतलाई पनि धम्क्याउने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।
प्रतिक्रिया 4