Comments Add Comment

नेपालमा हिउँ चितुवाको संख्या कति ?

२९ भदौ, काठमाडौं । नेपाली प्राणीशास्त्री मधु क्षेत्री र उनका नर्वेली प्रोफेसर मोर्टेन ओड्डेन अन्नपूर्ण क्षेत्रमा भदौ २०७१ मा घुम्दै थिए । उकालोमा दुवैजना एकछिन सुस्ताए ।

‘के तपाईँलाई थकाई लागेको छ ?’ हिउँ चितुवामा विद्यावारिधि गर्दै गरेका क्षेत्रीले इनल्याण्ड नर्वे विश्वविध्यालयका प्राध्यापकसमेत रहेका ओड्डेनलाई सोधे ।

‘तिमीले किन यस्तो प्रश्न सोधेको ?’ अचम्मित ओडेनले भने । ‘ऊ त्यहाँ एउटा ढुङ्गो छ, त्यसको पछाडितिर हिउँ चितुवाको दिसा भेटिनेछ’, क्षेत्रीले भने ।

लजालु स्वाभावको हिउँ चितुवा (‘स्नो लियोपार्ड) नेपाल लगायत दक्षिण र मध्य एसियाका १२ देशहरूको उच्च भेगमा बस्ने गरेको मानिन्छ । हालसम्म पनि यो जनावर पाइने भनेर विश्वास गरिएको भूभागको करिब २ प्रतिशतमात्र सर्वेक्षण गरिएको छ ।

‘मैले हिउँ चितुवा आउने जाने क्षेत्रमा १० वर्षभन्दा बढी समय बिताएँ’, क्षेत्री भन्छन् । ‘तर मैले आफ्नै आँखाले हिउँ चितुवा देखेको भनेको ३ पटक मात्रै हो ।’

हिउँ चितुवा पाइने अन्नपूर्ण संरक्षण क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा काम गरेका क्षेत्री भन्छन्, ‘आफ्नो अनुभवको आधारमा भन्नु पर्दा, मलाई जहिले हिउँ चितुवाको मुख्य वासस्थान मानिने क्षेत्रमा गरिएका साना अध्ययनहरूका आधारमा नेपालभरकै संख्या आँकलन गरिएकाले संख्या अतिरञ्जित भएको जस्तो लाग्ने गर्थ्यो।’

अन्तराष्ट्रिय वैज्ञानिकहरूको आँकलन अनुसार संसारभर ४ हजार ६७८ देखि ८ हजार ७४५ हिउँ चितुवा जिवित रहेको मानिन्छ । उनीहरूले हिउँ चितुवालाई सुहाउँदो वातावरण भएको हरेको १०० वर्ग किमीमा ०.९ देखि १.८ हिउँ चितुवा हुनुपर्ने ठहर गरेका छन् ।

नेपालको सन्दर्भमा भने हिउँ चितुवाको घनत्व अन्तराष्ट्रिय औसत भन्दा बढी देखिएको छ । डोल्पाको लाङ्गु उपत्यकामा सन् १९८९ मा गरिएको एक अध्ययनमा घनत्व प्रति १०० वर्ग किमी मा ५-१० देखिएको थियो । त्यस्तै सन् १९९७ मा अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्ने मनाङमा उक्त संख्या ४.८ देखि ६.७ देखाइएको थियो । ‘यी अध्ययनहरूको समस्या के थियो भने सानो क्षेत्रमा सर्वेक्षण गरेर कयौँ गुणा ठूलो क्षेत्रफलको जनसंख्या आँकलन गरिएको थियो’, क्षेत्री बताउँछन् ।

यिनै अध्ययनहरूलाई आधार मानेर नेपाल सरकारले हिउँ चितुवा संरक्षण नीति पनि तयार पारेको थियो ।

क्षेत्री भने नेपालको हिउँ चितुवा चिचरण गर्ने ठूलो भूभागको अध्ययन गर्न चाहन्थे । त्यसै क्रममा सन् २०१३ मा इनल्याण्ड नर्वे युनिभर्सिटी अफ अपलाईड साइन्सेमा हिउँ चितुवामा विद्यावारिधि गर्ने अवसर पाए । उनको अध्ययनको लक्ष थियो – नेपालमा हिउँ चितुवा विचरण गर्ने ठूलो भूभागमा जनावरको दिसा संकलन गरेर त्यसको डीएनए अध्ययन गर्ने र जनसंङ्ख्याको घनत्व पुन: आँकलन गर्ने ।

समय र आर्थिक कारणले उनले नेपालमा हिउँ चितुवाको वासस्थान मानिने तीन ब्लक (पश्चिमी, मध्य र पूर्वी) मध्ये अन्नपूर्ण क्षेत्रमा पर्ने मध्य ब्लक (करिब ४ हजार ३९३ वर्ग किमी) छाने । कम्प्युटर मोडलकको सहायताले उनले कहाँ-कहाँ सर्वेक्षण गर्ने भनेर हिसाब गरे ।

हिउँ चितुवाको दिसा खोज्ने काम सहज थिएन । क्षेत्रीको टोलीले करिब ४९० किमी यात्रा गरेर ५७३ वटा नमूना सङ्कलन गरे । ‘मैले डीएनए प्रविधि किन अपनाएँ भने उच्च भूभागमा चितुवाको दिसा धेरै चाँडो गल्दैन, त्यसमा रहेको डीएनए पनि जस्ताको त्यस्तै हुन्छ’, ग्लोबल इकोलोजी एण्ड कन्सर्भेसन जर्नलमा हालै आफ्नो अध्ययनको नतिजा सार्वजनिक गरेका क्षेत्रीले बताए । ‘उच्च भूभागमा क्यामेरा ट्राप लगाउन गाह्रो हुन्छ र ब्याट्री पनि धेरै टिक्दैन । त्यसमाथि ठूलो क्षेत्रमा क्यामेरा ट्राप ग्रन पैसा पनि धेरै चाहिन्छ ।’

‘हामीले ५७३ नमूना सङ्कलन गर्यौँ, तर आर्थिक कारणले ३४७ नमूना मात्रै प्रयोगशालामा पठायौँ ,’ उनले भने । ‘चितुवाजस्ता बिग क्याटहरूले दिसाले आफ्नो क्षेत्र मार्क गर्ने भएकाले हामीले दिसाको नमूना लिएर बाँकी दिसा जहाँ थियो, त्यहीँ छाडिदियौँ ।’

यसैबीच भदौ २०७३ तिर अन्तराष्ट्रिय संरक्षण संघ (आइयूसीएन) ले हिउँ चितुवालाई ‘लोपोन्मुख’ क्याटेगोरीबाट हटाएर ‘जोखिमयुक्त’ क्याटगोरीमा ‘घटुवा’ गर्ने निर्णय गर्यो । चीनमा थप २,००० हिउँ चितुवा हुन सक्ने आँकलन सार्वजनिक भएपछि आइयूसीएनले यस्तो निर्णय लिएको थियो । हिउँ चितुवा अझै पनि जोखिममै रहेको र यसलाई संरक्षण गर्नुपर्ने कुरा भने आईयूसिएनले अझै पनि बताउँदै आएको छ ।

‘यो ‘घटुवा’बारे धेरै पहिलेदेखि नै बहस हुने गरेको थियो’, क्षेत्री बताउँछन् ।

आईयूसीएनको निर्णयले उनलाई आफ्नो अध्ययन टुङ्ग्याउन थप उर्जा मिल्यो । उनले प्रयोगशालामा बुझाएका नमूना मध्ये ३४७ हिउँ चितुवाकै रहेको पत्ता लाग्यो । त्यसमध्ये ८१ वटा नमूनाले उच्चस्तरको नतिजा दियो र ३४ त्यो नमूना ३४ हिउँ चितुवाको रहेको थाहा भयो ।

उनको अध्ययनबाट नेपालको मध्य ब्लकमा १०० वर्ग किमी औसतमा मा करिब ०.९५ चितुवा (न्यूनतम ०.१ देखि अधिकतममा १.९) मात्र रहेको देखियो । पहिले गरिएको अध्ययनले नेपालमा हिउँ चितुवा विचरण गर्ने क्षेत्रमा यसको घनत्व प्रति १०० किमी मा ५-१० जनावार भन्ने देखाएको थियो । ‘ यसरी पहिले निकालिएको घनत्वको आधारमा नै नेपालमा ३००-४०० हिउँ चितुवा रहेको अनुमान गरिएको थियो,’ क्षेत्री भन्छन् । ‘यस्तै गरी मेरो अनुसन्धानको डाटा प्रयोग गर्ने हो भने नेपालको सेन्ट्रल ब्लकमा ४८ र देशभरको जम्मा १४० हिउँ चितुवा छन् भन्नु पर्ने हुन्छ ।’

‘तर हामीले त्यसरी सामान्यीकरण गर्नुहुँदैन । सेन्ट्रल ब्लकभित्रै त घनत्व एउटै छैन । नेपालभर कसरी एउटै हुन सक्छ ? त्यसैले हिउँ चितुवाको वास्तविक अवस्था पत्ता लगाउन यस्तै खालको अध्ययन अन्य ब्लकमा मात्रै नभएर अरु ११ देशमा पनि गर्नु जरूरी छ,’ क्षेत्रीले भने ।

हिउँ चितुवा पाइने १२ देशका सरकारहरू अहिले संयुक्त गणना गर्ने तरखरमा छन् । चार वर्षमा गणनाको नतिजा सार्वजनिक हुने भनिएको छ । ‘हाम्रो अध्ययनले यो गणनालाई मद्दत गर्ने अपेक्षा गरेका छौँ ‘, उनले भने ।

हिउँ चितुवा संरक्षण कार्ययोजना (२०१७-२०२१) तर्जुमा समितिका सदस्य प्राणिशास्त्री हेमसागर बरालले क्षेत्रीको अध्ययनले पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण रेको हिउँ चितुवाको स्थितिमाथि नयाँ प्रकाश पारेको बताउँछन् । ‘हामीले कार्ययोजनको मध्यावधिक समीक्षा गर्दा यो अध्ययनको निश्कर्षलाई पनि ध्यान दिनेछौँ ।’ उनले भने ।

क्षेत्रीले आफ्नो विद्यावारिधिको डिफेन्स सकेपछि प्रोफेसर ओड्डनले उनलाई सोधे, ‘तिमीलाई त्यो दिन त्यो ढुङ्गामुनि चितुवाको दिसा छ भनेर कसरी थाहा भयो ?’

‘मैले उनलाई भने, यो अध्ययन हेर्दा मात्र १ वर्षे अवधिको मात्रै थियो । खासमा यो मेरो एक दशकसम्म हिउँ चितुवालाई पछ्याएको अनुभवको सङ्गालो थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment