Comments Add Comment

नेपाली फिल्मीकर्मी: ‘कोही फिल्म नै नवुझ्ने, कोही धेरै वुझ्ने’

नेपाली चलचित्र क्षेत्रमा चलचित्र नबुझ्ने मेकरहरु धेरै आएको आरोप लगिरहेको छ । अरुको लहलहैैमा लागेर चलचित्रमा आउनेको संख्या धेरै छ । चलचित्र बुझेका चलचित्रकर्मीहरु निकै कम छन् । चलचित्रकर्मीहरु नै यो कुरा स्विकार गर्छन् । कतिपय चलचित्र बुझेका मेकरहरुले पनि चलचित्रलाई व्यवसायिक बनाउन सकेका छैनन् । चलचित्रको व्यापार र यसको सुन्दरता फरक छ । नेपालमा दर्शक र समिक्षक दुबैले मन पराएका चलचित्र थोरै छन् ।

निर्माता, लेखक तथा कलाकार दीपकराज गिरी भन्छन्–‘वर्गीकरण नै गर्ने हो भने त यहाँ धेरै तहहरु छन् । तर, विशेषतः ३ तहमा वर्गीकरण गर्न सकिन्छ ।’ दीपकराजले छुट्याएका तीन वर्ग ‘चलचित्र बुझेका’, ‘बुझेका तर हत्तारमा काम गर्ने’, ‘लहडमा आउने अर्थात् चलचित्र नबुझेका’हरु छन् ।

नेपाली चलचित्रमा भने अरुको लहलहैैमा आउने मेकरहरुको संख्या बढी भएको दीपकराजको बुझाई छ । उनी भन्छन्–‘यहाँ त दीपकराज गिरी र अनमोल केसीको चलचित्रले पैसा कमायो भनेर चलचित्र बनाउन आउनेहरु धेरै हुनुहुन्छ । जसले चलचित्र नै वुझेका छैनन् ।’ यो लहडमा आउनेको संख्या ६० प्रतिशतको हाराहारीमा भएको दीपक बताउँछन् ।

तर, पछिल्लो समय अरुको कुरा सुनेर आउनेहरु हराउँदै गएका छन् । यो बर्ष निर्माण भएका चलचित्रको संख्या हेर्ने हो भने पनि उक्त कुरा बुझ्न सकिन्छ । यो वर्ष गत वर्षको तुलनामा आधा भन्दा कम चलचित्र निर्माण भएका छन् ।

दीपकराज भन्छन्–‘अहिले कलाकारहरुले स्क्रिपट पढेर मात्र चलचित्रमा काम गर्न थाल्नुभएको छ । पुराना मेकरहरुको स्क्रिप्ट नहेरेपनि नयाँको भने कलाकारले स्क्रिप्ट हेरेका छन् । त्यसैले पनि उनीहरु निरुत्साहित भएका हुन् ।’

दीपकराजले दोस्रो दर्जा दिएका चलचित्र मेकरहरु हुन् ‘हत्तारमा काम गर्ने’ । दीपकको बुझाईमा यो दर्जामा २० प्रतिशत चलचित्र मेकरहरु पर्दछन् । दीपकले भने–‘उहाँहरुले चलचित्र बुझ्नुभएको हुन्छ । यसै क्षेत्रमा काम गर्ने सोच पनि उहाँहरुको हुन्छ । तर, उहाँहरुको समयलाई कुर्ने बानी नै छैन ।’ यो वर्गले निर्माण गरेको चलचित्र व्यापारिक नबन्ने पनि दीपक बताउँछन् । उनी भन्छन्–‘कोही कोहीले १५ दिनमा स्क्रिप्ट सकिन्छ भन्ने हल्ला फैलाउनु भएको छ । उहाँहरु त्यसैको पछि लाग्नुहुन्छ अनि कसरी चलचित्र राम्रो बन्छ त?’

दीपकराज सबैभन्दा बढि समय र खर्च गर्नुपर्ने कुरा नै स्क्रिप्ट भएको बताउँछन् । ‘राम्रो पैसा दिएर राम्रो लेखकलाई ६ महिना लेख्न लगाउनुहोस् न’, सुझावको भावमा दीपक भन्छन्, ‘अनि पो चलचित्र राम्रो बन्छ ।’ स्क्रिप्ट नै गतिलो नभएकाले यो वर्गका चलचित्र मेकरहरु चिप्लिरहेको दीपकको निष्कर्ष छ ।

बाँकी २० प्रतिशत चलचित्र मेकरहरु छन् जसले आफ्नो लक्षित दर्शकलाई चिनेर चलचित्र बनाइरहेका छन् । दीपक भन्छन्–‘चलचित्र बुझेको राम्रो मेकर त्यही हो, जसले दर्शकलाई खुसी बनाउन सक्ने चलचित्र निर्माण गरोस् । तर, यो संख्या धेरै कम छ ।’

दर्शकको माग र आफ्नो लक्षित दर्शक चिनेर मात्र चलचित्र निर्माण गर्न दीपक आग्रह गर्छन् । ‘जती लोभ गरेपनि एक चलचित्र तयार हुन डेढ करोड लाग्छ । त्यो रकम भनेको जोक हैन्’, दीपक भन्छन्, ‘त्यो पैसा फिर्ता पाउनु छ भने पहिला आफू बलियो बन्ने र आफ्नो लक्षित दर्शक चिनेर सोही अनुसारको चलचित्र बनाउनु पर्छ । नत्र डेढ करोडमा १ लाख पनि हात पर्दैन ।’

त्यस्तै, निर्देशक दिनेश राउतको बुझाईमा भने ‘चलचित्र बुझ्न खोज्ने’, ‘चलचित्र नुबुझ्ने तर आफूलाई भंयकर ठान्ने’ र ‘चलचित्र बुझ्दै नबुझ्ने’ वर्गहरु चलचित्र क्षेत्रमा छन् । चलचित्र बुझ्न कोशिस गर्नेहरु उनले पहिलो दर्जामा राखेका छन् । जसले दर्शकको मन बुझेर चलचित्र निर्माण गरिरहेका छन् । उनी भन्छन्, ‘तर, यो दर्जामा पर्ने चलचित्रकर्मीहरु निकै न्युन छन् ।’

चलचित्र नबुझी आफूलाई भंयकर ठान्ने वर्गको जमात पनि चलचित्र क्षेत्रमा राम्रै भएको उनी बताउँछन् । उनले थपे, ‘यहाँ कस्तो छ भने जसले चलचित्र बुझेको छैन, उसैले आफूलाई भयंकर ठानिरहेको हुन्छ । उसलाई पत्तो पनि छैन कि उ चलचित्रको ज्ञानमा शुन्य छ ।’

चलचित्र नबुझ्नेहरु भने रहर पूरा गर्नैको लागि आएको दिनेश बताउँछन् । उनी भन्छन्–‘आफ्नो रहर पूरा गर्न आएका र चर्चित हुन्छु भन्ने भ्रम पालेर आएकाहरुले भने चलचित्रलाई बुझेका हुँदैनन् । तर, उनीहरु दिगो रुपमा काम गर्नेमा पर्दैनन् । एक–दुई चलचित्रमा लगानी डुबाउँछन् र पाखा लाग्छन् ।’

आफूलाई भयंकर ठान्ने वर्ग र नबुझ्ने वर्गका कारण इमान्दार भएर काम गर्ने मेकरलाई गाह्रो भइरहेको उनको बुझाई छ । ‘उनीहरुले गर्दा राम्रो काम गर्नेहरु नै ओझेलमा छन्, उनले भने, ‘तर, उनीहरुको स्तर बुझेपछि दर्शकले नै उनीहरुलाई हटाएका छन् ।’

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भने अंक दिएरै चलचित्र मेकरको वर्गीकरण गर्न नमिल्ने बताउँछन् । उनी भन्छन्– ‘हामीले गर्ने भन्दा पनि त्यो काम दर्शकको हो । को कस्तो मेकर, कसको चलचित्र हेर्ने, कसको नहेर्ने त्यो सबै दर्शकले नै छुट्याउछन् ।’

चलचित्र क्षेत्रमा नबुझी आउनेहरुको संख्या प्रशस्तै भएको कुरालाई उनले पनि बुझेका छन् । अहिले चलचित्रमा विदेशमा बस्नेहरुको लगानी बढी भइरहेको आकाश बताउँछन् । उनी भन्छन्–‘विदेशमा बस्ने एनआरएनहरुले बढी लगानी गरेका छन् । जसलाई चलचित्रको विषयमा केही थाहा नै छैन । जसले गर्दा चलचित्रको स्तर पनि खस्किएको छ ।’

चलचित्र क्षेत्र भनेको वैद्धिक लगानी गर्ने क्षेत्र भएको आकाश बताउँछन् । आकाशले वुझेर मात्रै चलचित्रमा लगानी गर्न सुझाव दिएका छन् ।

नेपालमा चलचित्रको दर्शक निकै राम्रो भएको बताउँदै आकाश भन्छन्–‘अब हामीले चलचित्रको संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ । तब मात्र दर्शकले हामीलाई विश्वास गर्छन् ।’

यो वर्ष एकदमै कम चलचित्र निर्माण भएका छन् । एकपक्षिय रुपमा यो निकै राम्रो भएको आकाश बताउँछन् । नवुझी चलचित्र निर्माण गर्नेलाई दर्शकले आफै पाखा लगाएको भन्दै आकाशले अब राम्रो चलचित्र बन्ने आशा व्यक्त गरे ।

नेपाली चलचित्रमा लगानी अहिले बालुवामा पानी जस्तै भएको छ । धेरै चलचित्र बन्दा दर्शक भड्किएका छन् भने, लगानीकर्तालाई उम्कन नदिन राम्रा मेकरले पनि हतारमा चलचित्र बनाइरहेका छन् । जसलेगर्दा, उनीहरुले आफ्ना दर्शकलाई गुमाएका पनि छन् । यसैले चलचित्रमा नवुझी लगानी गर्नुभन्दा समय लगाएर वुझेर लगानी गर्दा उत्तम हुने कुरामा दुइमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment