३० भदौ, चितवन । चितवन तर्फको देवघाट क्षेत्रमा बन्न लागेको विद्युतीय शवदाह गृह नजिकको फाउण्डेशन भत्किने खतरा बढेको छ । बर्षाको समयमा नारायणी नदी अत्याधिक बढ्दा शवदाह गृह बन्ने ठाउँमा बनाइएको सेरवाल जुनसुकै बेला पनि भत्किने अवस्थामा पुगेको छ ।
केही भाग चर्किएर नदी तर्फ कोल्टिएको छ भने केही भाग दबेको छ । वर्षाको समयमा शवलाई जलाउन कठिन भएपछि यसअघि सेरवाल उठाएर शव जलाउने ठाँउ तयार गरिएको थियो । करिब १ करोड रुपैयाँको लागतमा बनाइएको सेरवाल र शव जलाउन ठाँउ प्रयोगमा नै नआइ भत्किने अवस्थामा पुगेको हो । केही भाग यसअघि नै भत्किसकेको छ । सेरवाल नै चर्किएर बग्ने खतरा पैदा भएपछि ठेकेदारले काम रोकेको छ । ठेकेदारले गृह बन्ने स्थानको फिल्ड सम्याउने, अनावश्यक ग्राभेल निकाल्ने र खाल्डो परेको ठाँउमा पुर्ने लगायतका काम मात्रै गरेको छ । गृह निर्माणको लागि रडजाली बुन्ने काम अलपत्र छ ।
फाउण्डेशन चर्किन थालेपछि काम रोकिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । ‘फाउण्डेशन नै भत्किने अवस्था आएपछि काम रोक्यौं, शहरी विकास कार्यालय र विभागबाट इन्जिनियरहरु आएर हेर्नुभयो’ अध्यक्ष पौडेलले भने, ‘हिउँद लागेपछि सेरवाललाई थप बलियो बनाएर काम थाल्ने तयारी छ ।’ गत भदौ १८ गते पर्यटनमन्त्री योगेश भट्टराईले गृह निर्माणस्थलको अवलोकन गरी काम छिटो अघि बढाउने निर्देशन दिएका थिए । इन्जिनियरहरुले अहिले भैरहेको
फाउण्डेशनलाई थप सर्पोट हुने गरी समानान्तर अर्को फाउण्डेशन बनाउने गरी डिजाइनको काम गरिरहेको शहरी विकास तथा भवन निर्माण कार्यालय चितवनकी इन्जिनियर सृष्टि भुषालले जानकारी दिइन् । उनका अनुसार पाइल फाउण्डेशन पनि शवदाह गृह बनाउने ठेक्का लिएको कम्पनीलाई नै दिने तयारी छ ।
शवदाह गृह निर्माण गर्ने जिम्मा मिलिनियम सिद्धगढी जेभी काठमाडौंले भ्याटसहित ११ करोड २१ लाख रुपैयाँमा लिएको छ । शहरी विकास मन्त्रालयको बजेटबाट गृह निर्माण गर्न लागिएको हो । करीव ६ सय बर्गमिटरमा बन्ने शवदाह गृहको कार्य सम्पन्न गर्नुपर्ने मिति २०७७ माघ २ गतेसम्म छ । ठेक्का लिने कम्पनीका सञ्चालक शिव ढकालले कहाँ कस्तो डिजाइनमा काम गर्ने हो तत्काल वर्क अर्डर दिन माग गरे । अनलाइनखबरसँग कुरा गर्दै सञ्चालक ढकालले काम सुरु गर्न नसक्दा आफूहरुको दैनिक कामदारको ज्याला, भाडा र निर्माण सामाग्रीहरुमा क्षति भएको गुनासो छ । ‘दशैंसम्म वर्क अर्डरका लागि कुर्छौ, त्यसपछि क्षतिपूर्तीका लागि निवेदन हाल्छौं,’ सञ्चालक ढकालले भने, ‘डिजाइन परिवर्तन गर्ने भन्ने सुनेको छु, ठाँउ सार्ने भन्ने चर्चा पनि छ, विभागमै अलमल छ, छिटो डिजाइन दिनुस्, छिटो काम थाल्छौं ।’
काठमाण्डौंको पशुपतिनाथपछि देशकै दोस्रो विद्युतिय शवदाह गृह देवघाटमा बनाउन खोजिएको हो । शवदाह गृह निर्माणका लागि माघ ३ गते नै निर्माण कम्पनीसँग सम्झौता गएिको थियो । गत माघ १७ गते पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसको शिलान्यास गरेका थिए ।
दुई तले शवगृह तथा मलामी प्रतिक्षालय भवनमा दुई वटा शवलाई एकैपटक जलाउन मिल्ने गरी दुई वटा मेसिन जडान गर्ने योजना छ ।
देवघाटमा चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २२ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याउने गरिन्छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4