Comments Add Comment

बेलायतमा फूलेको साहित्यको गुलाफ

केही दिन अगाडि मेरो हातमा डायोस्पोरिक कृति ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह आइपुग्यो । डा. संगीता स्वेच्छा यस कथासङ्ग्रहकी लेखक हुन् । उनका कथाहरु मैले पचासको दशकदेखि नै मधुपर्कमा पढ्दै आइरहेकी थिएँ । बीचमा कथा प्रकाशनका क्रमहरु पातलिए र मैले पनि उनलाई बिर्संदै गएँ ।

जब संगीताको तेस्रो सन्तानका रुपमा प्रकाशित कथासङ्ग्रह ‘गुलाफसँगको प्रेम’ मेरो हातमा पर्‍यो, मैले यसलाई अत्यन्तै रुचिपूर्वक पढी सिध्याएँ । उनी बेलायत पढ्न गएका कारण उनको साहित्यिक पाटोले बीचमा विश्राम पाएको कुरा बुझ्न बेर लागेन ।

बेलायतको विश्वविद्यालयमा वातावरण सञ्चारमा विद्यावारिधि गरेर उतै कर्मरेखामा हिँडिरहेकी उनको ०४९ सालमै ‘पखालिएको सिउँदो’ उपन्यास र ‘असहमतिका पाइलाहरु’  संयुक्त कथासङ्ग्रह प्रकाशित छन् ।

हालसालै प्रकाशित नयाँ कथासङ्ग्रह ‘गुलाफसँगको प्रेम’मा २० वटा कथा समावेश छन् । पहिलो कथाका रुपमा नै गुलाफसँगको प्रेम आएको छ । यस कथामा, जसरी सुन्दर गुलाफमा पनि धारिला काँडा हुन्छन् र त्यसपछि सुन्दर फूल हुन्छ, त्यसरी नै मान्छेको जीवनमा पनि दुःख र सुखको नियमित चक्र आइ नै रहन्छ भनेर गुलाफसँग जीवनको तुलना गरिएको छ । भावुक बनेर लेखिएको यो शीर्षकथा अत्यन्त सुन्दर छ ।

बेलायत, अष्ट्रेलिया र नेपालको पृष्ठभमिमा रहेर उनका कथाका विषयवस्तुहरु उनिएका छन् । हामीले बाँचेको समाज र बेलायतमा नेपालीहरुले गर्नु परेको सङ्घर्षका उतार-चढावहरुलाई कथाका पात्रहरुले बोलेका छन् । विदेशमा हुने सकस र उकुस-मुकुसलाई नागरिकता, अर्थविहीन पत्रहरु, आप्रवासी मुटु, असम्झौताभित्रको सम्झौता कथाले बोलेका छन् ।

पाश्चात्य संस्कृतिले नेपाली संस्कृतिमा पारेको प्रभावका रुपमा एकांकीपनले जन्माएको मानसिकता, लरेनका ड्याडीहरू, बढ्दो सभ्यता, इमिली मेरी छिमेकी कथाले देखाएको छ ।

सामाजिक सञ्जालको दुव्र्यसनीले आफ्नी छोरीको प्राणपखेरु उडिसकेको समेत थाहा नपाउने वर्तमान सम्यको यर्थाथतालाई विखण्डित सपना कथाले देखाएको छ । विक्षिप्त मनको डायरी कथाले पाठकलाई अत्यन्तै भावुक बनाउँछ, अधिकांश नेपाली जोडीहरु विदेशीको संस्कार देखासिकी गरेर आफ्नो कर्तव्य बिर्सिने र परिवार विखण्डित हुन लागेको पनि थाहा नपाउने छन् । यस्तै संवेदनशील विषयहरु कथाका आलम्वन बनेका छन् ।

पुरुष समाख्याताको रुपमा कथा बुनेर महिला कथाकारले कथामा जीवन्तता प्रदान गर्नु कथाकारको अर्को खुबी देखिन्छ । बेलायतका सडकमा रत्नपार्क र भोटाहिटिको झल्को आउनुले देशप्रेमको यादलाई झल्काउँछ, आफ्नै देशमा आधारशिला खोज्ने वातावरण सरकारले तयार नगर्दा धेरै नेपालीहरु दुखी बनेको प्रसङ्ग पनि उनका कथामा भेट्न सकिन्छ ।

कथा लामा नभइकन मझौला आकारका छन् । सरासर पढ्न पाठकलाई कत्ति पनि झर्को लाग्दैन । हरेक कथाका अगाडि सुन्दर चित्रहरु कोरिएका छन् । आफ्नै श्रीमान र छोरीले ती चित्र कोरेर कथालाई मूर्त  रुप दिएको कुरा कथाकारको लेखकीयबाट थाहा हुन्छ ।

बेलायतको व्यस्त जीवनबाट समय निकालेर कथा सिर्जना गर्नु र पुस्तक प्रकाशन गर्नुजस्तो महत्वपूर्ण काम चानचुने होइन । त्यसै पनि आख्यानका क्षेत्रमा आशा गरेजत्तिको पुस्तक प्रकाशन नभएको अवस्थामा डायोस्पोरामा बसेर पाश्चात्य जीवन जगतका अर्गानिक कथा नेपाली साहित्यजगतलाई दिनु अत्यन्तै प्रशंसनीय कार्य हो । यो कार्यलाई यसरी नै निरन्तरता दिदैँ आगामी दिनमा अझ धेरै कृतिहरु प्रकाशन होऊन् भन्ने शुभेच्छासहित कथाकारलाई हार्दिक बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment