Comments Add Comment

खारेज भएका म्यानपावरलाई पासपोर्ट फिर्ता गर्न सरकारको निर्देशन

२९ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागले खारेज भएका म्यानपावर कम्पनीलाई कामदारको पासपोर्ट र रकम फिर्ता गर्न निर्देशन दिएको छ । हालै सरकारले बढाएको धरौटी रकम पूरा गर्न नसकेका ३०३ वटा म्यानपावर कम्पनी खारेज भएका छन् । ती म्यानपावर कम्पनीमा कामदारको सयौं पासपोर्ट रहेको हुन सक्ने विभागको अनुमान छ ।

म्यानपावर कम्पनीले विनाकारण पनि कामदारको पासपोर्ट ‘होल्ड’ गरेर राख्ने गर्छन् । यस्तै अग्रिम रुपमा नै कामदारसँग म्यानपावरले रकम लिने गरेका छन् । सरकारले खारेज भएका म्यानपावरबाट पासपोर्ट फिर्ता माग्न कामदारलाई पनि आग्रह गरेको छ । यस्तै विभागले कामदारसँग कुनै रकम कारोबार गरेको भए सो पनि फिर्ता गर्न खारेज भएका म्यानपावरलाई निर्देशन दिएको छ ।

‘अब खारेजमा गएका संस्था सञ्चालन गर्न पाइँदैन, तिनको सबै कारोबार हामीले बन्द गराएका छौं,’ विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने, ‘यी संस्थाले गर्ने काम सबै गैरकानूनी हुन्छन् । उनीहरुलाई वैदेशिक रोजगारीसम्बद्ध कुनै कार्य नगर्न निर्देशन जारी गरेका हौं ।’

सरकारले १ हजार ५ सय २७ वटा म्यानपावर दर्ता गरेको थियो । त्यसमध्ये २११ वटा यसअघि नै खारेज भइसकेका थिए । सरकारले धरौटीको रकम उच्च रुपमा बढाएर नसक्नेहरुका लागि मर्जरको विकल्प पनि दिएको थियो । तर, ३०३ वटा म्यानपावरहरु मात्रै मर्जरमा आए ।

अरु ३०३ वटाले धरौटी नबढाएकाले स्वतः खारेज भएका हुन् । अब बाँकी रहेका करिब ८५० म्यानपावरले मात्रै कारोबार गर्न पाउनेछन् । अब खारेज भइसकेका म्यानपावरले पनि विदेश पठाउने नाममा कारोबार गरे वा कामदारको पासपोर्ट होल्ड गरे कारवही गर्ने विभागको चेतावनी छ ।

विभागले त्यस्ता म्यानपावरहरुलाई आफ्नो नाम सहितको साइनबोर्ड हटाउन पनि निर्देशन दिएको छ । त्यसैगरी कर्मचाारीलाई दिएको परिचयपत्र रद्ध गर्न पनि निर्देशन दिएको छ ।

यसअघि विदेशबाट कुनै रोजगारदातामार्फत मागपत्र ल्याएको भए कामदार आपूर्ति गर्न नसकिने जानकारी गराउन पनि भनेको छ । यसैगरी खारेजीमा परेका संस्थाविरुद्ध कामदारले दिएका उजुरी पनि तत्काल फरफारक गर्न पनि विभागले निर्देशन दिएको छ ।

यस्तै विभागबाट लिइएको दर्ताको प्रमाणपत्र र हालसम्म संस्थामार्फत विदेश पठाइएका कामदारको विवरण विभागलाई दिएर फरफारक गर्न पनि निर्देशनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment